गल्याङ्का मेयरको एक्सन— एकहप्तामा घर—घरमा खानेपानी

स्याङ्जा ।
गल्याङ् नगरपालिका ११ जिमुवा टोलका जनता खानेपानीको समस्याबाट ग्रसित भएको लामो समय भयो । खानेपानीको समस्या लिएर वडा देखी नगरपालिका धाउन थालेको झण्डै ३ बर्ष भयो । तर उनीहरुको समस्यामा सुनुवाई भएन । २०७९ सालमा दोस्रो पटक स्थानीयतहको निर्वाचन भएपछि नयाँ मेयरले खानेपानी समस्या समाधानमा चासो दिने विश्वास उनीहरुले लिएका थिए । लामो समय नयाँ मेयरले खानेपानीमा चासो दिने पर्खाइमा रहेका जिमुवासी एकहप्ता अगाडी नगरपालिका पुगेर पानीको समस्या सुनाए ।

पटक—पटक विगतका मेयरलाई खानेपानीको समस्या सुनाउदा सुनुवाई नभएको गुनासो वर्तमान नगर प्रमुख गुरुप्रसाद भट्टराईलाई स्थानीय सुनाए । खानेपानीको मुहान छ, ट्याङ्की पनि छ तर पाईप नहुँदा खानेपानीबाट बन्चित भएको गुनासो उनीहरुले नगर प्रमुख भट्टराईलाई सुनाए । भट्टराईले एकहप्ता भित्र स्थानीयलाई खानेपानीको व्यवस्थापन गरिदिने आश्वसान दिएपछि स्थानीय ढुक्क भएर घर फर्के । नगर प्रमुखले स्थानीयको समस्याको तत्काल सुनुवाई गर्दै खानेपानीको समस्या भोगिरहेका जिमुवावासीलाई एक हप्ताभित्र घर—घरमा पुग्नेगरी समस्या समाधान गरिदिएका छन् । लामो समयदेखी खानेपानीबाट पिडित भएका यहाँका स्थानीयहरु शनिवार घर—घरमा पानी आएपछि निकै हर्षित देखिएका छन् ।

जिमुवा गाउँमा रहेको १५० घरधुरीलाई प्रसस्त खानेपानी पुगेको छ । नागरिकको हरेक समस्यामा स्थानीय सरकार छ नगर प्रमुख भट्टराईले भने,‘सिमित साधनश्रोतका बावजुतपनि नागरिकको समस्या समाधानमा स्थानीय सरकार साथमा छ ।’ खानेपानी जस्तो संवेदनशिल बिषयमा नागरिकले दुःख पाउनु हुदैन उनले भने । सबै नगरवासीलाई दिर्घकालिन योजना बनाएर बृहत खानेपानी योजना अगाडी सार्दै छौं उनले भने । समृद्ध नगर बनाउने सोचमा हामी अगाडी बढीरहेका बेला खानेपानीबाट नागरिकले दुख पाउने बिषयले समृद्धिको यात्रामा बाधा पुग्ने भट्टराईले बताए । खानेपानी पुगेपछि स्थानीयहरुले स्थानीय सरकार रहेको महशुष भएको बताएका छन् । जनताको दुखका साथ दिने जनप्रतिनिधि हुने हो भने विकासमा कुनै समस्या नहुने स्थानीय सरस्वती डुम्रेले बताइन् । उनका अनुसार पानीकै कारण बसाईसराई गर्नुपर्ने बाध्यता सम्म आई लागेको थियो । तर अब केही हदसम्म भएपनि समस्या समाधान भएको डुम्रेले बताइन् ।
तत्काल समाधानका लागि ८ लाख खर्चेर खानेपानीको व्यवस्थापन गरेको वडा अध्यक्ष दलबहादुर सिंजालीले बताए । दिर्घकालिन समस्या समाधान हुनेगरी वडाले कार्य योजना बनाएर अगाडी बढाउने अध्यक्ष सिंजालीले बताए ।

 

प्रतिक्रिया