गौं संरक्षण महायज्ञमा ८६ लाख संकलन
वालिङ ।
गौ संरक्षणका लागि आयोजना गरिएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सकिएको छ । एकसाता सम्म आयोजना गरिएको महायज्ञमा झण्डै ८६ लाख संकलन गर्दै सकिएको हो । वालिङ खेलमैदानमा फाल्गुन १ गतेदेखि शुरु भएको महायज्ञ श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा जेष्ठ व्यक्तित्व तेज प्रसाद काफ्लेले समापन गरेका हुन् । महायज्ञले गाईको प्रचार प्रसार र धार्मिक अवस्थाबारे जानकारी दिइएको थियो । महायज्ञमा रसिद र दानपेटीकामा दान गरेर झण्डै ८६ लाख रकम संकलन भएको महायज्ञ मुलआयोजक समितिका कोषाध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार झण्डै १९ लाख खर्च भएको छ । यसको सबै आयव्यय विवरण आउन बाँकी रहेकोले केही समय लाग्ने श्रेष्ठले बताए ।
गाई संरक्षणलाई दिगो व्यवस्थापनका लागी आयोजित महायज्ञमा आफ्नो नाममा गाई पालन गर्न चाहाने भक्तजनले २५ हजार ५०० दिनुपर्ने व्यवस्था गरिएको थियो । यसरी गाई पालनका लागी २५ हजार ५०० तथा २५ हजार ५ सय भन्दा माथि सहयोग गर्नेहरु समेत उल्येख्य रहेको आयोजकले जनाएको छ । महायज्ञमा ५ हजार भन्दा माथि सहयोग गर्नेलाई प्रमाणपत्र र १० हजार भन्दा माथि सहयोग गर्नेलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो । महायज्ञमा विभिन्न दानदाताहरुले स्वत स्फुर्त रुपमा व्यक्तिगत तथा संस्थागत एवं समुहगत रुपमा समेत नगद तथा जिन्सी सहयोग गरेका थिए ।
बढ्दो बजारीकरण तथा शहरीकरणले गर्दा मानिसले गाई पालनतर्फ रुचि नदेखाउँदा धार्मिक तथा वैज्ञानिक महत्व रहेको गाईको महत्व हराउदै जान थालेको थियो । संरक्षणको अभावमा गाई छाडा छाड्ने प्रचलन बढ्न थालेपछि वालिङका धार्मिक, सामाजिक अभियान्ताहरुले महायज्ञको आयोजना गरेका थिए । गाईको धार्मिक र सामाजिक महत्व रहदा रहदै पनि पछिल्लो समय गाईको महत्व घट्न थालेपछि गाईको महत्व बुझाउन र संरक्षण गर्न महायज्ञको आयोजना गरिएको महायज्ञ मुलआयोजक समितिका संयोजक दिलिपप्रताप खाँणले बताए । महायज्ञबाट संकलन भएको रकमलाई मुद्धतीमा राखेर आउने व्याजबाट गाई पालन र संरक्षण गर्ने उनले बताए ।
महायज्ञमा प्रमुख वाचक पण्डित नेत्रप्रसाद पराजुली रहेका थिए । महायज्ञमा पितृहरुको बैकुण्ठवासको कामनाका लागी १० लाख दिप प्रज्वलन, सवा लाख गायत्री मन्त्रजप तथा हवन, लघुरुद्री पाठ, सतचण्डी पाठ पारायण, नवग्रह शान्ति, कालसर्प योग शान्ति, पितृदोष शान्ति, ब्रतबन्ध, तुलादान, भुमिदान, गौदानलगायतको कार्यक्रमहरु आयोजना गरिएका थिए । महायज्ञ सम्पन्न गर्न १५०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको थियो । सबैको अथक मेहनत र सहयोगबाट महायज्ञ सफल भएको महासचिव पदमप्रसाद पाण्डेले बताए ।
प्रतिक्रिया