‘पर्यावरणप्रति सरकार र इन्जिनियरहरु गम्भिर हुनुपर्छ’

सन्तोष अर्याल,
(प्रमुख)
पूर्वाधार विकास कार्यालय,
स्याङ्जा ।

नेपालमा राजनीतिक परिवर्तनसँगै ‘विकास’को बहसले निकै व्यापकता पाएको छ । हरेक जिल्लामा भौतिक विकास गर्नका लागि पूर्वाधार विकास कार्यालयको स्थापना गरिएको छ । विकासको बहसमा अन्य क्षेत्रसँगै इन्जिनियरहरुको पनि पर्याप्त सहभागिता छ । गाउँको एउटा कुलो निर्माणमा होस अथवा देशका राष्ट्रिय गौरवका आयोजना अघि बढाउने मामिलामा होस यो विकासको अवधारणासँग जोडिन्छ र त्यहाँ पूर्वाधार विकास कार्यालय र इन्जिनियरहरुको भूमिका टड्कारो हुन्छ । यसै सन्दर्भमा स्याङ्जाको पूर्वाधार विकास कसरी अगाडी बढेको छ, युवा पुस्ताका इन्जिनियरहरु के सोची रहेका छन् भन्ने लगायतका विविध विषयमा पूर्वाधार विकास कार्यालय, स्याङजाका प्रमुख इन्जिनियर सन्तोष अर्यालसंग कुराकानी गरेका छौँ । प्रस्तुत छ, पब्लिक आवाज पत्रिकाका र अनलाईनका सम्पादक अमृत अर्यालले कार्यालय प्रमुख अर्यालसंग गरेको कुराकानीको सम्पादित अंश………………

१. हाकिम साव आराम हुनुहुन्छ ? इन्जिनियरिङ शिक्षाप्रति तपाईंको आकर्षणबारे केही बताइदिनुस् न ? इन्जिनियरिङ पढ्नुको कारण आफ्नै रुचि, परिवारको दबाब, सामाजिक परिवेश वा अरु के थियो ?

धन्यवाद । नमस्कार, म आरामै छु । मेरो जन्म २०४६ सालमा हालको भीरकोट नगरपालिका वडा नं. ७ धोवादी स्याङजामा भएको र मेरो माध्यमिक तहसम्मको अध्ययन भाग्योदय मा.वि. उजेलीडाँडाँमा भएको हो । त्यसपछि मेरो उच्च शिक्षा +२ साइन्सको पढाई काठमाडौमा भयो । +२ अध्ययन पछि हरेक विद्यार्थीमा भविष्यको उच्च शिक्षाबारे सा¥है अन्यौलपन आउदो रहेछ, मेरो पनि मनमा वैदेशिक उच्च शिक्षा, एमबिबिएस वा बिएस्सी पढ्ने जस्ता चञ्चलता आएको थियो र अन्तमा साथीहरु, अग्रजहरुको सल्लाह साथै प्राविधिक शिक्षाबाट हाम्रो जस्तो विकासोन्मूख राष्ट्रका लागी केही योगदान गर्न सकिन्छ भनेर पश्चिमाञ्चल इन्जिनियरिंग क्याम्पस, लामाचौर पोखराबाट सिभिल इन्जिनियरिंग विषयमा स्नातक तहको अध्ययन, २०६८ मा पुरा गरे । अहिले इन्जियनियरहरु नाफाखोरहरुको नाफा कमाउने औजारका रुपमा प्रयोग भए भन्ने आरोप लागि रहेको सन्दर्भमा म चाहिँ त्यस्ता केही अपवाद इन्जिनियरिहरुलाई सम्झन्छु, जसले विकट पहाडका अप्ठेरा भूगोलमा काम गरिरहेको मजदुरको जीवनलाई सरल बनाउने गरि आफ्नो विज्ञतालाई त्यसमा प्रयोग गरे । वा तराईको खेतमा आजको आधुनिक समयमा पनि निकै कठिन र पुरातन तवरबाट परिश्रम गरिरहेको बुढो किसानको कामलाई सरल बनाउन मद्दत गरे । म पनि यही देखेर आम जनजीवन सरल बनाउनका लागि आफ्नो विज्ञता प्रयोग गर्न यो क्षेत्रमा लागे ।

२. निजामती सेवामा चाहिँ कसरी प्रवेश गर्नुभयो ? यसका लागि कत्तिको संघर्ष गर्नुप¥यो ? भर्खरको यूवाले पूर्वाधार विकास कार्यालयको जिम्मेवारी सम्हाल्दा सजिलो हुँदोरहेछ कि अप्ठेरो ?

स्नातक अध्ययन पुरा गरेपछि जागिर गर्नुपर्ने बाध्यता थियो । त्यसै क्रममा एउटा प्राइभेट क्याम्पसमा अध्यापन गर्दै स्ट्रक्चरल इन्जिनियरिंगमा स्नातोकोतर गरे साथसाथै लोकसेवाको तयारी पनि गरे । वि.सं.२०७० सालमा इन्जिनियर पदको लोकसेवा परिक्षामा वैकल्पिक १ नम्वरमा परे जसका कारण अझ लोकसेवा प्रती लगाव बढ्न थाल्यो र आफ्नो अध्ययनलाई कडाईका साथ अगाडी बढाए । फलस्वरुप २०७१ सालमा इन्जिनियर पदको लोकसेवाको परिक्षामा १ नम्वरमै सिफारिस भए । सुरुवातमै आफ्नो जिल्लाबाट जागिरे जिवन शुरु गरे तत्पश्चात कास्की, गोरखा, म्याग्दी हुदै ८ वर्षको अन्तरालमा हाल पूर्वाधार विकास कार्यालय स्याङजाको प्रमुखको जिम्मेवारीमा रहेको छु । आफ्नो जिल्लामा कार्यालय प्रमुखको रुपमा भैरहदा धेरै कुरामा सहज नै महशुस गरेको छु ।

३. भौतिक संरचना खडा गर्नु मात्रै पूर्वाधार विकास कार्यालयको भूमिका हो अथवा समग्र विकासको एउटा मोडेलमा जिल्लालाई अघि लम्काउनु यस कार्यालयको वास्तविक भूमिका हो ? यो बर्ष जिल्लामा गर्व गर्न लायक कुन कुन विकासका काम सम्पन्न हुदैछन् ? अहिले पूर्वाधार विकास कार्यालयले के के कुरामा ध्यान दिन जरुरी छ ?

पूर्वाधार विकास कार्यालयले मुलत ः भौतिक संरचना जस्तै सडक, सडकपुल, झोलुंगे पुलको निर्माण कार्य गर्ने गर्दछ । वास्तवमा यस कार्यालयबाट प्रत्यक्ष जनताले महशुस गर्ने खालका विकास योजना निर्माण हुने हुनाले यस कार्यालयको काम चुनौतीपूर्ण हुँदाहुँदै पनि गौरव गर्न लायक छन् । हरेक देशको समग्र विकास, आर्थिक स्थिती बलियो हुनका लागी सर्वप्रथम भौतिक संरचनाको सन्तुलित विकास हुनुपर्दछ, जसका लागी हाम्रो जस्तो प्राविधिक कार्यालयलाई बलियो संरचनाका रुपमा स्थापित गर्नु आजको आवश्यकता हो । यस कार्यालयबाट यस आ.व. २०७९÷८० मा २ सय वटा सालबसाली योजना, २ वटा झोलुंगे पुल (तीनदोबाटे–चिउरी गल्याङ न.पा, आडघरे झोलुंगेपुल आँधिखोला गा.पा. धाङलिंग झोलुङ्गे पुल गल्याङ न.पा.), १ वटा सडक पुल (गौरीघाट सडकपुल, गल्याङ न.पा.) र ५ वटा सडक (मिर्दी क्याक्मी भिमाद अन्तर्गत गिरेकोट चित्रे सडक १० कि.मी. कालोपत्रे, हेलु अर्जुनचौपारी ७ कि.मी.कालोपत्रे, गहलाम–वनकासी ४ कि.मी कालोपत्रे, नौडाडा कार्कीनेटा , १० कि.मी. कालोपत्रे र बायाटारी उदियाचौर सेतीवेनी १० कि.मी.सडक ढलान) सम्पन्न हुनेछन् । हाम्रो देशको विकासको मोडेल कस्तो हुने भन्ने नेतृत्वसँग स्पष्ट मार्गचित्र छैन । जबकी विकास र संरचनाको क्षेत्रमा काम गर्दै आई रहेका इन्जिनियरहरुले यो देशको विकासको मोडेल कस्तो हुने हो भनेर व्यापक छलफल चलाउने र हाम्रो पर्यावरण, हाम्रो हिस्टोरिकल लिगेसीलाई अघि बढाउने ढंगको विकासको मोडेल कस्तो हुनु पर्छ भनेर भन्नु पर्ने थियो । त्यसैले मैले के भन्ने गरेको छु भने सहि अर्थमा इन्जिनियरहरु समाजका आर्किटेक्ट हुन । उनीहरुले समाजका बारेमा पनि त्यति नै चनाखो हुनु पर्छ जति एउटा समाजशास्त्री अथवा समाज विज्ञानमा काम गर्ने विद्यार्थी ।

४. जिल्लाका खेतीयोग्य जमिनलाई जसरी कंक्रिटको शहरमा परिणत गरिएको छ, ग्रामिण भेगमा अन्धाधुन्ध बाटो खनिएको छ । त्यसका दोषी राजनीतिक नेतृत्वसँगै पूर्वाधार विकास कार्यालय र तपाईहरु जस्ता इन्जिनियरहरु पनि हुन् भन्ने मत बलियो भई रहेको छ, जुन स्वभाविक पनि लाग्छ । यसो सोच्नुस त हामीले कस्तो जिल्ला बनाएछौँ– जहाँ सिंगो जिल्ला घुम्दा पनि एउटा राम्रो पार्क र व्यवस्थित सडक भेट्टाउन हम्मे पर्छ ।

वास्तवमा पूर्वाधार विकास कार्यालय प्रदेश संरचना अन्तर्गतको एउटा विकासको संवाहक कार्यालय हो, यसले खासगरी प्रादेशिक सडक, झोलुंगे पुल, सडक पुल गर्नुपर्ने हो तर संख्यात्मक हिसाबले अत्यन्तै धेरै टुक्रे योजनाको छनौट हुँदा योजना कार्यान्वयनका साथै त्यसले दिने परिणाममा त्यती राम्रो प्रतिफल दिन नसकिएकै हो । त्यसका लागी प्रदेशले यथाशक्य छिटो ऐन÷नियम कार्यविधि ल्याइ योजना छनौटमै ध्यान दिन सकेमा निर्माणाधिन योजनाले राम्रो प्रतिफल दिन सक्छ भन्ने लाग्छ । विकासको जुन अन्धाधुन्ध मोडेलमा हामी प्रवेश गरेका छौँ, त्यहाँ पार्कले भन्दा सडकले महत्व राख्ने गरेको छ । त्यसैले त गाउँ–गाउँमा कि त डोजर धनीहरु पालिका प्रमुख भएका छन् कि पालिका प्रमुखहरु डोजर किन्न व्यस्त छन् । यसको अर्थ के हो भने त्यहाँको विकास डोजरले नेतृत्व गरिरहेको छ । डोजरको आफ्नो विकास चेत हुँदैन । त्यसैले त एमाले नेता घनश्याम भुषालले– ‘यो डोजर लोकतन्त्र हो’ भन्नु भयो । डोजर लोकतन्त्रमा पार्कको ठाउँ ठूला–ठूला मलले ओगट्छन । यो स्वभाविक जस्तै हो तर, पर्यावरणप्रति हामीले गरेको यो अन्यायको ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । पर्यावरणप्रति सरकार र विकास कर्ममा लागेका इन्जिनियरहरु गम्भिर नहुने हो भने यसले हाम्रो पेटलाई होइन फोक्सोलाई नै अवरुद्ध गर्ने निश्चित छ । अब तपाईं आफै भन्नुस तपाईंका लागि पहिलो महत्वको पेट हो अथवा फोक्सो ?

५. इन्जिनियरले पनि काम गर्दा आफ्नो नैतिक धरातल किन बिर्सिएका होलान् । पटक–पटक भ्रष्टाचार मुद्दामा तानिनु त्यसकै परिणाम होइन र ? तपाईको कार्यालयमा त त्यस्तो समस्या छैन् ?

इन्जिनियरिंग पेशा वास्तवमा म आफुलाई गर्व गर्न लायकको पेशा मान्दछु किनकी यो पेशा गाँउ÷गाँउका हरेक जनतासँग प्रत्यक्ष जोडिएको पेशा हो र हरेक विकासमा जनताको प्रत्यक्ष सलंग्नता÷सहकार्यमा अगाडी बढ्दछन् । हरेक इन्जिनियरिंग पेशामा संलग्न व्यक्तिको आफ्नो पेशागत धर्म हुन्छ र हामी पनि त्यसैमा बाँधिएका छौ । भ्रष्टाचारका एकाध घटनाहरुलाइ लिएर सम्पूर्ण इन्जिनियरहरुलाइ त्यसैमा मिसाउनु त्यति युक्तिसंगत लाग्छ जस्तो मलाइ लाग्दैन । अहिले गुगल, अमेजन, एप्पलसहित दुनियाका सबै भन्दा ठूला पाँच सय कम्पनीका नेतृत्वकर्ता (सिइओ) मा बहुसंख्यक इन्जिनिर ग्राजुएट हुन् । तर, हाम्रो देशको हविगत नै भन्नु पर्ला यहाँ इन्जिनियरहरु २०–५० हजारको जागिरका लागि भौतारिनु पर्ने अवस्थाको अन्त्य अझै भई सकेको छैन । जबकी हालसम्म देशमा रहेका सिभिल इन्जिनियरको मात्रै कुरा गर्नु हुन्छ भने एउटा कर्णाली प्रदेशको विकासका लागि मात्र पुग्ने संख्या हामीसँग छ । हिजो अशिक्षाको चपेटामा परेकाहरु कतार जान्थे, आज इन्जिनियरहरु कतार जानु पर्ने अवस्था छ ।

६. विकास निर्माणमा मुख्य भूमिका इन्जिनियरको हुन्छ । तपाईं यहां सम्म पुग्दा के गर्न सकेजस्तो लाग्छ ? वा इन्जिनियरहरुले त्यहाँ पुगेर के गर्न सक्छन् ?

विश्व मानचित्रमा हाम्रो वास्तविक अवस्था के हो भन्ने बुझ्नका लागि एउटा उदाहरण नै काफी छ– एउटा परामर्शदाता कम्पनी चलाई रहेको इन्जिनियरले एउटा काम सकेर त्यसको परिणाम दिनु अघिसम्म उसले सबै माथिल्ला सरकारी निकायहरुदेखि गाउँ स्तरका टोले दलालसम्मलाई रिझाउँदै काम गर्नुपर्ने हुन्छ । त्यसमा उसले परियोजनाको ५० प्रतिशतसम्म रकम खर्च गरि सकेको हुन्छ । यस्तो अवस्थामा उसले आफ्नो पेशाको सम्मान राख्दै त्यसको प्रतिष्ठा जोगाउन कसरी सम्भव हुन्छ ? यस्तो अवस्थाका बीच सम्पन्न हुने कामको परिणाम कस्तो आउँछ भन्ने तपाईं अनुमान गर्न सक्नु हुन्छ ।

७. सरकारी निकाय र राजनीतिक दलले इन्जिनियरको भूमिका थाहा नपाएका पनि होलान् कि ?

हरेक समाजले आफ्नो आदर्श (आइडल) पेशा, व्यवसाय र पदहरुको मनोविज्ञान निर्माण गरेको हुन्छ । त्यस्तो आदर्श मनोविज्ञान ठाउँ, समाज, परिवेश र समय अनुसार फरक–फरक हुन्छ । नेपालमा चाहिं आजको दिनसम्म बनाएको त्यस्तो आदर्श पेशागत मानक भनेको डाक्टर–इन्जिनियर हो । तर राजनिजिज्ञ नै डाक्टर इन्जिनियर भैदिदा उहांहरुलाई हाम्रो भूमिका पूर्ण रुपमा थाहा नहुन पनि सक्छ ।

८. इन्जिनियरहरु राजनीतिक दलका लिडरहरुको ‘एस म्यान’ भए भन्ने आरोप पनि लाग्ने गर्छ, तपाईंलाई के लाग्छ ? यस कार्यालयको प्रमुख भैरहदां त्यस्तो अनुभव गर्न परेको छ कि छैन् ?

हरेक विकास निर्माणका साथै अन्य क्षेत्रहरुको नीति निर्माणमा राजनीतिक तहको निर्णय महत्वपूर्ण हुने गर्दछ र योजना कार्यान्वयनको चरणमा प्राविधिक पक्षको निर्णय महत्वपूर्ण हुन्छ । विकास निर्माणमा इन्जिनियरहरु राजनीतिक दलका “एस म्यान“ भए भन्दा पनि विकास निर्माणमा राजनीतिक दल, अन्य सरकारी, अर्धसरकारी, निजी संस्था, नागरिक समाज, वौद्धिक व्यक्तित्व र जनताहरुसँगको सहकार्य समन्वयमा हुने गर्दछ । त्यसले के देखाउँछ भने समाजको परिवर्तन र रूपान्तरणसँगै बदलिंदो समय अनुसार हाम्रो ‘होराइजन’ पनि बढ्यो । हामीले २० वर्षअघि के देखेका थियौं ? गाउँमा हस्पिटल हुँदैनथ्यो, जिल्लाको एउटा अस्पतालमा एकजना डाक्टर आइदिए भने तीन वटा जिल्लामा चर्चा हुन्थ्यो । ग्रामीण भेगमा इन्जिनियरसँग भेट पनि कुनै परियोजना बनाउने बेलामा बल्ल–तल्ल हुन्थ्यो । अहिले विस्तारै यो मानक भत्कियो ।

९.अहिले हरेक स्थानीय तहमा इन्जिनियर राख्ने गरेको छ । तर, ती इन्जिनियर एक प्रशासनिक वा राजनीतिक व्यक्तिको अन्डरमा बसेर काम गरिरहेको देखिन्छ ? एक प्राविधिकले प्राविधिककै अन्डरमा काम गर्न कत्तिको जरुरी छ ?

यो समाजले मान्छेलाई मापन गर्ने चिज भनेको पैसा भएको छ । अनि पैसा कसले कमाएको छ भन्दा सबैभन्दा बढी राजनीतिज्ञले कमाउन थाले । विभिन्न दलाली काम गर्नेहरुले बढी कमाइरहेका छन् । प्राविधिक कामभन्दा अरु सरल बाटोहरुबाट बढी पैसा आर्जन गर्नेहरु समाजमा बढेका छन् । त्यसैको असर हो यो ।

१०. अन्त्यमा पब्लिक आवाज पत्रिका र अनलाईन मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

जो व्यक्ति जुन पेशामा खुशी छ, त्यो नै ठूलो आदर्श पेशा हो भन्ने बुझ्ने बाटोमा नेपाली समाज गएको छ । र, पनि पैसालाई समाजले बढी महत्व दिइरहेको नै छ । हामीले पैसालाई होइन कामलाई महत्व दिऔं भन्न चाहन्छु । अन्त्यमा मलाइ पब्लिक आवाज पत्रिका र अनलाईन मार्फत आफ्ना भनाइहरु राख्ने मौका दिनुभएकोमा यहाँलाइ धन्यवाद । पूर्वाधार विकास कार्यालयले गरेका हरेक विकास निर्माणमा समन्वय, सहयोग, पृष्ठपोषण र केही गुनासा भए मलाइ वा मेरो कार्याललाइ उपलब्ध गराइदिनुहुन सम्पूर्ण स्याङजाली बुबा आमा दिदि बिहिनी दाजु भाइहरुलाइ अनुरोध गर्दछु । धन्यवाद ।

 

प्रतिक्रिया