लोपोन्मुख सतीघाटु नृत्य संरक्षणमा युवा
धनु गुरुङ,
वालिङ ।
गुरुङ् समुदायको संस्कृति सगँ जोडिएको नृत्य हो सतीघाटु । पछिल्लो समय यो नृत्य हराउदै जान थालेको छ । रजस्वला नभएका कन्याहरुलाई ३ दिनसम्म नचाएर मनाउने सती घाटु नृत्य संरक्षण गर्न अहिले युवायुवतीहरु लागिपरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका ३ राम्चेका युवाहरुले यसको संरक्षण गर्नुपर्छ भन्दै लागेका छन् । युवाहरुकै सक्रियतामा हुन लागेको नृत्य बैशाख पुर्णिामाको दिनदेखि तीन दिनसम्म प्रदर्शन हुने छ । विशेषगरी गुरुङ समुदायमा नाचिने घाटु अहिले अधिकाशं ठाउबाट लोप भैसकेको छ, विश्व महामारीका कारण केही वर्ष स्थगन भएपनि यसवर्ष भने शिवमित्र तमु युवा परिवारको व्यवस्थापनमा निरन्तरता दिन लागेको हो । पौराणिक कथाहरुमा आधरित घाटुका विभिन्न प्रकारमध्ये सति घाटु कमै ठाउँमा नाच्ने गरिन्छ । यसको सुरुवात र समापन निकै रोचक हुने स्थानीय शिवमित्र तमु युवा परिवारका अध्यक्ष देउराज गुरुङ्ले बताए ।
यो नृत्य शुरुभएपछि गाउँमा कुनैपनि ठुला काम गर्न हुदैन भन्ने मान्यता रहेको छ । घाटु शुरु हुनुपुर्व गाउँको चारैदिशातिर देवीदेउतालाई भाकेर गरिन्छ । हरेक बर्षको बुद्ध पुर्णिमामा प्रदर्शन हुने यो नृत्यमा कन्याहरुले तिनदिन सम्म एकछाक मात्रै खाना खाएर सहभागी हुनेगर्दछन् । त्यो पनि १२ बजेपछि मात्रै खान पाउछन् । बेजोर कन्याहरुबाट नचाईने यो घाटुमा धेरैजसो ५, ७, ९ र ११ जना सम्म रहने गर्दछन् ।
बाध र साज श्रृगार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको सति घाटुमा गुरुवा गुरुआमाले गितवाटै मंगलचरण गरी घाटु देवता जगाउने, घाटुसारी चयन, नृत्यकला सिकाउने, सति ढलाउने, सति जगाउने आदि काम गर्दछन । अहिलेका युवापुस्तालाई आफ्ना सस्कृतिप्रति जिम्मेवार बोध र पुर्खौदेखी चल्दै आएको सस्कृतिको जगेर्ना होस भन्ने हेतुले आयोजना गर्न लागेको शिवमित्र तमु युवा परिवारका अध्यक्ष गुरुङले बताए । बैशाख २२, २३, र २४ गते समय मिलाएर घाटु नृत्य अवलोकनको लागि पनि आग्रह गरे । घाटुको समापन नजिकैको डाँडासम्म नाचेर पुग्ने अनि पुजाआजा सहित बली दिएपछि समापन हुने छ । यसको संरक्षणमा सरकारी तवरबाट अहिले सम्म कुनै पहलकदमी नभएको गुरुङ् समुदायको गुनासो छ । यो संस्कृतिको जर्गेना र संरक्षणमा ध्यान दिने हो भने भावी पुस्ताले पनि घाटुको अनुभव गर्न पाउने उनीहरुको भनाई छ ।
प्रतिक्रिया