स्याङ्जाको गल्याङ्मा उद्यमशिलता परियोजना

प्रकाश डोटेल,
स्याङ्जा ।
स्याङ्जाको गल्याङ् नगरपालिकाले उद्यमशिलता परियोजना लागु गरेको छ । महिला तथा युवालाई लक्षित गर्दै स्थानीय उत्पादनलाई दिगो र व्यवसायिक बनाउ परियोजना लागु गरिएको हो । परियोजना झण्डै २७ महिना संचालन हुनेछ ।
हेफर प्रोजेक्ट नेपालको सहयोगमा संचालन हुने परियोजना ‘कृषि तथा पशु उद्यमशिलता विकास कार्यक्रम’ रहेको छ । परियोजनाका लागि नगरपालिकाको २ करोड २० लाख र हेफरको ९४ लाख २८ हजार ५ सय ७१ गरी ३ करोड १४ लाख २८ हजार ५ सय ७१ रुपैयाँ खर्च हुने नगरपालिकाले जनाएको छ ।
परियोजनाबाट १ हजार ३ सय ७५ महिला र ३ सय युवा गरी १ हजार ६ सय ७५ घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन् । ८ हजार २ सय ७५ घरधुरी रहेको गल्याङ् नगरपालिकाका झण्डै ४ हजार १ सय ३६ परिवार परियोजनाबाट अप्रत्यक्ष रुपमा लाभान्वित हुने अनुमान गरिएको छ ।
“स्थानीय महिला तथा युवाको नेतृत्वमा संचालित व्यवसायलाई परियोजना मार्फत प्रबद्र्धन गर्ने लक्ष्य राखिएको छ ।” गल्याङ् नगर प्रमुख गुरुप्रसाद भट्टराई भने, “महिला र युवाको संलग्नतामा उत्पादित वस्तुको नगरपालिकाकै नेतृत्वमा बजारीकरणको व्यवस्था गरिनेछ ।” परियोजनाको लागत रकम नगरपालिकाको आन्तरिक श्रोतबाट व्यवस्थापन गरिने भट्टराईले जानकारी दिए ।
व्यवसाय गर्दै आएका र नयाँ सोच राखेर व्यवसाय गर्न खोज्ने महिला तथा युवालाई परियोजनाले लक्षित वर्गमा समाबेश गरेको छ । परियोजना लागु भएसँगै आर्थिक अभाव नहुने र उत्पादित वस्तुको बजारीकरण गर्न परियोजनाले सहजीकरण गर्ने भएपछि स्थानीय युवाहरु उत्साहित भएका छन् ।
“गल्याङ्का ११ वटै वडामा फरकफरक घरेलु वस्तु उत्पादन हुँदै आएका छन् ।” नगरपालिकाका कृषि शाखा प्रमुख शिव ढकालले भने, “स्थानीयस्तरमा उत्पादित वस्तुको गुणस्तर कायम राख्दै बजारीकरण गर्न सहजीकरण गछौं ।” दिगो व्यवस्थापन र गुणस्तरीय उत्पादन परियोजनाको मुख्य लक्ष्य रहेको प्रमुख ढकालले बताए ।
नगरपालिका क्षेत्रमा गठन हुने ५५ महिला र १२ युवा समूह मार्फत परियोजनाले प्रत्यक्ष काम गर्ने छ । समूह मार्फत मुलधन प्राप्तसँगै व्यवसाय सुधार कार्यक्रम संचालन हुनेछ । व्यवसाय गर्दै आएका लक्षित वर्गलाई व्यवसायिक सुधार योजना, तालिम प्रदान गरिनेछ । पशुपक्षि पालनमा आबद्धलाई नश्ल सुधार, गोठ निर्माण र उत्पादन बढाउन उन्नत जातमा सहयोग गरिनेछ ।
स्याङ्जाको गल्याङ नगरपालिकामा खास गरी बाख्रापालन र व्यवसायिक तरकारी उत्पादन हुँदै आएको छ । परियोजनाले बाख्रापालनमा नश्ल सुधारसँगै र तरकारीमा उत्पादन बढाएर उत्पादकत्वमा भूमिका निर्वाह गर्दै बजारीकरण गर्न सहयोग गर्ने भएपछि स्थानीय महिला तथा युवाहरु उत्साहित भएका छन् । बजारीकरणको पहिलो चरणमा नगरपालिकाले हाट बजारको व्यवस्थापन गर्न थालेको छ ।
पहिलो उत्पादन गर्नै असहज र दोस्रो उत्पादन गरेपनि उत्पादित वस्तुले बजार नपाएको सन्दर्भमा परियोजनाले आफूहरुलाई व्यवसायिक बन्न सहयोगी बन्ने उनीहरुको सामुहिक विश्वास छ । उत्पादित वस्तुले बजार पाउने भए स्थानीय उत्पादन बढाउन सकिनेमा दृढ देखिन्छन् ।
प्रतिक्रिया