कारवाहीमा पर्दै विवरण नबुझाउने करदाता

 

स्याङ्जा ।
स्थायी लेखा नम्वर लिएका करदाताले समयमै आय विवरण पेश नगरेका सेवाग्राहीलाई अविलम्व विवरण बुझाउन अनुरोध गरिएको छ । करदाता सेवा कार्यालय पुतलीबजार स्याङ्जाले लामो समयदेखी मुल्य अभिबृद्धि करको विवरण नबुझाएको देखिएकाले सेवाग्राहीलाई अविलम्ब विवरण बुझाउन अनुरोध गरेको हो । ८९ महिना देखिका केही करदता र पछिल्लो समय ४ महिना देखीका करदाताले आय विवरण नबुझाएको तथ्याङ्क करदाता कार्यालय स्याङ्जाले सार्वजनिक गरेको छ । करदाता कार्यालय स्याङ्जाका प्रमुख शोभाकान्त पंगेनीले दिएको जानकारी अनुसार अहिले सम्म झण्डै ४ सय करदाताले मुल्य अभिबृद्धि करको विवरण नबुझाएको देखिएको बताए । हामीले पटक—पटक विवरण बुझाउन आग्रह गरेका छौं उनले भने,‘विवरण बुझाउन आलटाल गर्ने करदातालाई कानुन अनुसार कारबाही हुन्छ ।’ कार्यालयले तोकेको समयसिमा भित्र विवरण नबुझाउने करदाता मुल्य अभिबृद्धि कर ऐन २०५२ अनुसार कारवाहीमा पर्नेछन् उनले भने ।

स्याङ्जामा १ हजार ३ सय १४ जना मुल्य अभिबृद्धि करमा दर्ता भएका छन् । कार्यालयले सार्वजनिक गरेको विवरणमा सामाजिक संघसंस्था, उद्योगी व्यवसायी र एनजीओहरुले लामो समयदेखी आय विवरण पेश नगरेको तथ्याङ्क छ । विवरण पेश नगर्नेमा अधिकांश व्यवसायी रहेको करदाता सेवा कार्यालय स्याङ्जाले जनाएको छ । कार्यालयले स्याङ्जाका केही व्यवसायीहरुको पसलहरुमा समेत अनुगमन गरी मुल्य अभिबृद्धि कर विवरण पेश गर्ने सुझाव समेत दिएको जनाएको छ । कर छली गर्ने व्यवसायीलाई भने कारवाहीको दायरामा राखिने कर कार्यालयले जनाएको छ । आन्तरिक राजस्व विभागले आर्थिक बर्ष २०७९÷०८० लाई बजार अनुगमनको बर्षका रुपमा लिएको जनाएको छ ।

नेपाल सरकारको आर्थिक बर्ष २०७९÷०८० को राजस्व नीति तथा कार्यक्रम अनुसार सघन र प्रभावकारी अनुगमन मार्फत राजस्व चुहावटलाई नियन्त्रण र करदातालाई सहजीकरण गर्ने अभियान गर्ने जनाएको छ । सोही नीति अनुरुप स्याङ्जा करदाता सेवा कार्यालयले आय अभिलेख नबुझाउनेको नामावली सार्वजनिक गर्ने र बजार अनुगमन गर्ने कार्य अबलम्वन गरेको छ । अहिले सम्म झण्डै दुई दर्जन पसलहरुमा कार्यालयले अनुगमन गरेको छ भने अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया