अर्जुनचौपारीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

दिपक सुनार,
अर्जुचौपारी ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ । अर्जुनचौपारी गाउँपालिका आयुर्वेद शाखाको आयोजना र गाउँपालिकाको समन्वयमा पालिकाको नयाँ भवनमा बिहीबार विभिन्न किसिमका रोगहरुमा एक दिने निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा महिला र पुरुष गरि ३ सय ६२ जनाले स्वास्थ्य सेवा लिएका छन् । स्थानिय बासिन्दाहरुलाई लक्षित गरी संचालित स्वास्थ्य शिविरमा निशुल्क सुगर, बाथरोग, पाइल्स, ग्यास्ट्रिक, कब्जियत लगायत रोगको उपचार सेवाहरु प्रदान गरिएको थियो । जसअन्तर्गत सम्पुर्ण रोगको उपचार गराएका बिरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको अर्जुनचौपारी गाउँपालिका आयुर्वेद शाखा प्रमुख ललित थापाले बताए ।

यस्तै शिविरबाट निशुल्क आयुर्वेदिक पद्धतीबाट सबैखाले रोगहरुको उपचार तथा परामर्श दिईएको थियो । शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख बरिस्ठ कबिराज निरिक्षक देवेन्द्र आचार्य, डा उत्सब पौडेल, डा तुलसी श्रेस्ठ, डा. सदिक्षा लामिछने शिव अर्याल सहितको स्वास्थ्यकर्मिको टिमले विरामीहरुको चेकजाँच गरेका थिए ।

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रकाश तिवारीले अस्पतालसम्म जान नसक्ने र आर्थिक रुपमा कमजोर घरपरिवारका विरामीलाई स्वास्थ्य शिविरले महत्वपुर्ण सेवा प्रदान गर्ने अपेक्षा आफुले लिएको बताए । स्वस्थ पानी, स्वस्थ जीन्दगानी जस्तै आयुर्वेदीक औषधी आफुहरुको जीवनमा निकै उपयोगी हुने तिवारीले बताए । आगामी दिनहरुमा समेत पालिका बासिको स्वास्थ्यलाई मध्यनजर गर्दै विविध किसिमका स्वास्थ्य शिविरको आयोजना गरिने जानकारी दिए ।

साथै तिवारीले हिमालयन आँखा अस्पताल संग समन्वय गरेर पालिकामा लगत्तै हप्ताको १ दिन आँखा शिविर सञ्चालन गरिने बताए । पोखरा स्थित हिमालयन आँखा अस्पताल संग मैले समन्वय गरेको छु, तिवारीले भने,‘लगत्तै पालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुनेछ ।’ पालिकामा निःशुल्क रुपमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर राखिएकोमा सेवाग्राही निकै खुसी भएका छन् । स्वास्थ्य शिविरमा स्वस्थ्य शाखा प्रमुख डाक्टर इश्वर कुमार के.सि.ले स्वागत मन्तव्य राखेका थिए भने,कार्यक्रमको सञ्चालन आयुर्वेद शाखा प्रमुख ललित थापाले गरेका थिए ।

प्रतिक्रिया