होमस्टेलाई आर्थिक उपार्जनमा जोड्नुपर्छ — मन्त्री किराँती

स्याङ्जा ।
नेपालमा होमस्टे संचालनमा आएको २५ बर्ष पुरा भएको छ । पहिलो पटक स्याङ्जाको सिरुवारी गाउँमा सामुदायीक रुपमा पाहुनालाई राखेर पर्यटन प्रवद्र्धनमा प्रगति हुन थालेको २५ बर्ष पुरा भएको हो । २५ बर्ष पुरा गरेको अवसरमा सिरुवारी होमस्टे गाउँले रजतजयन्ती महोत्सव मनाएको छ । रजत जयन्ती महोत्सवको उद्घाटन नेपाल सरकारका पर्यटन एंव नागरीक उड्ययन मन्त्री सुदन किराँतीले गरेका छन् । दुईदिन सम्म चल्ने रजतमहोत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार सहित इन्द्रेणी समुहले आफ्नो प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।

होमस्टेको रजत जयन्ती महोत्सवको उद्घाटन गर्दै नेपाल सरकारका पर्यटन मन्त्री किराँतीले सामुदायीक होमस्टेलाई आर्थिक उपार्जनको माध्यम बनाउनुपर्नेमा जोड दिए । एशियामै शुरुवात नभएको बेला नेपालमा आजभन्दा २५ बर्ष अगाडी देखी होमस्टेको अवधारणा आइसकेको स्मरण गर्दै मन्त्री किराँतीले यस्ता योजनाहरु नेपालका सबै भुभागमा पु¥याउन सके आर्थिक उपार्जनको माध्यम बलियो हुने बताए । अहिले गाउँ छाडेर शहरतिर बसाई सराई गर्नेको संख्या बढिरहेको छ उनले भने,‘यसलाई रोक्न होमस्टे अवधारणा अगाडी सार्नुपर्छ ।’ अब गाउँ फर्काउने अभियान चलाउन आवश्यक छ उनले भने । स्थानीय उत्पादनलाई बढवा दिदै त्यस्ता उत्पादनलाई होमस्टे मार्फत बजारीकरण हुन सकेमात्रै आर्थिक समृद्धि हुने उनले बताए । देशको विकास भयो भने होमस्टे संचालनबाटै हुने मन्त्री किराँतीको घारणा छ ।

उदघाटन कार्यक्रममा स्याङ्जा क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य राजु थापाले सिरुवारी गाउँले स्याङ्जा मात्रै नभएर अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको धारणा व्यक्त गरे । सरकारले होमस्टे संचालनलाई बिशेष योजना बनाएर अगाडी बढाउनुपर्ने धारणा सांसद थापाले व्यक्त गरे । गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ्ले गण्डकी प्रदेशलाई होमस्टेको हब बनाउने गरी अगाडी बढेको बताइन् । सिरुवारीलाई तिनैतहका सरकार मिलेर पाठशालाको रुपमा विकास गर्नुपर्ने धारणा राखिन् । दुईदिन संचालन हुने रजतजयन्ती महोत्सव फागुन ६ गते सकिने महोत्सव संयोजक उर्मिला गुरुङ्ले बताइन् ।

प्रतिक्रिया