वालिङ बहुमुखी क्याम्पसमा नेविसंघको ताला

वालिङ ।
नेविसंघले पूर्वनिर्धारित समय पछी पनि बिद्यार्थी भर्ना गरिएको बिरोधमा वालिङ बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । आसन्न स्ववियू निर्वाचनको तयारीसँगै क्याम्पसमा बिद्यार्थी भर्ना सम्वन्धि विषयमा विवाद भएको हो । नेविसंघले सोमवार क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा शाखा र स्ववियू निर्वाचन अधिकृतको शाखामा तालावन्दी गरेको हो । वि.सं. २०३७ सालमा स्थापित यस क्याम्पस विगत ४ दशक देखि नै स्थानीय स्तरको राजनीतिको केन्द्रविन्दु जस्तै बन्न पुगेको छ ।
स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै जारी गरेको भर्ना सम्वन्धि सूचनामा क्याम्पस प्रशासनले तोकिएको समयावधि पछि पनि बिद्यार्थी भर्ना गरेको आरोप नेविसंघले लगाएको छ । क्याम्पसमा निर्वाचनको बेला हुने यस्ता खाले विवाद समान्य रहेको भन्दै भोली बिहानसम्म ताला खुल्ने क्याम्पस प्रशासनले जनाएको छ । यस अघि सम्पन्न स्ववियू निर्वाचनको विवादका कारण हालसम्म पनि मतगणना हुन सकेको छैन् ।
तेकिएको समयसिमा नाघेपछी भर्ना भएका बिद्यार्थीको मतदाता नामावलीमा नाम समावेश गर्न नमिल्ने नेविसंघको माग छ । अहिले तोकिएको समयमा भर्ना नभएका तथा क्याम्पसमा नियमित अध्यान गरिरहेका बिद्यार्थीले स्ववियू निर्वाचनमा भाग लिन पाउने वा नपाउने बिषयमा समेत अन्योलता छाएको छ । भौतिक सुविधा सम्पन्न यस क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्यान अध्यापन हुदै आएको छ । तर राजनीतिक खिचातानी तथा आर्थिक अभावका कारण कार्यरत प्रध्यापक तथा कर्मचारीले लामो समयदेखि तलब समेत खान पाएका छैनन् ।

प्रतिक्रिया