वालिङ बहुमुखी क्याम्पसमा अखिलको ३० बर्षे बिरासतको अन्त्य

स्याङ्जा ।
१४ बर्षपछि भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले अधिकांश क्याम्पसमा बर्चस्व जमाएको छ । विद्यार्थीका हक अधिकार सुनिश्चित गर्न सहज होस भन्ने उदेश्यले स्थापना गरिएको स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघले अधिकांश क्याम्पसमा पुरानो बिरासत फर्काएको छ । स्याङ्जामा ७ ओटा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएका छन् । ४ ओटामा सर्वसहमति र ३ ओटामा निर्वाचन भएको थियो । ७ क्याम्पसमा ५ ओटामा नेविसंघले बिजयी हासिल गरेको छ भने २ ओटामा अनेरास्ववियुले बिजयी हासिल गरेको छ । नेविसंघले त्रिभुवन आर्दश, वालिङ, गल्याङ्, मालुङ्गा सार्वजनिक र राधादामोदर बहुमुखी क्याम्पसमा स्ववियुको नेतृत्व लिन सफल भएको छ भने सिद्धार्थ र मिर्मि बहुमुखी क्याम्पसमा अनेरास्ववियुले स्ववियुको नेतृत्व लिन सफल भएका छन् ।
३० बर्षदेखी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेतृत्व लिदै आएको वालिङ बहुमुखी क्याम्पसमा यो पटक नेविसंघले प्यानलनै जितेर आफ्नो बिरासत फर्काएको छ । नेपालकै जेठो सामुदायीक वालिङ बहुमुखी क्याम्पसमा २०५२ सालदेखी स्ववियुको नेतृत्व लिएर एकाधिकार जमाउदै आएको अनेरास्ववियुको बिरासत २०७९ चैत्र ५ गतेको स्ववियु निर्वाचनले नेविसंघ बिजयी भएपछि अन्त्य भएको छ । २०४९ सालमा भएको स्ववियु निर्वाचनमा नेविसंघको नेतृत्व अहिले सम्म अन्तिम थियो । ३० बर्षको अनेरास्ववियुको एकाधिकार नेविसंघका सन्दिप कडेलले तोडिदिएका छन् ।

क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कडेलको नेतृत्व सहित प्यानलनै बिजयी भएका छन् । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले ३० बर्षपछि स्ववियु निर्वाचन जितेपछि आफ्नो पुरानो बिरासत फर्काउन सफलता मिलेको नेविसंघका नेता विश्वास लम्सालले बताए । क्याम्पस व्यवस्थापन, क्याम्पस प्रशासन सहित स्ववियुमा झण्डै ८० प्रतिशत एमाले समर्थक रहेको क्याम्पसमा स्ववियु निर्वाचनले नेविसंघलाई नेतृत्व दिएपछि अब विद्यार्थीमा न्याय हुने लम्सालले बताए । अब विद्यार्थी, व्यवस्थापन समिति र प्रध्यापकहरु मिलेर क्याम्पसको आर्थिक, शैक्षिक उन्नयनमा हातेमालो गरेर अगाडी बढ्ने लम्सालले बताएका छन् ।

वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा सन्दिप कंडेल, सचिवमा राजिन कुँवर, कोषाध्यक्षमा सुमना लामिछाने बिजयी भएका छन् । सदस्यहरुमा अस्विनकुमार रेग्मी, बादल लामिछाने, ओमप्रसाद गुरुङ्, दिपा डाला मगर, आकृति पाण्डे, सविना सुनार निर्वाचित भएको निर्वाचन समितिले जनाएका छन् । कुल १ हजार २३ मतदाता रहेको क्याम्पसमा ७ सय ६६ जनाले मतदान गरेका थिए । ७४ प्रतिशत मत खसेको मतदानमा समानुपातिकमा पनि नेविसंघ नै अगाडी रहेको छ । स्ववियु निर्वाचनमा निर्वाचित भएपछि सभापति सन्दिप कंडेलले विद्यार्थीको हकहित र अधिकारका लागि सदैव लडिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । स्वास्थ्य बिमा, यातायातमा ४५ प्रतिशत छुट र सर्टिपिकेट राखेर सहुलियत कर्जा दिने बिषयलाई मेरो कार्यकालमा सफल बनाउने योजना रहेको उनले बताए । क्याम्पस भित्र हुनेगरेका बेथितीको अन्त्य गर्दै राजनीति भन्दा पनि शैक्षिक गतिविधिलाई प्रथामिकता दिएर अगाडी बढ्ने उनले बताए ।

प्रतिक्रिया