स्ववियू निर्वाचनमा विद्यार्थी— कतै निर्विरोध, कतै निर्वाचन

श्रीकृष्ण सिग्देल,
वालिङ ।
हरेक ५ बर्षमा हुने स्वतन्त्र विद्याथी यूनियनको निर्वाचनले देशभरका क्याम्पस तताएको छ । क्याम्पसमा विद्यार्थीहरुको हकहितका लागि स्वतन्त्र विद्यार्थी यूनियनको स्थापना गरिएको छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत सम्वन्धन प्राप्त देशभरका आंगिक तथा सामुदायीक क्याम्पसहरुले विद्यार्थीको नेतृत्व चुन्न चुनाबी प्रतिस्पर्धामा उत्रेका छन् । चुनाबी प्रतिस्पर्धामा धेरै विद्यार्थी संगठन रहेपनि मुख्य प्रतिस्पर्धा भने ६ विद्यार्थी संगठन बिच हुने देखिन्छ । मुलुकभर १०४० सामुदायीक क्याम्पस र ६२ आंगिक क्याम्पसमा स्ववियू निर्वाचन चैत्र ५ गते हुदैछ । स्ववियू निर्वाचन हुने सबै क्याम्पसहरुमा सुरक्षा व्यवस्था देखी निर्वाचन तयारी पुरा भएको त्रिभुवन विश्व विद्यालय अन्तर्गत स्ववियु निर्वाचन २०७९ का फोकल पर्सन पशुपति अधिकारीले बताए । उनका अनुसार सयौ क्याम्पसमा सर्वसहमतिमा नेतृत्व टुङ्गिएको बताइएपनि अहिले सम्म त्यसको नतिजा आइनसकेको बताए ।

स्ववियू निर्वाचनले स्याङ्जाका बहुमुखी क्याम्पसहरुमा रौनकता छाएको छ । सामुदायीक १९ र संस्थागत ३ गरी स्याङ्जामा २२ बहुमुखी क्याम्पस रहेका छन् । अहिले सम्म नीजि रुपमा संचालित क्याम्पसहरुमा भने स्ववियू निर्वाचन भएका छैनन । १९ सामुदायीक क्याम्पसहरु मध्ये पनि ८ ओटा क्याम्पसमा विद्यार्थीहरुले नेतृत्व चुन्ने अवसर पाएका छन् भने अन्य क्याम्पसमा अहिले सम्म स्ववियू निर्वाचन भएका छैनन् । त्रिभुवन विश्व विद्यालयबाट सम्वन्धन प्राप्त गरेका क्याम्पसहरुमा अनिवार्य स्ववियू निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । तर पनि केही क्याम्पसहरुले यस बिषयमा चासो दिएको पाइदैन ।

स्याङ्जामा वालिङ् बहुमुखी क्याम्पस, गल्याङ बहुमुखी क्याम्पस, सिद्धार्थ बहुमुखी क्याम्पस फेदिखोला, मिर्मि बहुमुखी क्याम्पस कालीगण्डकी, राधादामोदर संस्कृत विद्या पिठ चापाकोट, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस पुतलीबजार, चापाकोट बहुमुखी क्याम्पस र मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन हुदै आएका छन् । चैत्र ५ गते हुने निर्वाचनका लागि सबै क्याम्पसहरुमा विद्यार्थी संगठनहरु प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । स्याङ्जामा मुख्यगरी नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ, नेकपा एमालेको भातृसंगठन अनेरास्ववियू र माओवादीको भातृसंगठन अखिलक्रान्तिकारी बिच नै प्रतिस्पर्धा हुने गरेको छ । अझ बिशेष गरेर नेविसंघ र अनेरास्ववियू बिच नै मुख्य प्रतिस्पर्धा हुदै आएको छ । ८ ओटा क्याम्पसहरु मध्ये ४ ओटा क्याम्पसमा सर्वसहमति र निर्विरोध नेतृत्व चयन भइसकेका छन् भने ३ ओटा क्याम्पसमा चैत्र ५ गते निर्वाचन हुदै छ । चापाकोट बहुमुखी क्याम्पसमा भने विद्यार्थी भर्नाको बिषयलाई लिएर विवाद भएपछि अहिले स्थगित भएको बताइएको छ ।

मिर्मि बहुमुखी क्याम्पस, राधादामोदर संस्कृत विद्यापिठ, त्रिभुवन आर्दश बहुमुखी क्याम्पस र मालुङ्गा सार्वजनिक क्याम्पसमा नेतृत्व चयन भइसकेका छन् । गल्याङ, वालिङ र सिद्धार्थ बहुमुखी क्याम्पसमा भने निर्वाचन हुदैछ । नेविसंघ र अनेरास्ववियुको बलियो पकेट मानिदै आएका ३ क्याम्पसमा भने चुनाबी प्रतिस्पर्धा निकै रोचक हुने बताइएको छ । ३ क्याम्पस मध्ये देशकै जेठो र जिल्लाकै पुरानो वालिङ बहुमुखी क्याम्पसमा अझै चुनावी प्रतिस्पर्धा रोचक हुने विद्यार्थी नेता विश्वास लम्सालले बताए । राजनीतिको उर्भरभुमी वालिङ भएकाले पनि हरेक निर्वाचनमा वालिङ क्याम्पसमा निकै कडा प्रतिस्पर्धा भइरहने लम्सालले बताए । क्याम्पसमा विद्यार्थी नेतृत्व चुन्न विद्यार्थी संगठनका माउ पार्टीका नेताहरु समेत चुनावी माहोलमा उत्रेका छन् ।

मिर्मि क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियूले नेतृत्व लिन सफल भएको छ भने त्रिभुवन आर्दश, राधादामोदर संस्कृत विद्यापिठ र मालुङ्गा सार्वजनिक क्याम्पसमा नेपाली काँग्रेस निकट नेविसंघले नेतृत्व लिन सफल भएका छन् । मिर्मिमा अनेरास्ववियूको राम्रो पकट भएकाले आफ्नो साख जोगाइराखेको छ भने नेविसंघले पनि मालुङ्गा, राधादामोदर र त्रिभुवन क्याम्पसमा आफ्नो साख कायमै राख्न सफल भएका छन् ।

प्रतिक्रिया