शिवरात्रीको तयारीमा छायाँक्षेत्र मन्दिर

वालिङ ।
स्याङ्जाको भीरकोट नगरपालिका स्थित् छाङ्छाङ्दीमा रहेको छायाँक्षेत्र मन्दिर सरसफाईदेखी रङ्गाएर चिटिक्क पारिएको छ । महाशिवरात्रीमा दर्शन गर्न आउने दर्शनार्थीहरुका लागि सहज बातावरण मिलाउन छाँयाक्षेत्र शिव मन्दिर व्यवस्थापन समितिले तयारी पुरा हुनलागेको जनाएका छन् । गण्डकी प्रदेशमै पशुपति मन्दिर झै मानिदै आएको छाँयाक्षेत्र मन्दिरमा दर्शनार्थीहरुका लागि सहजता प्रदान गर्न समितिले तयारी थालेको हो । महाशिवरात्रीमा यो मन्दिर दर्शन गर्ने साथै पुजाआजा गर्न धेरै जिल्लाबाट तिर्थालु भक्तजनहरु आउने गर्दछन् ।

स्याङ्जाको मध्यभागमा अवस्थित एतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको छाङ्छाङ्दी (छाँयाक्षेत्र) मन्दिरको रुपमा परिचित छ । भगवान शिवसंग प्रत्यक्ष जोडिएको छाङछाङदी स्थित छायाँक्षेत्र मन्दिरको आफैमा ऐतिहासिक महत्व बोकेका कारणले पनि महाशिवरात्रीमा विशेष भक्तजनहरुको भिड लाग्ने गर्दछ । ध्वजापतका, राङ्रोगन लगायत सबै सकिएको र भक्तजनहरुलाई आउनेजाने बाटो तयारी अवस्थामा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले बताए ।

धार्मिक शास्त्रमा म भन्ने शव्द नै ठुलो मान्ने चलन भएकाले भगवान शिवलाई देवताका पनि देवता मानिने गर्दछ । सिद्धार्थ राजमार्गबाट ३ सय मिटर हिडेर दर्शन गर्न पुगिने यो मन्दिर श्रीस्वस्थानीमा भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको उल्लेख छ । त्यसैले पनि यो मन्दिरलाई भक्तजनहरुले बिशेषरुपले हेर्ने गर्दछन् ।

महादेवले त्रिसूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ति छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, श्रावण संक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसंक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ । सिद्धार्थ राजमार्गसंग जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागी स्याङ्जा, पर्वत, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, बाग्लुङलगायत विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

 

प्रतिक्रिया