लैङ्गिक हिंसा समाजिक अपराध हो ः नगर प्रमुख भट्टराई

टिकाराम अधिकारी,
गल्याङ ।
समाजमा हुने गरेका लैङ्गिक हिंसा सामाजिक अपराध भएको गल्याङका नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताएका छन् । लैङ्गिक हिंसा सहन नहुने भन्दै नगर प्रमुख भट्टराईले त्यसका विरुद्व सबैले ससक्त आवाज उठाउनुमा जोड दिएका छन् । नयाँ गोरेटो संस्थाको आयोजनामा आयोजित लैङगिक हिंसा बिरुद्वको सचेतना तालिमको गल्याङ बहुमुखी क्याम्पसमा उद्घाटन गर्दै नगर प्रमुख भट्टराईले सामाजिक अपराधका बिरुद्ध सबै एकजुट हुनुपर्ने बताएका हुन् । हामीले आफ्नो घर गाउँ समुदायमा हुने लैङ्गिक हिंसाका विरुद्व एक भएर समस्याको समाधानमा लाग्नु पर्ने भट्टराईको भनाई थियो । गल्याङ् नगरलाई कसरी हिंसा रहित नगरपालिका निर्माण गर्न सकिन्छ भन्ने पक्षमा हामी छौं उनले भने,‘सामाजिक न्यायको पक्षमा नगरपालिकाले सबैसगँ हातेमालो गर्छ ।’ समाजमा हुने यस्ता क्रियाकलाप समुदायस्तरबाट समाधान भयो भने लैङ्गिक हिंसाको न्युनिकरण हुनेछ उनले भने ।

कार्यक्रममा गल्याङ् नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने र गल्याङ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराई लगायतले समाजमा अझै हिंसाबोध हुने खालका घट्ना घट्नु दुखदायी भएको बताएका थिए । तालिममा घरेलु हिंसा, जातिय भेदभाव तथा छुवाछुत, बोक्सीको आरोप, मानब बेचविखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुरव्यवहार, विद्युतीय कारोबार, मुलुकी अपराध संहिता, अपराध पीडित संरक्षण ऐन, बालवालिका सम्बन्धी लगायतका विषयमा तालिम सञ्चालन गरिएको थियो । तालिममा गल्याङ् बहुमुखी क्याम्पसका १ सय जना विद्यार्थीहरुको सहभागीता रहको कार्यक्रममा जिल्ला न्यायधिस रोमकान्त ज्ञवाली र शाखा अधिकृत रामचन्द्र उपाध्याय, लेखा अधिकृत प्रकाश खनाल लगायतले प्रशिक्षण दिएका थिए ।
नयाँ गोरेटो संस्थाका अध्यक्ष मञ्जु भूषालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सदस्य अनु बस्यालले र कार्यक्रमको सञ्चालन साधना न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया