स्याङ्जामा श्रृखंलाबद्ध चोरीका घट्ना, सुरक्षामा चुनौती

स्याङ्जा ।
दुईबर्ष अगाडी भीरकोट ६ सुन्दर बजारकी अनिषा थापाको कोठामा चोरी भयो । भाडाको घरमा बसेकी थापाको कोठाबाट ६ तोला बराबरको सुनका गरगहना चोरी भएको थियो । दुईबर्ष बितिसक्दा पनि प्रहरीले सुन चोर्ने व्याक्ति पक्राउ गर्न सकेको छैन । अहिले सम्म पनि यो घट्ना अनुसन्धान मै रहेको प्रहरी बताउछ । चोरबाट पिडित थापा धेरैपटक शंकास्पद व्याक्तिको नाम सहित प्रहरीकोमा पुगिन तर प्रहरीले ठोस प्रमाण फेला नपरेको भन्दै समान्य केरकार गरी व्याक्तिहरुलाई छाडिदिएपछि अहिले उनी प्रहरीको कार्यालयमा धाउन छाडिन् । शंकास्पद व्याक्तिको नाम अनुसन्धानका लागि प्रहरीलाई दिदा उल्टो आफैलाई असुरक्षा महशुष गरेपछि थापाको चोर पक्राउ पर्ने आशा हराएको बताउछीन् ।
उनीजस्तै दर्जनौ चोर पिडितहरु अहिले सम्म प्रहरीको कार्यालयमा चोरी भएको नगद तथा समाग्री पाईन्छ की भन्दै धाउने गरेका छन् । तर प्रहरीले अनुसन्धान भइरहेको छ भन्दै फर्काइदिने गरेको उनीहरु बताउछन् । चोरी भएका सामाग्री र चोर पक्राउमा प्रहरी अत्यन्तै चनाखो भएर नलागेको पनि देखिदैन । चोरी गर्ने व्याक्तिहरु पनि पक्राउ परेका छन् । तर स्याङ्जामा चोरीका घट्नाहरु भने न्युनिकरण हुन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९÷०८० को फागुन १० गते सम्म १५ ओटा चोरीका घट्ना सम्वन्धी मुद्धा दर्ता भएका छन् । अहिले सम्म प्रहरीले विभिन्न चोरीमा संलग्न १८ जनालाई पक्राउ गरी कारवाहि गरेको जनाएको छ । १५ चोरीका मुद्धा मध्ये ११ ओटा चोरीका घट्नामा संलग्न व्याक्तिहरु पक्राउ परी कारवाहिमा परेको तथ्याङ्क जिल्ला प्रहरीमा छ । प्रहरीले सार्वजनिक गरेको चोरीको मुद्धा सम्वन्धी घट्नामा वालिङमा ८ गते राती मिर्दि देखि जगतभञ्याङ सम्म भएको चोरी संलग्न छैन । यो घट्ना सगै ५ ओटा चोरीका मुद्धामा संलग्न व्याक्तिहरुको छानविनमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीमा परेको उजुरीका आधारमा झण्डै साढे ८ महिनामा स्याङ्जाका विभिन्न क्षेत्रबाट अन्दाजी ३० तोला सुन, ३ लाख ८० हजार २ सय नगद र इलेक्ट्रोनिक्सका सामाग्री सहित मोवाईल, कम्प्युटर लगायत फर्निचर सामाग्रीहरु चोरी भएको उल्लेख छ । जिल्लाको पालिका अनुसार चोेरीका घट्नाको मुद्धा हेर्ने हो भने पुतलीबजार नगरपालिकामा ३, वालिङमा ३, चापाकोट, गल्याङ् र भीरकोट नगरपालिकामा १—१ चोरी भएको भने अर्जुनचौपारी गाउँपालिकामा ३, फेदिखोला गाउँपालिकामा २, आँधीखोला गाउँपालिकामा १ ओटाचोरीका मुद्धा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । एकैपटक धेरै ठाउँमा चोरी हुनेक्रम पछिल्लो समयमा देखिएको छ । पछिल्लो समय आँधीखोला गाउँपालिकाको पञ्चमुलमा दर्जनौ ठाउँमा चोरी भएको थियो । यो क्रम बढेर भीरकोट नगरपालिकाको दहथुममा एकै रात ६ घरमा चोर्ने प्रयास भएपनि एकघरबाट मात्रै सुनका गरगहना र नगद लगेको प्रहरीले जनाएको छ । चोरीका घट्ना बढेपनि चोरीमा संलग्न व्याक्ति पक्राउ गर्नमा प्रहरीको सफलता पनि उत्तिकै देखिएको छ ।
चोरीका घट्नाहरु श्रृखंलाबद्ध हुन थालेपछि स्याङ्जावासीमा त्रास फैलिएको छ । जसले गर्दा सुरक्षा चुनौती प्रहरीलाई थपिएको छ । चोरी भएपछि प्रहरीले अनुसन्धान नै गरेको छैन भन्ने कुरा गलत भएको प्रहरीको बुझाई छ । जुन—जुन क्षेत्रमा चोरीका घट्ना भएका छन् त्यस्ता क्षेत्रमा सुरक्षा गस्ति बढाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक संजयबहादुर राउतले बताए । प्रहरीलाई राती नसुत्न नै निर्देशन दिएको प्रहरी प्रमुख राउतको भनाई छ । सुरक्षा चुनौती थपिएको छ उनले भने,‘भएको चोरीको घट्नालाई अनुसन्धान गर्ने र अब यस्ता घट्ना हुन नदिने हाम्रो प्रयास छ ।’ सिभिल प्रहरी टोली खटाएर अनुसन्धान गरिरहेका छौं यसमा नागरिकको पनि सहयोग आवश्यक छ उनले भने । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राउतका अनुसार त्रिबर्षिय तथ्याङ्क हेर्दा एउटै सिजनमा चोरीका घट्ना भएको देखिएको छ । यसै बिषयमा केन्द्रीत रहेर प्रहरीले नयाँ ढङ्गबाट अनुसन्धान थालेको बताए । खुल्ला सिमाना र लागुऔषध प्रयोगकर्ताहरु पनि एउटा कारक भएको प्रहरीले अनुमान गरेको छ ।
जिल्लामा चोरीका घट्ना बढ्न थालेपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् । आफ्नो घरको साँचो बलियो गरी लगाउन जिल्लाबासी सगँ अनुरोध गर्दै यस्ता घट्नाहरु हुन नदिन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । अहिले सम्म भएका चोरीका घट्नाको प्रहरीले सुस्म अनुसन्धान गरिरहेको र अबका दिनमा यस्ता घट्ना नदोहोरीन प्रहरी चौबिसै घण्टा खटेर लागेको जानकारी दिए । प्रहरीले मात्रै यस्ता घट्नालाई न्युनिकरण गर्न कठिन हुन्छ प्रजिअ घिमिरेले भने,‘समुदाय र प्रहरी मिलेर यस्ता घट्नाहरु निरुत्साहित गर्नुपर्छ ।’ त्यसैले यस्ता घट्ना हुन नदिन हामी पनि चनाखो हुनपर्छ प्रजिअले भनेका छन् । प्रहरीलाई सघाउन सबै जिल्लावासीलाई प्रजिअको अनुरोध छ । प्रहरी समुदायमा साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी बनाई समाजमा घट्ने बिकृति र बिसंगतिलाई न्युनिकरण गर्ने जिम्मेवारी हामी सबैमा आएको प्रजिअले बताए ।
प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको अदलबदल भएका बेला स्याङ्जामा श्रखंलाबद्ध चोरीका घट्ना बढेका छन् । जसले प्रजिअ र प्रहरी प्रमुखलाई सुरक्षा चुनौती थपिएको देखिन्छ । यसका लागि नागरिक सगै तिनै तहका सुरक्षा निकायलाई परिचालित गरी समाजमा देखिएका सुरक्षा चुनौतीलाई न्युनिकरणमा सहजता हुने देखिन्छ ।
प्रतिक्रिया