भीरकोट नगरपालिकाले मनायो बालमैत्री दिवस, बालबालिकाका अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता

भीरकोट ।
२०७७ फागुन २२ गते शनिबार भीरकोट नगरपालिका गण्डकी प्रदेशको दोश्रो तथा स्याङजा जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो । बालमैत्री नगरपालिकाले बालअधिकार महासन्धीमा उल्लेखित बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ, जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ । बालमैत्री नगरपालिका घोषणा भएको दिन फागुन २२ लाई भीरकोटले बालमैत्री दिवसको रुपमा मनाउदै आएको छ । यसै क्रममा भीरकोट नगरपालिकाले विविध कार्यक्रम गरि दाश्रो बालमैत्री दिवस भव्य रुपमा मनाएको छ ।
सोमबार आयोजित बालमैत्री दिवस समारोहमा बोल्दै राष्ट्रिय सभाका पूर्व सांसद खगेन्द्रराज रेग्मीले भने, “नगरपालिकालाई बालमैत्री घोषणासंगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्छ ।” रेग्मीले नगरपालिकाले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्नुपर्ने बताए ।
बालबालिकाको समग्र वृद्धि, विकासलाई प्राथमिकतामा राखी बालमैत्री नगरको पहिचान स्थापित गर्न सके यसको निरन्तरता सदैव हुनेमा नगरप्रमुख गोविन्द कुमार कर्माचार्य आशावादी छन् । अहिले भीरकोटका सबै विद्यालयमा छात्र छात्रामैत्री शौचालय रहेको छ, सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ, सबै घरमा शौचालय बनेको छ , बालबालिकाहरुको जन्मदर्ता पनि भएको छ । साथै नगरपालिकाले होटल, यातायात, घर लगायतका क्षेत्रमा रहेका बालश्रम न्युनीकरणको काम तिब्र रुपमा गरिरहेको छ र वालविवाह रोकथाम, न्युनीकरणका लागि समेत सक्रियताका साथ काम गरिरहेको छ ।
बालमैत्री दिवस समारोहमा बोल्दै निवर्तमान नगरप्रमुख छायाराम खनालले बालबालिकाको उज्वल भविष्यको लागि बालबालिकामा गरिएको लगानीको प्रतिफल स्वरुप बालमैत्री नगरपालिका घोषणा भएकोले राष्ट्रको प्रगतिको लागि यो अभियान एउटा कोशेढुङ्गा बनेको बताए । भीरकोट नगरपालिकाले बालमैत्री नगरको यात्रा विगत ४ बर्षदेखि मात्रै शुरु गरेको थियो, यसै समयमा कोभीड महामारीको कारण अभियान प्रभाववित हुन पुग्यो । बालमैत्री अभ्यासले बालमैत्री स्थानीय शासनको प्रारुप तयार गर्न सहयोग गरेको खनालको भनाई छ । बालमैत्री सम्वन्धि अबधारणा नेपाल सरकारले २०६८ सालदेखि अवलम्बन गरेको छ ।
बालमैत्री नेपाल निर्माणको उद्धेश्य प्राप्तिका लागि भीरकोट नगरपालिकाले स्थानीय स्तरबाट काम गरेको वडा नं ५ का पूर्व वडा अध्यक्ष तथा काँग्रेसका सभापति याम प्रसाद अधिकारीले बताए । माओवादी केन्द्रका नगर अध्यक्ष मिनप्रसाद कोइरालाका अनुसार नगरपालिकाका सम्पूर्ण बालबालिकाको सपना पूरा भएको छ । कोइराला भन्छन्, “बालमैत्री घोषणासंगै बालमैत्री नगरको रुपमा सबै बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्छ ।”
बालबालिकाले सुरक्षित वातवारणको महसुस गर्न पाएको र बालमैत्री वातावरणमा अध्ययन गर्ने अवसर पाएको पूर्व वडाध्यक्ष कमल त्रिपाठीले बताए । बालबालिकाको आवाज सुनिदै गएको तथा योजना तर्जुमा प्रक्रियामा पनि निरन्तर सहभागी हुने अवसर पाएकोमा भीरकोटका बालबालिका खुसी छन् । बालक्लबमा बसेर नगरपालिकासंग नजिकमा रहेर काम गर्ने अवसर पाएका कारण, विभिन्न तालिमहरुमा सहभागी भएका कारण अधिकांश बालबालिकाहरुको राम्रो क्षमता विकास भएको देखिन्छ । हजारौं मानिसहरुको अगाडि बालबालिकाहरु मञ्चमा उभिएर बोल्न सक्षम भएका छन् । यस्तै क्षमता विकासको अवसर देशका प्रत्येक बालबालिकाले पनि पाउनुपर्ने नगर बाल संजालका अध्यक्ष बिद्या केसी बताउछिन् ।
नगर उपप्रमुख भगवती रेग्मी अर्यालको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा नगरप्रवक्ता दिपेन्द्र केसी, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश कोइराला, शिक्षा समिति सदस्य देवकी रेग्मी, दहथुम माविका प्रधानाध्यापक तोयनारायण कोइराला, प्याब्सनका अमृत अर्याल, बिद्यार्थी आयुष ढुंगाना लगायले बालमैत्रीको बारेमा बोलेका थिए ।
प्रतिक्रिया