मेरो जेल जीवनको छोटो स्मरण
ध्रुवशर्मा पंगेनी ।
म रत्नराज्य (आरआर) क्याम्पसमा बिए प्रथम बर्षमा पढ्दै थिएं । स्याङ्जामा बिए पढ्ने क्याम्पस थिएन । मंसिरमा म पहिलो चोटी काठमाडौ गएको थिए । नेबिसंघले त्रिबिसंग विभिन्न माग राखेर त्रिपुरेश्वरमा रहेको भिसी कार्यालय घेराउ गरिरहेको थियो । भिसी लामो समय कार्यालय आएका थिएनन् । नेबिसंघले कार्यालय गेटमा उनको कार्टुन बनाएर बृद्ध बालक हराएको सूचना कलात्मक ढंगले टांसेको थियो । त्यस दिन भिसीले हामी संग बार्ता गर्ने भनेर सुनाइएको कारण केन्द्रिय स्तर र स्वबियु सभापती स्तरका धेरै बिद्यार्थी नेताहरु भिसी कार्यालयमा थियौं । हामी भिसीको पर्खाइमा थियौं उनीहरु सिभिल ड्रेसमा प्रसस्त प्रहरी परिचालन गरेर हामीलाई गिरफ्तार गर्ने योजनामा रहेछन । साधा पोशाकमा आएका प्रहरी साथिहरुनै होलान भन्ने लागेर हामिले चाल पाएनौं । जब साँझ प¥यो त्यही आठ बजेको आसपासमा एकाएक बत्ती निभाइयो र हामीलाइ धर पकड सुरु भो कति साथी भाग्न सफल हुनु भो हामी समातिएऔं । एक रात त्रिपुरेश्वरको बंकरमा राखेर भोलि पल्ट हनुमान ढोका लगियो । विभिन्न प्रकारका केरकार सुरु भो । एक जना थुनुवा राख्न बनाएको सांघुरो कोठामा १५ जना सम्म कोचियो ।
खान पनि दिएन र दिशा पिसाब गर्ने ठाउँ पुरै दिशा र पिसाबले भरिएको भित्र पस्दा खुट्टा डुब्नी बेहाल थियो । नेबिसंघको तत्कालिन केन्द्रिय सभापती बालकृष्ण खाँण, महामन्त्री स्व नबिन्द्र राज जोशी, केन्द्रिय नेताहरु चन्द्र भण्डारी, एनपि साउद, हृदयराम थानी, मनोहर श्रेष्ठ, कमला पन्त, सुरेन्द्र पाण्डे, चेतराज बझाल, भेषराज पोखरेल, गेहेन्द्र दहाल, कृष्ण अमात्य, सन्जु कोइराला लगायत ७२ जना हामी थियौं । हामिलाइ धेरै सास्ती दिएकाले हामिलाई कि जेलको पुर्जीले कि रिहा गर भन्ने नारा लगायौ । प्रहरी संग भित्रै अलिअलि झडप पनि भयो । हामीलाइ त्यही लामो समय दुख दिने नियत रहेछ तर भित्रैको हाम्रो आन्दोलनले हामीलाई जेल पुर्जी दियो धेरै संख्यामा केन्द्रिय कारागार पठायो, कमलाजीहरुलाई महिला कारागार पठायो एनपिजि लगायतका साथीहरुलाइ भद्रगोल जेल पठायो । म केन्द्रिय कारागार चलान भएं । हामीलाइ जेल पु¥याउदा धेरै राती भएको थियो । तीन दिन सम्म खान र सुत्न पाइएको थिएन । नारायणमान बिजुक्छे त्यति बेला जेलमै हुनुहुंदो रहेछ हामी आएको थाहा पाएपछि उठेर आफुसंग भएको चिउरा खान दिनुभयो जसो तसो सुत्ने प्रबन्ध गर्नु भो । भोली पल्ट हामीलाई पातलो तन्ना त्यस्तै ओढ्ने र एउटा सुकुल उपलब्ध भो एउटा ब्लकमा तल माथी मिलेर बस्यौं । हामीलाइ प्रती ब्यक्ती प्रतीदिन ४ रुपैयाँ र ७ सय ग्राम सेतो चामल सिधा दिने रहेछ त्यसैले सबै पु¥याउनु पर्ने । हाम्रो छुट्टै मेष सुरु भो मेष संचालनको सुरु जिम्मा हृदयराम थानी दाइलाइ लगाइयो ।
त्यस जेलमा करिब ७ सय जना बन्दी थियौं । हामी राजनीतिक बन्दी भएकाले राजबन्दीको दर्जा दिइन्थ्यो । राज बन्दीहरुलाई सिधामा सेतो चामल हुन्थ्यो अरु बन्दीहरुलाई रातो अर्थात उसिना चामल दिइन्थ्यो । विभिन्न कारणले जेल परेका मान्छे थिए । त्यहाँ पनि ठुला ठुला भ्रष्टाचार, लागू औषध, तस्करी काण्डमा जेल परेकाहरु सान सौगतले बस्थे । उनीहरुको पानी भरिदिने, नुहाइदिदिने, कपडा धुने, खाना पकाई दिने काम गरेर २÷४ पैसा आर्जन गर्ने पनि त्यही गरिब बन्दी थिए । हामीलाइ धेरै भएको सेतो चामल ती धनी बन्दीहरुले किनेर खान्थे । जेल भित्र दुइवटा साना चिया खाजा पसल थिए ती पसलहरु त्यही जेल परेका मुल नाइकेले चलाउंथे । मुल नाइकेलाइ बाहिर जान आउन छुट थियो । कैदी बन्दीहरुले बलको भरमा मुल नाइके बनाउने रहेछन । मुल नाइकेले आफ्नो अनुकुलका मानिसलाइ नाइके भाइ नाइके चौकिदार नियुक्त गर्दो रहेछ ।
हामिलाई त त्यो मुल नाइकेको हुकुम मान्न परेन तर त्यहांका अरु बन्दी माथी उसको हुकुम चल्दो रहेछ । मुल नाइकेले त्यहा खुब ठूलो धन राशी कमाउने रहेछ । जेल भित्र एउटा गोल घर थियो । त्यो जेल भित्रको पनि जेल थियो । गोल घरको कैदी बाहिर अरु संग भेट घाट गर्न पाउथेनन् । कडा सजायं भएका वा मुल नाइके संग बिद्रोह गर्नेलाइ त्यहां राखिन्थ्यो । केन्द्रीय कारागार भएकोले होला एउटा राम्रो पुस्तकालय थियो हामी पुस्तक ल्याएर पढ्थ्यौं । टेबल टेनिस, बास्केटबल, लन टेनिसको कोर्ट थियो । जेल भित्रको पानी अतिनै फोहर थियो । तिन वटा धारा थिए । ५० जनाले एकै चोटी दिशा पिसाब गर्न मिल्ने भित्र खुला जस्तै हल थियो एउटै जेन्डरका हुने भएकाले लाज मानेर साध्य थिएन । त्यति बेला फोहर पानीको कारण धेरैलाई पखाला चलेको थियो ट्वाइलेट जान हान थाप र त्यहां भित्रको आवाज बिर्सी नसक्नु थियो । कसैले ट्वाइलेट जानकोलागी ट्वाक लिएर धारामा उभिए अर्कोले पानी भर्दै गरेको भएपनी छाडिदिन पर्ने नियम रहेछ । त्यसलाइ इमर्जेन्सी भनिदो रहेछ ।
बिहान उठेपछी र सांझ पख त्यही जेलको चक्कर लगाउने, खाना पछि पढ्ने, सुत्ने, गफ गर्ने, खेल्ने हाम्रो दिनचर्या थियो । पुराना बन्दीहरु केहिले मोडा बुन्ने, पोते उन्ने काम गर्थे । सांझ ६ ः ३० देखि ८ बजे सम्म नेपाल टेलिभिजन हेर्न एकै ठाउंमा सबै जम्मा हुन्थे १४ इन्चको एउटा रंगिन टिभी बन्दीहरुले पैसा उठाएर किनेका रहेछन । आठ बजे पछि कोही पनि बाहिर हिंडडुल गर्न बन्देज थियो । राजबन्दीलाइ हप्ताको एकदिन बिहिबार मात्रा आफन्तले भेट्न पाउंथे । जेलको गेटमा फलानोलाइ भेट्ने भने पछि नाम लिएर चौकिदारहरुले चिच्याउंथे । कतिपयको नाम अपभ्रंस भएर भेट्नै नपाइने अबस्था हुन्थ्यो । भेट्न जानेको पुरै खानतसाली गरेर दुईतिर संगिन धारी प्रहरीको बिचमा टाढा बसेर सन्चो बिसन्चो मात्र कुरा गर्न पाइन्थ्यो अन्य केही कुरा गर्न खोजे रोक्थ्यो । हामीलाई भेट गर्न आउने साथिहरुले चिउरा, दालमोठ, फलफुल ल्याइदिनु हुन्थ्यो चिउराको प्याकेट भित्र साप्ताहिक विमर्श पत्रीका लुकाएर आउंथ्यो । एउटाले पढ्ने अरुले सुन्ने गरेर बाहिरको खबर लिन्थ्यौं । भेट गर्न पनि खासै धेरै आउन डराउंथे । उनिहरुको पनि तीन पुस्ते लिन्थ्यो केर कार गथ्र्यो त्यसैले । एक पटक म बिमारी परे हात अनुहार पहेंलो देखियो जेलर भवनमा डाक्टर बोलाइयो । मलाई डाक्टरले खुब राजनीति गर्ने भाको भनेर हप्कायो खास जाँच गर्न खोजेन । मैले बालकृष्ण खाँण र नबिन्द्र दाइलाई डाक्टरले यसो ग¥र्यो भनें वहाहरु र अरु धेरै गएर जेलर र डाक्टरलाइ थर्काए पछि मलाइ औषधी दियो । नगिन्द्र राज जोशी दाइको घर काठमाडौ मै भएकोले घरमा गाई पाल्नुहुंदो रहेछ घर बाट गाइको दूध दैनिक मगाएर मलाइ ख्वाउनु भो ।
केही दिनमा म निको भएं । आदरणीय स्व नबिन्द्रराज जोशी दाइलाई स्मरण गर्न चाहन्छु । जेल भित्र एउटा ५÷६ बर्ष जतिको बालक पनि थियो । उ कुनै अपराध गरेर जेल परेको थिएन । उसको बाबु गाउंको फटाहाको हत्या गरेको अभियोगमा जेल परेको रहेछ । बाबू जेल परे पछि उसकी आमा पोइल गएकी र घरमा कोही नभएकोले बाबू संगै जेल बसेको थाहा भो । उसको बाबू जेल भित्र भाडाँ माझ्ने, लुगा धुने, खाना बनाइ दिने काम गथ्र्यो । उ पनि बाबुको काम सघाउंथ्यो । मैले जेलबाट निस्के पछि उसैलाइ सम्झेर मेरो जेल मित्र भने कथा पनि लेखेको छु । त्यति खेर पञ्चायतको चरम उत्कर्सको बेला थियो कति खेर कसलाइ लगेर मार्छ भन्ने हामीमा त्यही कुरा हुन्थो । हामीलाइ जेल परेकोमा कुनै पश्चाताप थिएन बरु प्रजातन्त्र र प्रजातान्त्रिक समाजबाद स्थापना गर्न आफुले योगदान गरेकोमा गर्व हुन्थ्यो । आज आफू बिर्सिएको पात्र भए पनि संगै जेल बसेका साथीहरु शासन सत्ताको उच्च तहमा पुगेको देख्दा खुसी लाग्छ । देशको मुहार फेर्न सके हुन्थ्यो जस्तो लाग्छ । मेरो त्यही केन्द्रिय कारागारको दोस्रो यात्रा प्रजातन्त्र पुनस्थापनाको पहिलो जनाअन्दोलनमा २०४६ साल फागुन ३० गते सामाकोशिमा ब्ल्याक आउट गर्ने क्रममा समातिएर भएको थियो त्यसको अनुभव अर्को लेखमा बताउने छु ।
२०४५ साल चैत्र २१ गते, आजकै दिन
प्रतिक्रिया