भीरकोटमा राष्ट्रपति रनिङ कप शुरु
भीरकोट ।
जिल्लाको मध्यभागमा अवस्थित भीरकोट नगरपालिकामा राष्ट्रपति रनिङ कप प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय सभाका पूर्व सांसद खगेन्द्रराज रेग्मीले प्रतियोगिताको उद्घाटन गरे । पूर्व सांसद रेग्मीले शैक्षिक तथा खेलकूदको विकासका लागि भीरकोटले बालमैत्री अभियान मार्फत पनि निरन्तर कार्य गर्दै आईरहेको बताए । भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य तथा निवर्तमान प्रमुख छायाराम खनालले यहाँको पूर्वाधार विकास तथा शैक्षिक क्षेत्रको अवस्थाको बारेमा जानकारी दिँदै पूर्वाधार, शिक्षा र खेल क्षेत्रमा आवश्यक बजेट छुट्याउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् ।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले राष्ट्रपति रनिङ कपमा ११ विधाका खेलका लागि पालिकाभित्रका १७ वटा माध्यमिक विद्यालयबाट करिब ५ सय जना विद्यार्थी खेलाडी सहभागी रहेको जानकारी दिए । उनका अनुसार प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुनेछ । प्रतियोगिताका रेफ्री संयोजक रमेश गुरुङका अनुसार प्रतियोगितामा भलिबल, दौड (१००, २००, ४००, ८०० र १५०० मिटर), रिले दौड, लङ्जम, हाइजम, ट्रिपलजम, सटपुटलगायत ११ विधाका खेलमा नगरका सबै माविबाट सबै खेलमा छात्र र छात्रा खेलाडी सहभागी छन् ।
प्रतिक्रिया