भ्रष्टचारीहरुले उन्मुक्ति पाउदैनन् ः कानुन मन्त्री गुरुङ

स्याङ्जा ।
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले भ्रष्टचारीहरुले उन्मुक्ति पाउन नहुने बताएका छन् । नेपाली काँग्रेस भीरकोट नगरपालिकाले आयोजना गरेको प्रथम भीरकोट नगर सम्मेलनको उदघाटन गर्दै मन्त्री गुरुङ्ले भ्रष्टचारमा दोसी ठहर भएमा राजनीतिक अवरणमा उन्मुक्ति नपाउने बताएका हुन् । अबको बाटो सुशासन भएको बताउदै मन्त्री गुरुङ्ले भ्रष्टचारीहरु कै कारण देशमा सोचेजस्तो विकासका पुर्वाधारहरु बन्न नसकेको बताए ।
अब भष्ट्रचार प्रवृति भएको जोकोही व्याक्तिलाई कारवाहीको दायरामा ल्याउनु पर्छ उनले भने,‘विगतदेखी वर्तमानसम्मका आर्थिक अनियमितता भएका फाईलहरु खोल्नुपर्छ ।’ मुलुकको सबैभन्दा ठुलो रोग भष्ट्रचार हो उनले भने । भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दलका नेता कार्यकर्ता परेपनि कानुनी दायरामा ल्याएर कारबाही हुनुपर्नेमा जोड दिए । भुटानी शरणार्थीलगायत फाइलमा आफूहरुले प्रधानमन्त्रीलाई साथ दिएको दावी गर्दै उनले यस अभियानलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।

नागरिकता विधेयकले आमाको नामबाट नागरिकता नपाएका, बाबु आमा नेपाली नागरिक भएर पनि छोराछोरीले नागरिकता नपाएका र गैर आवासीय नेपालीले नेपालको नागरिकता पाउने तर राजनीतिक नेतृत्व गर्न नपाउने गरी तीनवटा कुरा समेटिएको उनले जानकारी दिए । नागरिकता विद्येयक कुनै राष्ट्रघाती काम नभएको जिकिर गर्दै कानुनमन्त्री गुरुङ्ले नागरिकलाई अनागरिक बनाउन नहुनेमा जोड दिए ।

प्रतिनिधिसभा सदस्य राजु थापाले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारवाही गर्नुपर्ने बताए । उनले भ्रष्टाचारको आरोप लागेका कसैलाई पनि कांग्रेसले नबोक्ने र दोषी ठहरिएमा कारवाही भएरै छाड्ने बताए । भ्रष्टाचारीलाई कांग्रेसले ढाकछोप गर्ने, बोक्ने होईन बरु अनुसन्धान प्रक्रियामा सघाउने उनले बताए । नागरिकता विधेयक अहिलेको आवश्यकता भएको दावी गर्दै यसकाबारेमा पढेर, बुझेरमात्रै गाउँ गाउँमा रहेका नागरिकलाई बुझाउन उनले आग्रह गरे । बजेट भाष्णमा स्याङ्जाको नाम नआएको भन्दै सामाजिक सञ्जाल मार्फत खिल्ली उडाउएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताए । स्याङ्जाको विकासका लागि रातो कितावमा बजेट समावेस भएको उनले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका पुर्व सभापति खगेन्द्रराज रेग्मीले म्याद सकिएका नेतृत्वका कारण काँग्रेसमा खस्कदोको लहर आउन थालेको प्रति सचेत रहन आग्रह गरे । नयाँ पिडिले नयाँ सोचका साथ काँग्रेसलाई अगाडी बढाउन सक्ने तर्क पेशगर्दै नेता रेग्मीले पुराना नेतालाई छिट्टै विदाई गर्नुपर्ने धारणा व्यक्त गरे ।
नगर सम्मेलनमा नेपाली काँग्रेसका गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, कल्पना तिवारी, काँग्रेसका नेता तथा प्रदेश सांसद भोजराज अर्याल, स्याङ्जा क्षेत्र नम्वर २ का सभापति दिलिपप्रताप खाँण, भीरकोट नगरका नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, पुर्व नगर प्रमुख छायाराम खनाल, नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति केदार काफ्ले, महासमिति सदस्य भरतराज लम्साल लगायतले काँग्रेसमा रुपान्तरणको खोजी हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश, जिल्ला, क्षेत्र, नगर तहका नेता कार्यकर्ताले आ–आफ्नो धारणाहरु ब्यक्त गरेका थिए । भीरकोट नगर समितिका सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) को अध्यक्षतामा सम्पन्न नगर सम्मेलन सचिव तारा अर्यालले संचालन गरेका थिए ।

प्रतिक्रिया