भीरकोट उद्योग बाणिज्य संघको चौथो वार्षिक साधारण सभा सम्पन्न

भीरकोट ।

भीरकोट उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारण सभा बयरघारीमा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै गण्डकी प्रदेश सांसद भोजराज अर्यालले हरेक व्यवसायीलाई इमान्दार भएर व्यवसाय गर्न र राज्यलाई कर तिर्न अनुरोध गर्दै इमान्दार भएर कर तिरे देशको अर्थतन्त्र बलियो हुनेमा जोड दिए ।

प्रदेश सभा सदस्य अर्यालले सम्पुर्ण व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघले यहाँका व्यवसायीहरुको समस्या तथा गुनासा सम्बोधन गर्न सम्बन्धीत निकायलाई सचेत गराउनुपर्ने भन्दै भीरकोट उद्योग वाणिज्य संघको भवन २ वर्ष भित्रै बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। उद्योग वाणिज्य संघको भवनलाई बहुउद्देश्यीय भवनको रूपमा विकास गरि व्यवसायिक कृषिलाई प्रोत्साहन गर्ने खालको तालिम केन्द्रको रूपमा अगाडि बढाउन आवश्यक रहेको भन्दै अबका योजनाहरु दिर्घकालिन सोँचका साथ हुनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा भीरकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख छायाराम खनालले धैर्य र इमान्दार भएर व्यापार व्यवसाय गर्न आग्रह गर्दै व्यवसायको नीति नियम र प्रक्रिया बुझेर व्यवसाय गर्न सुझाव दिएका थिए।व्यवसायलाई व्यक्तिगत उन्नतिको माध्यम मात्रै नबनाई समाजको हित हुने गरी व्यवसायिक एकता कायम गरेर अगाडि बढ्न उद्योगी व्यवसायीलाई उनको अनुरोध थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शोभाकान्त पौडेलले राज्यलाई कर तिर्नु सबै व्यवसायीको कर्तव्य भएको र राजस्व वा कर कार्यालयसँग नर्तसन र राज्यको नितिनियम बुझेर व्यवसाय गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ , वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, नेपाली काँग्रेस क्षेत्र नं २ क का सचिव अमृत अर्याल, नेकपा एमालेका सन्तोष के।सी।,राष्ट्रिय प्रजातन्त्र पार्टी भीरकोटका अध्यक्ष हर्क बहादुर रोका, राष्ट्रिय जनमोर्चाका प्रकाश परियार, वडा नं ६ का अध्यक्ष लक्ष्मण खत्री क्षेत्री, समाजसेवी मकबुल मिया, टोल विकास संस्थाको तर्फबाट होम बहादुर गुरूङ, व्यवसायीको तर्फबाट इन्द्र प्रसाद अर्याल, महिला व्यवसायीहरूको तर्फबाट मिना खाँण लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरुले आर्थिक मन्दीले व्यवसाय धरासयी भएको भन्दै स्थानीय सरकार र व्यवसायीबिच समन्वय नभएको गुनासो गरेका छन् । नितिगत झन्झटका कारण व्यवसायीहरू अप्ठ्यारोमा परेको भन्दै समयमा कर तिर्ने व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने उनीहरुको माग छ ।

कार्यक्रममा संघका अध्यक्ष जगदिश प्रसाद कोइराला, महासचिव चोपनारायण श्रेष्ठ, कोषाध्यक्षको राजकुमार कर्माचार्यले आ–आफ्ना प्रतिवदन प्रस्तुत गरेका थिए । २०७५ साउनमा स्थापना भएको संघको सदस्य संख्या १ हजार रहेका छन् । अध्यक्ष कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन महासचिव चापनारायण श्रेष्ठ र स्वागत वरिष्ठ उपाध्यक्ष नुवादत्त अर्यालले गरेका थिए

प्रतिक्रिया