प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता
वालिङ ।
वि.सं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने गरिएको छ । सात सालको जनक्रान्तिले नेपालको शासन व्यवस्थामा जनताको प्रत्यक्ष सहभागिता हुनेगरी शासन व्यवस्था परिवर्तन गरेको थियो । प्रजातन्त्र स्थापनाका लागि नेपाल आमाका महान सपूतहरुले जहानियाँ राणा शासनको अन्त्यका लागि विना प्रतिरोध आफ्नो बलिदानी स्विकार गरेका थिए । जसका कारण राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको थियो ।
प्रजातन्त्र दिवसको अवसरमा वालिङ बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बिद्यार्थी संघ वालिङ बह्मुखी क्याम्पस इकाइको आयोजनामा आईतवार क्याम्पसको सभाहलमा जिल्लका कक्षा ८ देखि १२ सम्मको माध्यमिक विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । ‘नेपालको प्रजातान्त्रिक शासन व्यवस्थामा नागरिकको भूमिका’ विषयक वक्तृत्वकलामा बालोदय माध्यमिक विद्यालय भीरकोटकी बिनिशा खनाल प्रथम भएकी छन् भने भूम्रे मावि वालिङका पोषकान्त लुईटेल द्धितिय र सोही विद्यालयकी सन्ध्या गहतराज तृतिय भएका छन् । प्रतियोगितामा विजयी प्रतियोगिहरुलाई पुरस्कार स्वरुप नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
नेविसंघ वालिङ क्याम्पस इकाई सभापति दिलिप श्रेष्ठको अध्यक्षता एवं नेपाली काँग्रेसका प्रदेश सचिव अमृत अर्यालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता सञ्चालन नेविसंघका इकाई सचिव युवराज तिवारीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि काँग्रेसका प्रदेश सचिव अमृत अर्यालले आधुनिक नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताए । अर्यालले २००७ सालको संघर्र्षबाट नै मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानिया राणा शासन अन्त भई प्रजातान्त्रिक राजनीतिक र संवैधानिक व्यवस्थाको प्रारम्भ भएको कुरामा जोड दिए । काँग्रेसका प्रदेश प्रतिनिधि ध्रुव पंगेनीले यही संघर्षबाट नै नेपाली जनता रैतीबाट सार्वभौम नागरिक बन्ने बाटो प्रशस्त भएको बताए । अनेरास्ववियूका सुसान्त श्रेष्ठले नेपालको आधुनिकतातर्फको ढोका पनि यही परिवर्तनबाट खुलेको जिकिर गरे । कार्यक्रममा नेविसंघका विपिन कुँवरले स्वागत मन्तव्य राखेका थिए ।
प्रतियोगिताको निर्णायकमा वालिङ बहुमुखी क्याम्पसका प्रध्यापक इन्दु श्रेष्ठ तथा विश्व हिन्दु युवा संघ स्याङजाका अध्यक्ष नवराज पौडेल रहेका थिए । प्रतियोगिहरुले आफ्नो प्रस्तुती मार्फत एकसय चार वर्षे जहाँनिया राणा शासनको अन्त्य भई प्रजातन्त्र प्राप्त भएको भन्दै जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने धारणा राखेका थिए ।
नेपाल बिद्यार्थी संघ वालिङ बह्मुखी क्याम्पस इकाइको संयोजनमा प्रजातन्त्र दिवस (७ फागुन)का अवसरमा वृक्षारोपण, वक्तृत्वकला, सरसफाई, अन्तरक्रिया तथा विचार गोष्ठी कार्यक्रम समेत सम्पन्न भएको छ । नेविसंघ क्याम्पस इकाइ समितिले ७३ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा क्याम्पस परिसरमा वृक्षरोपण तथा सरसफाई गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा नेविसंघ क्याम्पस इकाइ अध्यक्ष दिलिप श्रेष्ठको संयोजकत्वमा विविध कार्यक्रम सम्पन्न गरिएको गरिएको नेविसंघले जनाएको छ ।
प्रतिक्रिया