स्याङ्जामा डढेलोको घट्ना बढ्दै
स्याङ्जा ।
बढ्दो तापक्रम र प्रतिकुल मौसमका कारण स्याङ्जामा डढेलोको घट्नाहरु बढ्न थालेका छन् । प्रायजसो गर्मी मौसममा डढेलो लाग्ने समय भएकाले डढेलोका घट्नाहरु बढ्न थालेका हुन् । वनजंगलमा लागेको आगालागीबाट ठुलो क्षती भएको अनुमान गरिएको छ । डिभिजन वन कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार अहिले सम्म १८ सय हेक्टर जंगलमा डढेलोले क्षती पु¥याएको जनाएको छ । डढेलोका कारण भएको क्षतीको अनुमान सार्वजनिक गर्न कठिनाई भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिबंश न्यौपानेले बताए ।
११ पालिकाका ४२ ठाउँमा डढेलो लागेको उनले जानकारी दिए । डढेलोबाट बनजंगल सहित अन्य बस्तीहरु जोगाउन डिभिजनले सचेतना अभियान मात्रै चलाएको दावी उनले गरेका छन् । दरबन्दी अनुसारको बन रक्षक नभएका कारण डढेलो नियन्त्रणमा समेत कठिनाई हुने गरेको न्यौपानेको भनाई छ । डढेलो नियन्त्रणमा हामीलाई सुरक्षा निकायबाट सहयोग हुदै आएको छ सुचना अधिकारी न्यौपानेले भने,‘सिमित साधनश्रोत र जनशक्तिको अभाव समस्या छ ।’ बनरक्षकको ३३ दरबन्दी छ तर हामी सगँ अहिले ११ जना मात्रै छन् उनले भने ।
जिल्लामा ६० प्रतिशत डढेलो लागेको तथ्याङ्क डिभिजन सगँ छ । जंगलमा लागेको डढेलोले के कति वन्यजन्तुमा क्षती पु¥याएको छ भन्ने बिषयमा डिभिजन वन कार्यालय स्याङ्जा अन्योलमा रहेको छ । रानीबन जंगलमा लागेको आगोका कारण आँधीखोला गाउपालिका १ अर्घौदीमा २ घर ४ गोठ जलेर नष्ट भएका छन् । मानवीय र पशुचौपायको क्षती हुनबाट जोगिएको छ । नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा अन्य बस्ती बचाउन सफल भएको र क्षतीको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिए ।
दिनहुँजसो स्याङ्जामा आगालागीका घट्नाहरु भइरहेका छन् । अझै पनि आगालागीका घट्नाहरु हुनसक्ने भन्दै सबै जिल्लाबासी सचेत रहन जिल्ला सुरक्षा समिति स्याङ्जाले अनुरोध गरेको छ ।
प्रतिक्रिया