संचालकको अदुरदर्शिताले ठुलो शैक्षिकक्षेत्र धरापमा

वालिङ ।
शैक्षिक क्षेत्रको धरोहरका रुपमा रहेको नेपालकै जेठो सामुदायीक क्याम्पस, वालिङ बहुमुखी क्याम्पस अहिले अस्तित्वको झोली थापेर बसेको छ । स्याङ्जालाई शैक्षिक क्षेत्रको रुपमा चिनाउन महत्वपुर्ण भुमिका खेल्दै आएको यस क्याम्पस आर्थिक व्ययभार थेग्न नसकेपछि अस्तित्वको झोली थाप्न बाध्य भएको हो । २०३७ सालमा स्थानीय समुदायले स्थापना गरेको क्याम्पस ४३ बर्षपछि निकै जटिल समस्यामा उभिएको छ । जति पुरानो हुदै गयो उती फस्टाउनुपर्ने क्याम्पसमा जटिलता आउनुको कारण संचालक समितिको अदुरदर्शिता रहेको बताइएको छ । हजारौ विद्यार्थीलाई शिक्षित बनाएको योे क्याम्पसको दुरावस्था आउनु निकै दुखद रहेको जानकारहरु बताउछन् ।

जिल्लाकै मध्यभागमा रहेको वालिङ बहुमुखी क्याम्पस भौतीक पुर्वाधारले भने निकै सम्पन्न छ । विद्यार्थीको संख्या पनि उत्तिकै राम्रो रहेको तथ्याङ्कले देखाउछ । विद्यार्थी संख्या उल्लेख्य हुदांहुदै पनि अहिले क्याम्पसमा तलब खुवाउने पैसा समेत छैन् । विगतको आम्दानीलाई संस्थागत गर्न नसक्दा क्याम्पस प्रशासनले आफ्नै हात जगन्नाथ गरेको देखिन्छ । यस्तै खेलमा विगतका संचालकहरु रमाउदै जान थाले तर उनीहरुले क्याम्पसको आर्थिक व्यायभार तर्फ ध्यान दिएनन् । यसको संकट बल्ल आएर देखियो र वर्तमान संचालक समिति तर्सियो । अहिले क्याम्पसले झण्डै ४ करोड भन्दा बढी ऋण दायीत्व बोक्न बाध्य छ । माल पाएर चाल नपाएका भन्ने उखान झै विगतका संचालकहरुको अदुरदर्शिताका कारण क्याम्पसले ठुलो क्षती व्यहोर्न परेको स्थानीयहरु बताउछन् । हरेक महिना आर्थिक बोझ थोपरिएपछि वर्तमान संचालक समितिले क्याम्पसमा आर्थिक संकटकाल घोषणा गर्न बाध्य भएको छ ।

बैशाख २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक संकटकाल घोषणा गर्ने निर्णय गरेर समाधान गर्नेतर्फ अग्रसरता देखाएको छ । क्याम्पसलाई थप व्ययाभार हुन नदिन आर्थिक संकटकाल घोषणा गर्नुपरेको संचालक समितिका अध्यक्ष हुमकान्त कोइरालाले बताए । क्याम्पसले २०७७ चैत्रदेखी हालसम्म ४ करोड भन्दा बढी रकम भुक्तानी गर्नुपर्ने दायीत्व देखिएको उनले बताए । पुरानो रकम भुक्तानी गर्नुपर्ने दायीत्व देखिएपछि संकटकाल मोचनका लागि आर्थिक संकटकाल घोषणा गर्नुपरेको कोइरालाको भनाई छ । विश्वविद्यालय अनुदान आयोग नेपालद्वारा क्युएए मान्यता प्राप्त गर्न सफल भएको क्याम्पसमा आर्थिक संकट देखिनुले धरापमा परेको उनले बताए ।

समितिले आर्थिक संकट समाधान गर्न कार्तिक मसान्तसम्म कायम रहनेगरी वित्तिय संकटकाल घोषणा गरेको छ । आर्थिक संकट समाधानका लागि संचालक समितीका सदस्य डा. अच्युतशरण अर्यालको संयोजकत्वमा भरतप्रसाद बगाले, नित्यानन्द तिवारी, कविता भुषाल र अनुपमा ढु्ंगाना सदस्य रहनेगरी वित्तिय संकट समाधान सुझाव कार्यदल गठन गरि काम अगाडी वढाइएको क्याम्पसले जनाएको छ । क्याम्पसलाई आर्थिक संकटबाट बचाउन सबैबाट सकरात्मक सहयोगको अपेक्षा रहेको अध्यक्ष कोइरालाले बताए ।

पूर्व सन्चालक समितीवाट प्राध्यापक एवम् कर्मचारीहरुको भुक्तानी दिनु पर्ने १४ महिनाको पुरानो बाँकी तलब भत्ता १ करोड ९८ लाख, हालको ६ महिनाको बाँकी तलब भत्ता करिब १ करोड ८ लाख र विभिन्न व्यक्ति तथा फर्महरुबाट पुरानो भुक्तानी माग गरिएको समेत गरी हालसम्म क्याम्पसमा झण्डै ४ करोड घाटा देखिएको छ । क्याम्पसमा १६ जना पूर्णकालीन प्राध्यापक, ३० जना आंशिक प्राध्यापक सहित ६३ जना प्राध्यापक र कर्मचारी कार्यरत छन् । कोभिड संक्रमणका बेला गरिएको लकडाउन, प्रध्यापकको संख्या बढी र तलवमानमा मनोमानीका कारण क्याम्पस घाटामा हुदै आएको निष्कर्ष वर्तमान संचालक समितिको छ । दरबन्दी भन्दा बढी प्राध्यापक एवम् कर्मचारीहरु कार्यरत हुनु, आर्थिक अवस्था कमजोर हुँदा समेत तलब स्केल त्रिभुवन विश्वविद्यालयको बराबर हुनु, +२ दिवा सत्रमा लैजादासमेत बिहानी सत्रको जनशक्ति यथावत हुनुले क्याम्पस घाटामा गएको देखिन्छ । २०७७ चैत्र महिनादेखि २०७८ भाद्र महिनासम्म मासिक आम्दानीको तुलनामा खर्च बढी भई क्याम्पसले मासिक करिब ७ लाख घाटा व्यहोर्दै आएको छ ।

२०७८ भदौ ८ गतेको सञ्चालक समितिको निर्णयले मासिक करिब २ लाख खर्च कटौती गरी हाल आम्दानी र खर्च अन्तर मासिक करिब ५ लाखमा झारिए पनि समस्या समाधान हुन नसकेको क्याम्पस समितीले जनाएको छ । कुनै—कुनै संकायमा विद्यार्थी भन्दा प्रध्यापकको संख्या धेरै हुनुले पनि आर्थिक व्यायभार बढेको देखिन्छ । गणित विषयमा जम्मा आम्दानी वार्षिक २ लाख ५९ हजार ८ सय र खर्च १७ लाख ८५ हजार ७ सय ९१ देखिन्छ । यो विषयमा मात्र १५ लाख २५ हजार १ सय ९१ घाटा रहेको छ भने त्यसैगरी जनसंख्या विषयमा ८ लाख २२ हजार, अर्थशास्त्र विषयमा १० लाख ९८ हजार घाटा रहेको छ । यो एउटा उदाहरण मात्र हो । यस्तो आयभन्दा व्याय धेरै क्याम्पसको सबै संकायमा छ ।

विगतका बर्ष देखी नै संचालक समिति र क्याम्पस प्रशासनले विद्यार्थीको संख्या थप्नुभन्दा आफ्ना पार्टी निकटका प्रध्यापक र कर्मचारीलाई नियुक्ति गर्नुले क्याम्पसमा आर्थिक बोझ थपिन पुगेको स्वतन्त्र विद्यार्थी युनियनको ठहर छ । गौरवपुर्ण इतिहास बोकेको क्याम्पसमा आर्थिक संकट देखिनु दुखद छ, स्ववियुका सभापति सन्दिप कडेलले भने,‘राजनीतिक आडमा कार्यकर्ता भर्ती गर्दा यस्तो समस्या आएको हो ।’ आर्थिक संकट समाधानमा स्ववियु गम्भिरतापुर्वक लाग्छ । यसका लागि केही बिषयहरु छानविनको दायरामा ल्याउनुपर्छ उनले भने ।

यसरी वालिङ क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरेपछि समिति र जिम्मेवार निकाय नै क्याम्पस सिध्याउने खेलमा लागेको त होइन भनेर संस्थापक तथा पुर्व विद्यार्थीहरु चिन्तित् देखिएका छन् । संचालकको बेवास्थाका कारण यस्तो अवस्था आएको हुन सक्ने सरोकारवालाहरुको ठम्याई छ । यस तर्फ जिम्मेवार निकायले बेलैमा ठोस निर्णय नगरेमा अन्तत् वालिङ बहुमुखी क्याम्पस इतिहासमा सिमित रहने देखिन्छ ।

 

प्रतिक्रिया