न्यायका लागि दबाब दिन दिनभर प्रहरी कार्यालय घेराउ

स्याङ्जा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान फितलो गरेको भन्दै पुतलीबजार नगरपालिका वडा नं १३ का महिलाहरूले दिनभर जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला अदालत स्याङ्जा घेराउ गरेका छ्न्। पीडितलाई न्याय दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला अदालत स्याङ्जामा घेराउ गरी उनीहरुले दबाब सृजना गरेका हुन्। घरायसी विवादका कारण श्रीमान र जेठाजुको कुटपिटबाट स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १३ निवासी कमला न्यौपाने सुवेदीको मृत्यु भएको थियो। गत वर्ष माघ २२ गते राती भएको कुटपिटबाट गम्भीर घाइते भएकी न्यौपानेको चैत्र ७ गते काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

घटना संकास्पद भएपछि मृतक न्यौपानेका दुई छोरी र एक छोरासहित माइती पक्षले ४ जना विरुद्ध उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा घटनामा संलग्न भएकाहरुलाई पक्राउ गरिएको थियो भने मृतकका श्रीमान् लक्ष्मीप्रसाद न्यौपानेले कुटपिट गरेको स्वीकार गरेपछी कर्तव्य ज्यान मुद्दा अगाडि बढाइएको र पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको थियो। घटनामा संलग्न अमाजुलाई म्याद थप गरी अनुसन्धान गरिरहेको र जेठाजु केशवराज न्यौपानेलाई जिल्ला अदालत स्याङ्जाले दुई लाख धरौटीमा छाडिदिएको थियो। धरौटीमा छुटेका जेठाजु केशवराज न्यौपानेलाई समेत कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै महिलाहरूले प्रहरी कार्यालय र जिल्ला अदालत घेराउ र नारबाजी गरेका थिए। फरार रहेका न्यौपानेलाई पुन पक्राउ गर्नुपर्ने उनीहरूको माग छ। मृत्यु भैसकेको व्यक्तिलाई न्याय नदिई राजनैतिक दबाबमा अनुसन्धान फितलो गरेको, प्रहरी र अदालत दुबै पैसामा बिकेको भन्दै महिलाहरुले अदालत र प्रहरी विरूद्ध नाराबाजी गरेका थिए। महिलाहरू र माइती पक्षको टोलीले दबाब सहित न्यायका लागि जिल्ला प्रहरी घेराउ गर्ने समयमा प्रहरीसङ्ग हातपात हुँदा मृतकका भाइ जीवन सुवेदी घाइते समेत भएका छन्।

प्रतिक्रिया