‘कृषि र पर्यटन प्रवद्धनलाई प्रथामिकता दिएका छौं’

अनन्तराज न्यौपाने,
प्रमुख प्रशासकीय अधिकृत,
बिरुवा गाउंपालिका, स्याङ्जा ।

स्थानीय तहको सरकार जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सरकार हो। पालिकामा उपलब्ध सिमित स्थानीय स्रोत साधन प्रयोग गरी गाउँ टोलको असीमित आवश्यकता पूरा गर्न साँच्चिकै गाह्रो छ। स्याङ्जाका ११ वटा पालिकामध्ये बिरुवा गाउंपालिका पनि एक हो । कूल ८ वटा वडा रहेको बिरुवा गाउंपालिकाको जनसंख्या राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार १३ हजार ९ सय रहेको छ ।स्थानीय तहका आवश्यकता, सम्भावना, चुनौती र उपलब्धिहरुको सेरोफेरोमा रहेर हामीले स्याङ्जाको बिरुवा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेसँग कुराकानी गरेका छौं । प्रस्तुत छ पब्लिक आवाज पत्रिकाका र अनलाईनका सम्पादक अमृत अर्यालले प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेसँग गरेको कुराकानीको सम्पादित अंश…………….

१) हाकिम साव आराम हुनुहुन्छ ?बिरुवा गाउँपालिकामा भएका सम्भावना र अवसरहरु के के छन् ?

धन्यवाद । नमस्कार, आरामै छु । बिरुवा गाउँपालिका स्याङ्जा जिल्लाको सदरमुकामबाट नजिकै रहेको स्थानीय तह हो । पहाडी भुभाग भएकाले यो क्षेत्रमा सुन्तला, फलफूल, पशुपालन र कृषिको प्रशस्त सम्भावना छ । दुलेगौंडा, वालिङ जस्ता ठूला बजारहरु र प्रदेश राजधानी पोखराबाट पनि नजिकको दुरीमा भएकाले यहाँको उत्पादनलाई बजारीकरण गर्न कुनै समस्या छैन् । प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै विकासका गतिविधिहरुलाई शसक्त तरिकाले संचालन गर्न र “समृद्ध विरुवा र सुखी विरुवाबासी” को लक्ष्यलाई प्राप्त गर्न हामी लागिपरेका छौं । हामीले बिरुवामा विकास र संमृद्धिको आधार तयार गरेका छौं ।

२) हजुरले बिरुवा गाउँपालिकाको प्रशासकीय प्रमुखको जिम्मेवारी समालेको पनि करिब एक वर्ष भैसकेको छ । यो एक वर्षको कार्यकालमा विरुवाको संमृद्धिका लागि के कस्ता कार्यहरु गर्नुभयो ?

साँच्चिकै भन्दा एक वर्षको अवधी एकदमै छोटो भएको महसुस भएको छ । यही समयमा स्थानीय, प्रदेश र संघको निर्वाचन भयो । जसको कारणले पनि सोचेजस्तो काम गर्न सकिएन । तर पनि यो अवधिमा सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम ग¥यौं । नागरिकलाई सहज सेवा प्रवाह गर्न र उहाँहरुको आवश्यकतालाई सम्बोधन हुने किसिमले नीति तथा कार्यक्रम र बजेट तर्जुमा ग¥यौं । सेवा प्रवाहलाई सहज बनाउन वडा तहमै योजना संकलन र सम्झौता गर्ने, वडा स्तरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, पालिकाको रणनीतिक महत्वका सडकहरुको वर्गीकरण गरी सोही अनुसार बजेट विनियोजन गर्ने, कृषि क्षेत्रको विविधिकरण गर्ने जस्ता महत्वपूर्ण कार्यक्रमहरु कार्यान्वयन गरीरहेका छौं । दिगो विकासका लागि विकासमा अधिकतम जनसहभागिता जुटाउन गाउँपालिका साझेदारी नीति अन्तर्गत अधिकतम जनसहभागिता जुट्ने कार्यक्रम तथा योजना कार्यान्वयनका लागि सहज तरिकाले बजेट विनियोजन तथा निकासा हुने व्यवस्था मिलाएका छौं । बिरुवा गाउंपालिकाको हकमा मुख्य योजनाभन्दा पनि यहाँ सबैखाले योजना बनाएर सुरुआती चरणबाटै काम गर्नुपर्ने भएको छ ।

३) सडकलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । तर पालिका प्रवेश गर्ने मुख्य सडकको अवस्था त हरिबिजोग नै छ नी किन ?

यो बारम्बार उठिरहेको प्रश्न हो । हामीले संमृद्ध र सुखी विरुवाबासीको सपना देखाइरहँदा विगतमा के भयो भन्दा पनि अब हामीले के गर्दैछौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । पालिकालाई राष्ट्रिय राजमार्गसँग सहज तरीकाले जोड्न अत्यावश्यक भएकाले हामी सोही अनुसार लागि परेका छौं । राङखोला विरुवा सडकको स्तरोन्नति गर्दै सहज आवागमन सुनिश्चित गर्न पालिकाबाट ५० लाख बजेट विनियोजन गरेका छौं । सडकका लागि संघीय सरकारबाट २ करोड बजेट प्राप्त भएको छ । सडकको दिगो र व्यवस्थित विकासको लागि यो बजेट अझै अपुग हुने भएकाले प्रदेश सरकारसँग थप बजेट माग गर्न समन्वय गरिरहेका छौं । सकेसम्म यो महिना भित्र बहुवर्षीय रणनीतिक सडकको रुपमा यो सडक ठेक्का प्रक्रियामा जाँदैछ । अर्को वर्ष पालिका राष्ट्रिय राजमार्गसँग सहज रुपमा जोडिने विश्वास लिएका छौं । हामीले सडकमा गर्नुपर्ने केही विशेष कामहरुको सूची पनि बनाएका छौँ ।

४) ऐन र नीति नियम तर्जुमालाई पनि प्राथमिकतामा राखेको बताउनुभयो । अहिलेसम्म पालिकामा के कति ऐन नियम निर्माण भएका छन् ?

संविधान र संघीय कानुनले स्थानीय तहलाई प्रदान गरेका अधिकार प्रयोग गरी पालिकाका क्रियाकलापलाई सहज रुपमा संचालन गर्न र विधिको शासन कायम गर्न हामीले यो आर्थिक वर्षलाई कानुन निर्माणको आधार वर्षको रुपमा लिएर काम गरिरहेका छौं । अघिल्लो स्थानीय सरकारको कार्यकालमा केही सिमित कानुनहरुबनेका छन् । नियमित सेवा प्रवाहलाई सहज बनाउन र विकास योजनालाई दीगो र व्यवस्थित बनाउन हामीले हालै सम्पन्न १२ औं गाउँसभाबाट कर्मचारी आचारसंहिता ऐन, बालबालिका सम्बन्धी ऐन, प्रज्ञा प्रतिष्ठान ऐन लागायतका एक दर्जन भन्दा बढी ऐनहरुनिर्माण गरेका छौं । जुन हाम्रो वेभसाइडमा पनि देख्न सकिन्छ ।

५) पालिकाका मुख्य प्राथमिकताहरु के–के हुन् ?

पहाडी भूभाग भएकाले भौगोलिक बनावट अनुसारको विकास रणनीति लागू गरेका छौं । वडा नं ७ र ८ राम्रो सुन्तला उत्पादन हुने भएकाले फलफुल उत्पादनलाई प्राथमिकतामा राखेका छौं । यो वर्ष पालिका भित्र करिब ४ करोडको सुन्तला उत्पादन भएको छ । पशुपालन अन्तर्गत बाख्रापालन र बंगुरपालनको प्रचुर सम्भावना भएकाले यसलाई पनि प्राथमिकतामा राखेका छौं । जनजातिको बाहुल्य क्षेत्रमा होमस्टे र मनकामना आसपासका क्षेत्रमा पर्यटन प्रवर्धनलाई पनि प्राथमिकतामा राखेका छौं । कृषिलाई प्राथमिकतामा राखेर सशर्त अनुदानको कार्यक्रम गर्न गैरहेका छौं । जस अन्तर्गत पालिकालाई दूध, तरकारी, माछापालन, पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौं । हामी बोलेर भन्दा पनि काम गरेर देखाउनेमा विश्वास राख्छौं ।

६) अहिले प्रायजसो स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिच द्वन्द्व भएको पाइन्छ। बिरुवा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध कस्तो छ ?

बिरुवा गाउँपालिकामा अहिलेसम्म त्यस्तो द्वन्द्वको अवस्था अनुभव गरेका छैनौं । विकास र संमृद्धिका सपना पूरा गर्न पनि यस्ता द्वन्द्वहरु बाधक हुने भएकाले कर्मचारी र जनप्रतिनिधिबिच सौहार्दपूर्ण वातावरण छ । हरेक योजना, नितिनिर्माण गर्दा हामीले समन्वयात्मक तरिकाले काम गरिरहेका छौँ । यति राम्रो मित्रता र सम्बन्ध सायद अरुपालिकामा पाउनु हुन्न। हाम्रोमा जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई घनिष्ठ बनाएका छौं ।

७) जनशक्ति विकासको प्रमुख आधार मानिएको शैक्षिक क्षेत्रको विकासको लागि पालिकाको योजनाहरु के छन् ?

विशेषगरी गुणस्तरीय शिक्षा पालिकाको पहिलो प्राथमिकता हो । शिक्षामा खेलवाड गर्न पाइँदैन, सामुदायिक विद्यालयमा पनि निजी विद्यालय सरह शैक्षिक गुणस्तर सुधार गर्ने हाम्रो योजना छ । शिक्षा क्षेत्रमा मूलरुपमा दरबन्दीको पनि समस्या देखिएको छ । त्यसलाई हल गर्नका लागि हामी सबै विद्यालय र शिक्षकको विवरण संकलन गर्दैर्छौँ । आवश्यकताको आधारमा बढी भएको स्थानबाट दरबन्दी कटौती तथा कम भएको स्थानमा थप गर्ने, यसका साथै शिक्षकहरुलाई तालिम तथा विद्यार्थीलाई नैतिक शिक्षा दिएर विद्यालयमैत्री वातावरणको सिर्जना गर्ने हाम्रो योजना रहेको छ । वातावरण बनाइसकेपछि हामीले बिरुवाको शिक्षालाई प्राविधिक शिक्षातर्फ अगाडि बढाउने छौँ । अहिले पालिकाको २ वटा विद्यालयमा प्राविधिक शिक्षाको कार्यक्रम संचालनमा रहेको अवगत गराउन चाहन्छु ।

८) स्वास्थ्य क्षेत्रको सुधारका लागि पालिकाको योजना के छ ?

समग्ररुपमा गाउंपालिकाभित्र स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई विज्ञहरुको छलफल र परामर्श गरी स्वास्थ्य क्षेत्रको थप सुधार गर्न योजना छ । गाउंपालिका क्षेत्रभित्र रहेको सरकारी वा निजी स्वास्थ्य संस्थालाई पनि आवश्यकताअनुसार नियमन गरिनेछ । प्रत्येक स्वास्थ्यचौकीहरुमा ल्याबको व्यवस्था गरिदैंछ । पालिकाको चिन्नेवासमा १० शैयाको अस्पताल निर्माण हुदैंछ ।

९) गाउंपालिकामा फोहरमैला व्यवस्थापनलाई कसरी समाधान गर्ने योजना छ ?

यस पालिकामा फोहरमैला त्यती धेरै समस्याको रुपमा त आएको छैन् । तथापि बजार क्षेत्रको हकमा फोहरमैला संकलन गरि व्यवस्थापन गर्ने योजना अनुशार काम भैरहेको छ । महत्वपूर्ण कुरा फोहर व्यवस्थापनको लागि यहाँका नागरिकले पनि उत्तिकै साथ दिन जरुरी छ । यसको पूर्वाधार विकासका लागि गाउंपालिकाले सहयोग गर्न तयार छ । अब फोहर व्यवस्थापन गर्न नजानेका अथवा अज्ञानता भएका नागरिकको दिमाग बढार्न जरुरी छ । सोचाइबाट फोहर बढार्न सकिएको खण्डमा धेरै हदसम्म फोहर आफैँ व्यवस्थापन हुने कुरा हो । विदेशी मुलुकहरुमा हेर्ने हो भने फोहर व्यवस्थापनमा राज्यले धेरै लगानी गरेको पाइँदैन । व्यवस्थापनमा बढी जोड दिएको पाइन्छ ।

१०) अन्त्यमा, हाम्रो मिडिया मार्फत पालिकाबासीलाई के भन्न चाहनुहुन्छ ?

बिरुवा बनाउने जिम्मा कर्मचारी,जनप्रतिनिधि, नागरिक सबैको हो । पालिकाभित्र संमृद्धिका आधारहरुर सम्भावना प्रशस्त छन्।कृषी, पशुपालन, सुन्तला, तरकारी उत्पादन लगायतका व्यवसायिक सम्भावना भएका क्षेत्रमा लगानी गर्न र नागरिकका दुःख पिरमर्कालाई सम्बोधन गर्न पालिका सदैव तयार छ । व्यवसायिक र आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने अभियानमा सहयोग गर्न सम्पूर्ण पालिकाबासीलाई अपिल गर्न चाहन्छु । साथै यो अवसरको लागि जिल्लाको लोकप्रिय मिडिया पब्लिक आवाजलाई धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया