निशुल्क आँखा शिविरबाट चार हजार लाभान्वित

स्याङ्जा ।
पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा गरिएको निशुल्क आँखा शिविरमा झण्डै ४ हजारले आँखा परिक्षण गरेका छन् । माघ १५ गतेदेखि सुरु भएको शिविर २ सातासम्म संचालन गरिएको थियो । प्रत्येक दिन एउटा वडामा गरिएको आँखा शिविरबाट अधिकांश जेष्ठ नागरिक तथा महिलाहरुले लाभ लिएका थिए ।
चौध वटै वडामा पुगेको आँखाका प्राविधिकसहितको टोलीले नगरका ३ हजार ९ सय २८ जनाले आँखा परिक्षण गरेको जनाए । ती मध्ये १ सय ५३ जनामा मोतियाविन्दु देखिएको छ । मोतियाबिन्दु देखिएका सबैजनाको पुतलीबजार नगरपालिकामै निशुल्क शल्यक्रिया गर्ने ब्यवस्था मिलाइएकोे नगरप्रमुख तुलसीराम रेग्मीले बताए । नगरबासीलाई जिल्ला बाहिर गएर शल्यक्रिया गराउँदा धेरै किसिमका समस्या, दुख र खर्च हुने हुदा नगरभित्र शल्यक्रियाको सुबिधा उपलब्ध गराउन लागेको उनको भनाई छ । यही फागुन ५ र ६ गतेका दिन शल्यक्रियाका निम्ति उहाँहरुलाई बोलाएको नगर प्रमुख रेग्मीले जानकारी दिए ।
ती मध्ये ९ सय २ जनालाई निशुल्क चश्मा उपलब्ध गराइएको छ । आँखा परिक्षणका क्रममा करिब १ प्रतिशतमा जलबिन्दु देखिएको प्राबिधिक तेज गुरुङ् र अस्मिता लामिछानेले जानाकारी दिए । आफ्नै वडामा आँखाको उपचारसहित निशुल्क चश्मा र मोतियाबिन्दुको शल्यक्रिया गर्न पाउने भएपछि स्थानीयबासी खुशी भएका छन् । उपचारका लागि अधिकांश जेष्ठ नागरिक आएको नगर स्वास्थ्य अधिकृत इश्वर थापाले बताए ।
यसैगरी जिल्लाको भीरकोट नगरपालिकामा पनि १ दिने स्वास्थ्य शिविर संचालन भएको छ । संन्त निरकारी मण्डल शाखा कार्यालय भीरकोटको आयोजना र मणिपाल शिक्षण अस्पताल, पोखराको प्राविधिक सहयोगमा भीरकोट नगरपालिकामा एक दिने स्वास्थ्य शिविर संचालन भएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका अनुभवी विशेषज्ञ डाक्टरको टोलीद्वारा निरंकारी मण्डलको कार्यालय बयरघारीमा आँखा तथा प्रसुती रोग सम्बन्धी १ दिने शिविर सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष याम बहादुर खत्रीले जानकारी दिए ।
भीरकोटमै फागुन ५ गते शुक्रबार अर्काे १ दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ । भीरकोट पोखरा सामीप्य सदन, भीरकोट पोखरा बहुउद्देश्यीय सहकारी संस्था लि, पोखरा र रोटेरी क्लब अफ नक्साल शक्तिको संयुक्त आयोजनामा शिविर संचालन हुने भएको हो । गण्डकी मेडीकल कलेज पोखरा तथा भीरकोट नगर अस्पतालका अनुभवी विशेषज्ञ डाक्टरको टोलीद्वारा आँधिखोला सिटिहलमा आँखा तथा दाँत रोग सम्बन्धी १ दिने शिविर सञ्चालन हुने शिविर संचालन समितिका संयोजक श्याम प्रसाद रेग्मीले जानकारी दिए । शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म शिविर संचालन हुने बताइएको छ । शिविर संचालन समितिका संयोजक रेग्मीले भीरकोटबासी जनसमुदायलाई स्वास्थ्य शिविरमा उपस्थित भै स्वास्थ्य उपचार सेवा लिन आग्रह गरेका छन् । थप उपचार आवश्यक पर्ने विरामीहरुलाई गण्डकी मेडिकल कलेज पोखराले सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्ने संयोजक रेग्मीले बताए ।

प्रतिक्रिया