समाचार प्रभाव—विद्यार्थीले पाउनेभए अनुदानको रकम
वालिङ ।
स्याङ्जाको बिरुवा गाउँपालिका ६ चिन्नेवास स्थित जनप्रिय माविले विद्यार्थीका नाममा आएको पाठ्यपुस्तकको रकम वितरण गर्ने भएको छ । पब्लिक आवाजले प्रधानाध्यापक र लेखापालले सरकारले दिएको अनुदानको रकम गुपचुप राखेको बिषय बाहिर ल्याएपछि विद्यार्थीलाई वितरण गर्ने भएको हो । पालिकाले दुइृबर्ष अगाडी दिएको अनुदान रकम विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नदिएको र विद्यार्थीलाई समेत उक्त रकम उपलब्ध गराएको थिएन । विद्यार्थीलाई पाठ्यपुस्तक किन्न नेपाल सरकारले पालिका मार्फत ससर्त अनुदानको रकम पठाएको थियो । उक्त रकम विद्यार्थीहरुले नपाएपछि गुनासो गरेका थिए । विद्यार्थीको गुनासो आएपछि पब्लिक आवाजले सोमबार समाचार बे्रक गरेको थियो ।
समाचार बाहिर आएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यार्थीका नाममा आएको रकम विद्यार्थीलाई नै वितरण गर्नुपर्ने निर्णय गर्न बाध्य भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्मा, प्रअ भगवत भट्टराई र लेखापाल विनोद लम्सालले संयुक्त हस्ताक्षर गरी समयमै पाठ्यपुस्तक दिन नसकेको भन्दै क्षमयचना गरेका छन् । विद्यार्थीलाई पाठ्यपुस्तक किन्न आएको रकम अनियमितता नभएको र विद्यालयको शैक्षिक, आर्थिक, भौतिक कारोवार चुस्तदुरुस्त रहेको दावी सहित उल्लेख गरिएको छ ।
विद्यालयले सामाजिक लेखा परिक्षणमा खर्च भएको देखाइएको र विद्यार्थीले रकम नपाएपछि प्रअ र लेखापालको मिलेमतोमा रकम हिनामिना गरिएको आशंका गरिएको थियो । पब्लिक आवाजले समाचार वाहिर ल्याएपछि उक्त रकम हिनामिना हुनबाट रोकिएको छ ।
प्रतिक्रिया