फलफूलमा आत्मनिर्भरको प्रयास— स्याङ्जामा सुन्तलाखेतीमा आकर्षण बढ्दै
श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
सुन्तला एक प्रकारको फल हो । यो चिसो, घमाईलो दुबै ठाउँमा लगाउन सकिन्छ । सुन्तालालाई चाहिने प्रकृतिले दिएको हावापानी अनुसार स्याङ्जा सुन्तला प्रसस्त फल्ने जिल्ला हो । विभिन्न भागमा सुन्ताल हुनसक्ने प्रारम्भिक अनुमान पछि सरकारले लागुगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याङ्जामा सुन्तला सुपरजोन कार्यक्रम संचालनमा छ । आर्थिक बर्ष २०७३÷०७४ बाट स्याङ्जामा सुन्तला सुपरजोन कार्यक्रम चल्दै आएको छ । यो कार्यक्रमले सुन्तला खेती गर्न चाहाने किसानलाई समट्ने, सुझाव दिने, तालिम लगायत उपकरण उपलब्ध गराउदै जिल्लालाई सुन्तालामा आत्मनिर्भर बनाउने गरी अगाडी बढेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भैसी जोन, फलफुल जोन, मसलाजोन कार्यक्रम पनि समेट्दै आएको छ । किसानको आवश्यकता र मागका आधारमा परियोजनाले क्षेत्रगतरुपमा यी कार्यक्रम संचालन गर्दै आएको जनाएको छ । परियोजनाले संचालन गरेको कार्यक्रम मध्ये सबैभन्दा बढी आकर्षणको केन्द्र सुन्तला बनेको कार्यालयको भनाई छ । सुन्तलाको पकेट जिल्लाको रुपमा चिनिएको स्याङ्जा यो कार्यक्रम आएपछि सुन्तला खेतीगर्ने किसानहरुको संख्या हरेक बर्ष बढ्दै जान थालेको परियोजना प्रमुख माधव लम्सालले बताए ।
अहिले सम्म यो कार्यक्रमले समुहगत बनाएर सुन्तला खेतीमा आर्कषित गर्दै आएको छ । पुतलीबजार, वालिङ र भीरकोटमा चक्लाबन्दी कार्यक्रम मार्फत सुन्तला लगाउन किसानहरुलाइृ अभिप्रेरित गरेको छ । जसले किसानलाई राम्रो आम्दानीको श्रोत निरन्तर रहने देखिन्छ । परियोजनाका प्रमुख लम्सालका अनुसार पुतलीबजार नगरपालिका ११, वालिङ नगरपालिका १३ र भीरकोट नगरपालिका ५÷७ नम्वर वडामा चक्लाबन्दी मार्फत सुन्तला खेती शुरु गराइएको छ । यस्तोक्रम हेरिरहदा हरेक बर्ष सुन्तला खेती गर्ने किसानको माग बढ्दै आउन थालेको परियोजनाको तथ्याङकले देखाउछ । १२ सय हेक्टरबाट शुरु गरिएको सुन्तला खेती हाल जिल्लामा २२ सय हेक्टरमा पुगेको छ ।
बाँदर लगायत जंगली जनाबरबाट बालीनालीमा आजित बनेका स्याङ्जाका किसानहरु सुन्तलाले केही राहत दिने महशुष गरेको बताउदै आएका छन् । यो बर्षबाट वालिङ १३ पाखापानीका किसानहरुले समुह बनाएर सुन्तला खेती शुरु गरेका छन् । कालीका सुन्तला समुह बनाएर २५ घरधुरीका किसानले सामुहिक सुन्तलाका बिरुण लगाएका छन् । समुहका अध्यक्ष भुपराज जिटीले झण्डै ४ सय रोपनीमा ४२ सय सुन्तलाका बिरुवा लगाएर यो बर्षबाट सुन्तला खेती तर्फ लागेको बताए । बाँदर, दुम्सी र मृगले मकै, कोदो खेती गरेर खान नदिएपछि हामी बैकल्पिक खेतीतर्फ आकर्षित भएको जिटीको भनाई छ ।
मकै र कोदो लगाउन छाडेर यहाँका किसान अहिले परियोजनाको सुझावका आधारमा सुन्तला खेती शुरु गरेका छन् । अहिले लगाएका सुन्तलाबाट ४ बर्षपछि आम्दानी दिनेमा समुहका अध्यक्ष जिटी लगायत सबै विश्वस्थ छन् । सुन्तला गोडमेलमा अहिले यहाँका किसान व्यस्त देखिएका छन् । परियोजनाले यहाँका किसानलाई सिंचाईका लागि ट्याङ्की, पाईप, हाते ट्याक्टर र बिरुवा अनुदानमा उपलब्ध गराइदिएको समुहकी सदस्य चन्द्रकला जिटीले बताइन् । सुन्तला खेतीमा हाम्रो लगाब बस्यो उनले भनिन्,‘अब हामीलाई बेला—बेलामा तालिम आवश्यक छ ।’ तन, मनले हामीलाई सुन्तला तर्फ आकर्षित गरेको छ उनले भनिन् । अहिले यहाँका किसान मकै बारीमा सुन्तला लगाएका छन् भने अर्को बर्ष भिरपाखामा लगाउने गरी तयारी थालेका छन् । भिरपाखाका जंगल फडानी गरेर आगामी बर्षका लागि जमिन तयारी बनाउने अभियानमा छन् ।
वालिङ १३ लाई सुन्तला लगायत फलफूल खेतीको आकर्षक केन्द्र बनाउने लक्ष्य रहेको वडा अध्यक्ष नोमलाल डुम्रेले बताए । केही किसानहरु मान्नु भएको छैन उनले भने,‘हामी सबैलाई अनुरोध गरिरहेका छौं ।’ वालिङ नगरपालिकाले एक वडा एक उत्पादन नीति ल्याउने तयारी गरिरहदा वडालाई फलफूल उत्पादन केन्द्र बनाउने अभियानमा छौं उनले भने । विभिन्न खालका फलफूल खेतीका लागि यहाँको माटो उपयुक्त मानिएको उनले बताए ।
परियोजनाका प्रमुख माधव लम्सालका अनुसार अबको १० बर्षपछि स्याङ्जाका भिरपाखा सुन्तलामय बन्ने विश्वास लिएको बताएका छन् । स्याङ्जाको आम्दानीको मुख्य श्रोत सुन्तला हुने छ उनले भने,‘यहाँको माटो सुन्तला खेतीका लागि उपयुक्त देखिएको छ ।’ भिरपाखालाई जंगल बनाउन भन्दा फडानी गरेर सुन्तला लगाउन किसानलाई सुझाइरहेका छौं उनले भने । यो बर्ष मात्रै जिल्लाबाट झण्डै १ अर्ब २५ करोडको सुन्तला बिक्रि भएको दावी गरिएको छ ।
प्रतिक्रिया