‘उद्यमी अनुदानमा बिभेद भएको गुनासो’

स्याङ्जा ।
पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हितसंरक्षण निर्देशनालय गण्डकी प्रदेशले आयोजना गरेको एक कार्यक्रममा महिला उद्यमीहरुले अनुदानमा विभेद हुनेगरेको गुनासो गरेका छन् । उद्योग वाणिज्य क्षेत्रका व्याक्ति पदाधिकारीहरु सगँ अन्तरक्रिया कार्यक्रममा महिला उद्यमीहरुले सक्कली भन्दा नक्कली उद्यमीहरुलाई अनुदान वितरण गरेर विभेद गरिएको गुनासो व्यक्त गरेका हुन् । राजनीतिक आडमा सरकारले वितरण गर्ने अनुदानमा काम गर्नेलाई भन्दा काम नगर्नेलाई वितरण हुँदा सक्कली उद्यमी मर्कामा परेको दुखेसो उनीहरुको थियो । वालिङकी उद्यमी महिला दुर्गा न्यौपानेले राजनीतिक आडमा काम नगर्ने व्याक्तिलाई अनुदानका सामाग्री तथा रकम दिनेगरेको तथ्याङ्क आफुसगँ रहेको खुलासा गरिन् ।

गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रालयका सचिवको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रममा महिला उद्यमी न्यौपाने लगायत आधा दर्जन महिलाहरुले मुल्याङकनका आधारमा अनुदान वितरण गर्न ध्यानाकर्षण गराएका थिए । बैंक तथा वित्तिय संस्थाहरुले कोभिडका बेला प्रदेश सरकारले दिएको सहुलियत कर्जामा समेत अनियमिता भएको न्यौपानेको आरोप छ । झोले व्यपारीलाई सहुलियत कर्जा प्रवाह गरेर बैंकहरुले उद्यमी गरेका महिलाहरुलाई यस्तो सेवाबाट बन्चित गरेको गुनासो उनीहरुको छ । उनीसगै अर्की महिला उद्यमी भगवती पराजुलीले उद्यममा कर्मशिल महिलाहरुले तालिम, गोष्ठि र सेमिनार कार्यक्रम समेत थाहा नपाउने गरिएको बताइन् । पहुँचवाला र राजनीतिक आडमा आफ्ना मान्छेहरुलाई मात्रै त्यस्ता कार्यक्रममा सहभागी गराउने गरेको उनको गुनासो थियो ।

लामोसमय देखी व्युटिसियन गर्दै आएकी दुर्गा थापाको पनि गुनासो उस्तै थियो । कम्तिामा काम गरिरहेका महिला उद्यामीहरुलाई तालिम र अनुदानमा सहभागी गराउनुहोस उनले भनिन्,‘जसले उद्यमी महिलाहरुलाई व्यवसायमा थप प्रोत्साहन मिल्नेछ ।’ कस्ता व्याक्तिले अनुदान पाउने हो मापदण्ड बनाउनुहोस उनले भनिन् । मापदण्ड नहुँदा आयआर्जनमा नजोडिएका व्यक्तिले अनुदान पाउन थालेका छन् जसले सरकारले ल्याएको नीति तथा कार्यक्रमको दुरुपयोग भएको थापाको भनाई थियो ।

अन्तरक्रियामा वालिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गाना, मन्जु केसीले अनुदान वितरणमा मनपरी भएको भन्दै मापदण्ड बनाएर मात्रै वितरण गर्न आयोजकलाई सुझाएका थिए । महिलाहरु उद्यमी बन्न धेरै चाहेका छन् भन्दै उनीहरुले हामीसगँ भएको साधन र श्रोतको पहिचान गरेर तालिम दिन आग्रह गरे । महिला उद्यमीहरुले उठाएको गुनासोले आफु गम्भिर बनेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव गुमान सिंह गुरुङ्ले बताए । आगामी दिनमा यस्ता कार्यक्रममा सबै संवेदनशिल बन्नुपर्ने निर्देशन दिदै बस्तुस्थिती बुझेर मात्रै कार्यक्रम अगाडी बढाउन आग्रह गरे ।
गण्डकी प्रदेश सरकारले एक पालिका, एक औद्योगीक ग्रामको अवधारणा अगाडी सारेको छ । औद्योगीक ग्राम बाट उत्पादन र बिक्रिलाई एउटै थलोबाट कारोवार गर्न सहजता गराउने उदेश्य लिएको छ । वालिङ नगरपालिकाले औद्योगिक ग्राम बनाउन ढिलाई गर्दा काम गर्न चाहेका महिला उद्यमी तथा पुरुष व्यवसायीले काम गर्न नपाएको मन्त्रालयको भनाई छ । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण र कविता तिवारीले छिट्टै औद्योगिक ग्राम संचालन गर्नेतर्फ ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अन्तरक्रियमा निर्देशनालयका निर्देशक प्रविण ढकाल, अधिकुतहरु रामप्रसाद आचार्य, शिवजी बराल, ठाकुर प्रसाद ढकाल, प्रदिप रेग्मी र नारायण प्रसाद ढकालले बाणिज्य क्षेत्रको विकास तथा विस्तारमा सबै सरोकारवालाहरुले चासो दिएमा समृद्ध प्रदेश बन्नेमा सुझाव दिएका थिए । वालिङ उद्योग वाणिज्य संघ, वालिङ चेम्वर अफ कर्मस, महिला उद्यमी, होटल व्यवसायी, घरेलु उपभोक्त महासंघ, पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया