स्याङ्जाका पालिकाको बेथिति—खाजा र भ्रमणमा ५ करोड खर्च

श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
स्याङ्जाका स्थानीयतहले खर्चमा मितव्ययिता नअपनाउदा खाजा र भ्रमणमा ५ करोड भन्दा बढी रकम खर्च भएको महालेखाको तथ्याङ्कले देखाएको छ । आर्थिक बर्ष २०७८÷०७९ मा जिल्लाका पालिकाहरुले खाजा, नास्ता, भ्रमण र विविध शिर्षकमा ५ करोड २२ लाख ९४ हजार २ सय रकम खर्च भएको महालेखाको तथ्याङकले देखाएको हो । महालेखापरीक्षकको कार्यालयले गरेको आर्थिक बर्ष २०७८÷०७९ को लेखापरीक्षणबाट स्याङ्जाका सबै पालिकाहरुले खर्चमा मितव्ययिता अपनाउन सुझाव समेत दिएको छ । नयाँ संरचनामा मुलुक गएपछि बनेका स्थानीयतहहरुको महालेखाले परीक्षण गरेको बार्षिक प्रतिवेदन यो ५ औं पटकको हो ।

हरेक पटकको प्रतिवेदनमा स्थानीय पालिकालाई सुझाव दिएपनि महालेखाले दिएको सुझावलाई कार्यन्वयन गरेको देखिएको छैन । नेपाल सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने मापदण्ड तयार छ । तर पनि स्याङ्जाका कुनैपनि पालिकाले सो मापदण्ड अख्तियार गरेको देखिदैन । महालेखापरीक्षकले सबै पालिकालाई आर्थिक पारदर्शितामा हरेक पटक टिप्पणी उठाएको उल्लेख छ । आर्थिक पारदर्शितामा नियमन निकायले दिएको सुझावलाई कार्यान्वयनमा ल्याउन नसक्दा बेरुजु बढेको तथा जथाभावी खर्च हुने गरेको तथ्याङकले देखाउछ ।

११ स्थानीयतह रहेको स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका छन् । खाजा नास्ता खर्चमा सबैभन्दा बढी चापाकोट नगरपालिकाले खर्च गरेको देखिएको छ भने सबैभन्दा कम खर्च भीरकोट नगरपालिकाले गरेको देखिएको छ । त्यसैगरी गाउँपालिका तर्फ सबैभन्दा बढी खाजामा खर्च आँधीखोला गाउँपालिकाले गरेको छ भने सबैभन्दा कम खर्च फेदिखोला गाउँपालिकाले गरेको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । हरीनास गाउँपालिकाले भने खाजा नास्तामा खर्च गरेको तथ्याङ्कले देखाएको छैन । चापाकोट नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा ५९ लाख ९४ हजार रकम खाजामा खर्च गरेको छ । त्यसैगरी गल्याङ नगरपालिकाले ३५ लाख १७ हजार, पुतलीबजार नगरपालिकाले ३८ लाख र वालिङ नगरपालिकाले २१ लाख १५ हजार खाजामा रकम खर्च गरेका छन् । भीरकोट र वालिङले खाजा नास्ता खर्चमा मितव्ययिता अपनाएको देखिन्छ ।

त्यस्तै गाउँपालिका तर्फ आँधीखोला गाउँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा २२ लाख २२ हजार रकम खाजा नास्तामा खर्च गरेको छ । अर्जुनचौपारीले २१ लाख ३० हजार, कालीगण्डकीले १४ लाख ८० हजार, बिरुवाले १४ लाख ७६ हजार र फेदिखोला गाउँपालिकाले १६ लाख ८१ हजार रकम खाजानास्तामा खर्च गरेका छन् । महालेखापरीक्षक कार्यालयले सबै पालिकाहरुलाई खाजानास्तामा बढी खर्च भएको औल्याउदै खर्चमा मितव्ययिता अपनाउन सुझाव दिएको छ । आर्थिक बर्ष २०७४÷०७५ देखि महालेखाले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा राय सहित लेखापरीक्षण गर्दै आएको छ । तर खर्चमा न्युनिकरण भन्दा बढ्दै जान थालेको तथ्याङकले देखाएको छ ।

पालिकाहरुले गर्ने भ्रमण, अनुगमनमा पनि ठुलो रकम खर्च भएको महालेखाको प्रतिवेदनले देखाएको छ । जिल्लाका ११ ओटा पालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा भ्रमण, अनुगमनका नाममा २ करोड ५१ लाख ७० हजार रकम खर्च गरेका छन् । भ्रमणको उद्देश्य, प्रतिवेदन, दुरी, सवारीसाधनको टिकट समेतको अभिलेख नराखी खर्च लेख्ने गरेको भन्दै महालेखाले टिप्पणी उठाएको छ । भ्रमण र अनुगमनका नाममा सबैभन्दा बढी गल्याङ नगरपालिकाले खर्च गरेको छ भने सबैभन्दा कम वालिङ नगरपालिकाले गरेको छ । गल्याङ नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा भ्रमण, अनुगमनका नाममा ३५ लाख १७ हजार खर्च गरेको छ । त्यसैगरी चापाकोट नगरपालिकाले २३ लाख ५७ हजार, पुतलीबजारले २१ लाख, भीरकोटले १८ लाख ९० हजार र वालिङ नगरपालिकाले १७ लाख ७२ हजार रकम भ्रमण र अनुगमनका नाममा खर्च गरेका छन् ।

गाउँपालिका तर्फ आर्थिक बर्ष २०७८÷०७९ मा भ्रमण र अनुगमनका नाममा बिरुवा गाउँपालिकाले सबैभन्दा धेरै रकम खर्च गरेको छ भने सबै भन्दा कम फेदिखोला गाउँपालिकाले गरेको छ । बिरुवाले ३० लाख ९७ हजार रकम भ्रमण र अनुगमनका नाममा खर्च गरेको महालेखाले देखाएको छ । त्यसैगरी हरीनास गाउँपालिकाले ३० लाख ९६ हजार, अर्जुनचौपारीले २१ लाख ३० हजार, कालीगण्डकीले २० लाख ९७ हजार, आँधीखोलाले २० लाख र फेदिखोला गाउँपालिकाले १६ लाख ८१ हजार रकम भ्रमण र अनुगमनका नाममा खर्च गरेका छन् । भ्रमण र अनुगमन खर्चलाई व्यवस्थित गर्न महालेखाले सुझाव दिएको छ ।
२०७४ मा निर्वाचित भएका जनप्रतिनिधिहरुको यो अन्तिम कार्यकालको खर्च हो । २०७९ बैशाखमा भएको दोस्रो पटकको स्थानीयतहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले गरेको खर्च प्रतिवेदन भने आगामी आर्थिक बर्षमा आउने छ । पहिलो निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले धेरै अनुत्पादक र वितरमुखी बजेट वितरण गरे भन्ने आरोप खेपीरहेका बेला दोस्रो पटकको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको कार्यकुशलता भने हेर्न बाँकी छ ।

 

प्रतिक्रिया