जिल्ला उद्योग वाणिज्य संघ सबै व्यावसायीको साझा थलो हो

रविन्द्रमान श्रेष्ठ,
अध्यक्ष,
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ,
स्याङ्जा ।
उद्योग वाणिज्य संघमा रहेर सरकारसँग स्पष्ट रुपमा व्यवसायीक मुद्दा उठाउने व्यक्ति हुन स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ । निर्भिक, निडर र सरकारसँग स्पष्ट रुपमा व्यवसायीक आवाज उठाउने शैलीकै कारण व्यावसायीहरुले उनलाई रुचाउने गरेका छन् । लामो समयदेखि व्यवसायमा संलग्न रहँदै साना देखि ठूलो व्यवसायसम्म सफलता पूर्वक संचालन गरेका कारण पनि उनले संघको नेतृत्व गर्ने अवसर पाएका हुन् । श्रेष्ठ व्यवसायीहरुका नेता मात्र नभएर जिल्लाकै एक प्रतिष्ठित र सफल व्यवसायी हुन् । स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजार नगरपालिका वडा नं. १ का स्थानीयबासी श्रेष्ठ नेपालकै सफल मध्येको एक बैंक मुक्तिनाथ विकास बैंकका संचालक समितिका सदस्य समेत हुन् । उनै श्रेष्ठसँग जिल्लाको बस्तुस्थिती, ब्यापार व्यवसाय र समग्र अर्थतन्त्रका बारेमा केन्द्रित रहेर पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सार ः

१. श्रेष्ठ जी आराम हुनुहुन्छ ? व्यवसायीहरुको हितका लागि स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले कस्ता खालका योजनाहरु ल्याएको छ ?

 आराम छु, यहि पत्रिका मार्फत पाठकबृन्दहरुमा आरामको कामना गर्दछु । मुलत ः संघको स्थापना गर्नुको उद्देश्य नै व्यवसायीको हितमा काम गर्नु हो । अहिले व्यापारीले आफ्नो दक्षता अनुसार सबैले काम गरिरहनुभएको छ । हामीले व्यवसायीको क्षमता अभिबृद्धि, व्यवसाय बृद्धिका आधारहरु तयार गर्न, व्यवसायको समयसापेक्ष सुधार, आर्थिक लेखा प्रणाली राख्ने पद्धतिको विकास, नाफा र नोक्सानको हिसाब चुस्त अनि दुरुन्त राख्ने काममा सहयोग गर्दै आएका छौं । पछिल्लो समय कोरोनाको कारण र विश्वका केहि मुलुकमा देखिएको द्धन्द्धले सृजना गरेका घटनाक्रमलाई नजिकबाट नियालेर व्यवसायीहरुको हक र हितमा हामीले आफूलाई समर्थित गरेका छौं । बढ्दै गएको आर्थिक भारलाई न्यूनिकरण गर्न सबै क्षेत्र र सरोकारवाला निकायसँग समन्वय गर्दै अगाडी बढेका छौं । अन्य धेरै योजनाहरु ल्याएका छौं र काम पनि गरेका छौं । मैले आफुले गरेको कामको धेरै बखान गर्दिन ।

२. जिल्लामा लगानीको वातावरण बनाउन संघको भूमिका के छ ?

 बाहिरबाट आउने लगानी यस जिल्लामा त्यति आएको छैन । देशमा बढ्दै गएको आर्थिक विभेदले हामीलाई चिन्ता थपेको छ । यसबिचमा हामीले जिल्लामा ठूला लगानीका योजनाहरु ल्याउन र संचालनका लागि संघिय, प्रदेश र स्थानीय तहलाई आग्रह गरी लगानीमैत्री वातावरण सृजना गर्ने तर्फ ध्यान दिएका पनि छौं र ध्यान केन्द्रित गर्न आग्रह पनि गरेका छौं । व्यापार र व्यवसाय संचालन गर्दै आएका व्यवसायी र नयाँ क्षेत्रमा लगानी गर्न खोज्ने (लगानीकर्ता) व्यवसायीका लागि स्थानीय सरकार वा स्थानीय प्रशासनसँगको समन्वय गर्दै त्यस अनुकुलको वातावरण तयार गर्नेतर्फ केन्द्रित भएका छौं । निजी क्षेत्रले राज्यबाट अभिभावकत्व पाउनका लागि हामीले सोही अनुशारको पहल गरिरहेका छौं ।

३. स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ सदरमुकाममा मात्र सिमित भयो भन्ने आरोप छ नि ?

 स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ सबैको साझा थलो हो । हुन त म अध्यक्ष भएको करिब ३ महिनाभित्रै विश्वव्यापी रुपमा देखिएको कोरोना भाईरसबाट विश्व नै आक्रान्त भएको बेला नेपाल वा स्याङ्जा अछुतो रहने विषय रहेन् । त्यसका बाबजुद हामीले पालिकास्तरीय संघको इकाई विस्तार गर्न, समग्र स्याङ्जामा मुल्यसूची राख्न लगाएर व्यवसायलाई पारदर्शि बनाउन, व्यवसायीलाई एकीकृत गर्दै मिर्मि, अर्जुनचौपारी, बिरुवा, फेदिखोलाका व्यवसायीलाई कर र नापतौलका सेवाहरु घर–घर र टोल–टोलमा पु¥याएका छौं । समग्रमा वालिङ्, गल्याङ् र चापाकोटका उद्योग वाणिज्य संघसँगको सहकार्यमा व्यवसायीहरुको हकहितमा काम गरेका छौं । हिजो जसरी काम गरियो त्यस कुरालाई भविष्यमा समेत निरन्तरता दिनेछौं ।

४. नगर उद्योग वाणिज्य संघहरुसँग तपाईहरुले कसरी समन्वय गर्नुहुन्छ ?

 नगरका उद्योगी व्यवसायीका समस्या तथा नगर उद्योग बाणिज्य संघको सशक्तीकरणको आवश्यकता छ । जिल्लाभर छरिएर रहेका व्यवसायीहरुको हकहितका लागि उनीहरुको समस्या र देखा परेका अवरोधहरुलाई फुकाउन तथा सहजीकरणका लागि नगर उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै आएका छौं । सहकार्यलाई अझ भातृत्वका रुपमा विकास गर्दै सूचना आदानप्रदान, व्यवसायीबीच सहकार्यको वातावरण तयार गर्दै अगाडी बढेका छौं । नगरका हरेक इस्यु र त्यहांका साथीहरुका गुनासाहरुलाई सुल्झाउने प्रयास गरिएको छ ।

५. सरकारी तहमा उद्योगी व्यवसायीहरु जाँदा भोग्नुपर्ने समस्या समाधानको लागि संघ मार्फत तपाईहरु के पहल गर्नुहुन्छ ?

 यो करको कुराहरु नबुझेर समस्या झेल्नुपरेको हो । यहाँलाई विदितै छ कि निजी क्षेत्र देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर त्यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन भने सकेको छैन । सरकारी निकाय र गैरसरकारी (निजी क्षेत्र) निकाय एकआपसका सहयोगी निकाय हुन् । यसको अर्थ सरकारी निकायका प्रतिनिधिहरु गैरसरकारी निकाय र गैरसरकारी निकायका प्रतिनिधि सरकारी निकायमा जाँदा वा पुग्दा एकआपसमा सहयोग आदानप्रदान भएको छ । हामीले पछिल्लो समय व्यवसायीहरुले काम वा सेवा एकीकृत कार्यालयबाटै होस भन्ने चाहेका छौं । व्यवसाय दर्ता तथा नविकरण (घरेलु तथा साना उद्योग तथा पालिका) बाट होस वा आन्तरिक राजश्व कार्यालयमा कर दाखिला एउटै निकायबाट सम्पादन गर्न सकिने हो भने अझ सहजताको अनुभूति हुने थियो भन्ने लागेको छ । यस तर्फ सरोकारवाला निकायको समयमै ध्यान जानु आवश्यक छ ।

६. स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा उत्तरार्धमा हुनुहुन्छ, कस्तो रह्यो कार्यकाल ?

 मेरो कार्यकालमा कोभिडले गर्दा भनेजति काम गर्न सकिएन् । जुन बेला मुलुकलाई निजी क्षेत्रको आवश्यक परेको छ, अभिभावक चाहिएको हुन्छ त्यस बेला भने अभिभावकको भूमिका प्राप्त गर्न सकेको छैन भन्ने हाम्रा कतिपय अनुभवहरु छन् । मानिस जन्मदेखि मृत्युसम्म जिवनभर सिकाईकै चरणमा रहन्छ, म पनि संघको नेतृत्वमा आउँदा र समयअवधि सकिने बेलासम्म सिकाईकै क्रममा रहेको छु । यस अवधिमा साना हुन वा ठूला व्यवसायीहरुको हकहित र उनीहरुका पक्षमा आवाज बुलन्द बनाउन एउटा अवसर मिल्यो, त्यो अवसर पूर्णरुपमा निर्वाह गरेको अनुभूति भएको छ । संघको नेतृत्वमा रहदा वा नरहदा म व्यवसायीको पक्षमा सधै लागेको थिए र अब जिवन रहेसम्म लाग्ने बाचा गर्दछु ।

७. तपाईले आफ्नो कार्यकालमा आत्मसन्तुष्टि हुने खालको कुनै काम भएको महशुस गर्नुभएको छ ?

 छु नि । मेरो कार्यकालमा जुन निरन्तर हुने कार्यहरु हुन्छन, नीतिगत रुपमा सुझावहरु दिने र व्यवसाय गर्ने वातावरण निर्माण गर्नका लागि पहल गर्ने किसिमको कुरामा अगाडि बढ्यौं । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ जिल्लाका समग्र उद्योग व्यवसायीहरुको प्रतिनिधित्व गर्ने लामो गौरवपूर्ण इतिहास बोकेको छाता संस्था हो । जिल्लाभरका सरकारी, गैरसरकारी, निजी क्षेत्रका क्षेत्रगत वा विषयगत संघ संगठनसँग सहकार्य गर्दै काम गर्ने अवसर मिल्यो र विभिन्न विचारबाट प्रभाबित संघ संस्थाहरुको अगुवाई गर्दै व्यवसायीहरुको पक्षमा आफूलाई उभ्याउने मौका प्राप्त भएको छ, त्यो नै आत्मसन्तुष्टि हो । कोरोना र युद्धबाट क्षतविक्षत भएको समाजलाई बिभाजन हुन नदिएर सहयोग, सद्भाब र भाईचाराको सम्बन्धमा राख्न सफल भयौं । आगामी दिनमा आउने चुनौतीलाई सामना गर्दै व्यवसायीको पक्षमा अझ दरिलो तबरबाट उभिने प्रयास निरन्तर रहन्छ ।

८. संघले गर्नैपर्ने तर समय अनुकूल नमिलेर गर्न नसकिएका कामहरु केहि बाँकी छन् ?

 उद्योग वाणिज्य संघमा नेतृत्व लिएपछि कुनैपनि काम सिद्धिदैन । नेतृत्वमा आउँदा एउटा नयाँ जोश र जागर हुँदो रहेछ, त्यस अनुसार यस अवधिमा मैले निर्वाह गरेको भूमिकाले समन्वयात्मक गतिविधि संचालन गरेको थिए । त्यस भूमिकाप्रति सहयोग र सद्भाव राख्ने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । मुख्य गरेर सबै क्षेत्रको मियोका रुपमा रहेको राजनीति स्थायी नहुँदा धेरै समस्या सृजना हुँदा रहेछन्, राजनीतिक स्थायी बनेको खण्डमा समाज रुपान्तरण गर्न अझ सहज हुने थियो । हिजो हामीले पाएको सम्मानमा आज ह्रास आएको छ । उद्योगी व्यवसायीका समस्या समाधानका लागि मात्र नभै नयाँ आउने उद्यमीलाइ समेत आवश्यक सुचना दिनका लागि उद्योग बाणिज्य संघहरुलाइ सबल बनाउन जरुरी छ ।

९. बैंकहरुले गरेको ब्याजबृद्धिको असर सबै व्यवसायीहरुमा परेको छ, अब अर्थतन्त्रको पुनर्उत्थानका लागि निजी क्षेत्र र सरकारले गर्नुपर्ने कुराहरु के के देख्नु भएको छ ?

 बैंकहरुले ब्याजदर बढाइरहेको अवस्थामा आफ्नो व्यावसायलाई निरन्तरता दिन नाफा भन्दापनि धन्दा बन्द नहोस त्यहाँ रोजजारी नगुमोस भन्ने कुरामा ध्यान केन्द्रीत छ । हिजो बैंक तथा वित्तिय संस्थाहरुले कम दरमा कर्जा प्रबाह गरेका थिए, त्यहि कर्जा उपयोग गरेर व्यवसायीले मुनाफा आर्जन गर्दा दुबै क्षेत्र सकारात्मक थिए । २०७०÷०७२ मा पनि बैंक तथा वित्तिय संस्थाले १५÷१६ प्रतिशतमा जारी गरेको ऋण लिएर पनि व्यवसायी सन्तुष्ट थिए, त्यहि बेला बजार चलायमान थियो, सबै क्षेत्र (सरकार, बैंक तथा वित्तिय संस्था र व्यवसायी) सन्तुलित थियो । तर आज परिस्थितीमा बदलाव आएको छ, विश्वव्यापी रुपमा रोगको संक्रमणमा बृद्धि भयो भने धनि र ठूला देश युद्धको चपेटामा परेको अवस्था छ । विश्वमा खाद्य संकट बढ्दै गएको छ । आर्थिक संकट बढ्दै जाँदा देखिएका नकारात्मक प्रभाबबाट हामी स्वभाविक रुपमा प्रभाबित भएका छौं । व्यवसायी र आमनागरिक विभिन्न खाले प्रभाबबाट प्रभाबित बन्दा सहयोग गर्ने निकाय राज्य हो । राज्यले यस्तै संकटका बेला आमनागरिकको पक्षमा आफूलाई देखाउन र नागरिकले अपेक्षा गरेका कुराहरु पुरा गर्ने तर्फ केन्द्रित भएमा अभिभावकको रुपमा पाउन सकिन्छ । थिलोथिलो परेको अर्थतन्त्रलाई सहि बाटोमा ल्याउनका लागि राज्यले आर्थिक प्याकेज घोषणा गरेर व्यवसायी र नागरिकका पक्षमा आफूलाई देखाउने बेला भएको छ । राज्यको अभिभावकिय जिम्मेवारीमा निजी क्षेत्र त सहयोगी मात्रै हो ।

१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहानुहुन्छ ?

 सरकारले पहिलो प्राथमिकतामा अर्थतन्त्रलाई नै दिनुपर्छ भन्न चाहन्छु । भोली आउने दिन सुअवसरका रुपमा लिने प्रेरणा सबैमा मिलोस । मेरो कार्यकालमा जिल्ला उद्योग वाणिज्य संघलाई सकारात्मक भूमिकामा लैजानका खातिर सहयोग गर्नुहुने महानुभावलाई मनदेखि नै हार्दिक धन्यवाद दिन चाहान्छु । पत्रिकाले यो अवसर प्रदान गरेकोमा विशेष आभार ।

प्रतिक्रिया