वालिङको सार्वजनिक सुनुवाई — मेयर—उपमेयरप्रति नागरिकको गुनासै गुनासो

वालिङ ।
स्थानीयतहले एक बर्षमा ३ पटक अथवा चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपर्ने कानुनी व्यवस्था छ । चौमासिकरुपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई वालिङ नगरपालिकाले एक बर्षमा एक पटक मात्रै गरेको छ । दुईवटा सार्वजनिक सुनुवाई गर्न असफल भएको वालिङले बल्ल—बल्ल जेठ २६ गते वालिङ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न गरेको छ । नगरपालिकाले “कृषि, उद्योग, पर्यटन, उर्जा, सूचना प्रणाली र पूर्वाधार स्मार्टसिटी वालिङ निर्माणको आधार” भन्ने नारासहित सार्वजनिक सुनुवाई गरेको हो । सार्वजनिक सुनुवाईमा झण्डै दुईदर्जन नागरिकले प्रश्न र सुझाव पेश गरेका थिए ।

वालिङ ८ का स्थानीय रुपेन्द्र वगालेले जनप्रतिनिधिले हामीलाई दुख दिएको गुनासो गरे । उनले वडा नम्वर ८ का वडा अध्यक्ष दामोदर तिवारीलाई हटाएर तुरुन्तै अर्को वडा अध्यक्ष उपलब्ध गराईदिन नगरप्रमुख सगँ माग गरे । वडा अध्यक्षले गर्नुपर्ने कार्यसम्पादनका कारण वडावासीले धेरै दुख पाएको उनको गुनासो थियो । अर्का स्थानीय लिलबहादुर रनपालले विकास निर्माणमा दिर्घकालिन सोच नहुँदा हामीलाई दुख भएको गुनासो गरे । नयाँ बजारमा ढलको निकास नहुँदा हरेक बर्षादमा घरभित्र पानी पस्ने समस्याले दुख दिएको गुनासो गर्दै रनपालले यसको तत्काल दिगो निकास हुने काम गरिदिन अनुरोध गरे । सार्वजनिक सुनुवाईमा नगरपालिकाले गर्ने कार्यसम्पादनमा नागरिकले गम्भिर भएर गुनासो गरेका थिए । शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक लगायत पुर्वाधारका काममा कानुनी अफठ्यारा, अनुगमन, कार्यशैली लगायतका बिषयमा नगरपालिकाले ध्यान दिनुपर्ने धारणा राखेका थिए । नागरिकमैत्री योजना अगाडी सार्न नगरपालिकालाई उनीहरुको सुझाव थियो ।

त्यस्तै सार्वजनिक सुनुवाईमा नेपाली काँग्रेसका नगर सभापति नेत्रप्रसाद पाण्डेले स्थानीयतहहरुमा सुसाशन हराउदै जान लागेको प्रति लक्षित गर्दै विकास निर्माणका काममा नागरिकले नीतिगत झन्झट ब्यहोर्न परेको गुनासो व्यक्त गरे । स्थानीय सरकार नागरिकको नजिकको सरकार साथै जनताको प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएको बताउदै पाण्डेले नगरपालिकाले कतै बाटो बिरायो भने नगरवासी मारमा पर्न सक्छन् भन्ने उदाहरण पेश गरे । नगर र वाडले यस आर्थिक बर्षमा छुट्टाएका योजनाहरु सार्वजनिक सुनुवाई हुने मिति सम्म केही संख्यामा सम्झौता हुन नसक्नु दुर्भाग्य भएको पाण्डेले औल्याए । यसले नगरपालिकाले हेक्का नपु¥याई छनोट गरिएका योजनाले नगरपालिका कता जादै छ भन्ने चित्रण गरेको आरोप लगाए ।

२०५७ सालदेखी खनिएका कच्ची सडकको हालत अहिले सम्म ज्युका त्यूँ रहेका छन् । हरेक बर्ष एक—एक सडक पक्की बनाउने अभियानलाई अगाडी सार्न पाण्डेले सुझाव दिए । नगरपालिकाको विकासका लागि नेपाली काँग्रेस सदैव हातेमालो गर्न तयार रहेको पाण्डेले बताए । नेकपा एमालेका वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलेले नगरपालिकामा सत्तापक्ष र प्रतिपक्षको बिषयमा प्रश्न गरेका थिए । मेयर र उपमेयर मध्ये को सत्तापक्ष हो र प्रतिपक्ष हो उनले भने,‘मेयर सत्तापक्ष हो भने प्रवक्ता मेयरको हुनुपथ्यो, मेयर प्रतिपक्ष हो भने लेखा समितिको संयोजक हुनुपथ्यो ।’ दुबै बिषयमा न्यायोचित बाडफाँड नभएको आरोप उनले लगाए ।

एमाले अध्यक्ष पौडेलले नगरपालिकाको लेटर हेडको दुरुपयोग गरी कार्यबहाक उपप्रमुख दिने, नीजिक्षेत्र माथी अध्ययन नगरी हस्तक्षेप गर्न खोज्ने, बजेट र नीति तथा कार्यक्रम फरक—फरक हुने, अनुगमनमा फितलो जस्ता बिषयले वालिङको गरिमामा आँच आउने काम भएको आरोप लगाए । उनी लगायत अन्य राजनीतिकदलका प्रतिनिधि र दर्जनौ सेवाग्राहीले जनप्रतिनिधि र कर्मचारीको कार्यशैली प्रति गुनासो गरेका थिए । नगरपालिकाले नीति तथा कार्यक्रम बनाई वार्षिक बजेट निर्माण गर्ने बेलामा सार्वजनिक सुनुवाई गर्नु उचित समय नभएको सहभागीहरुको गुनासो थियो । शिक्षा र स्वास्थ्य सर्वसुलभ गराउन नगरपालिकाको ध्यान जानुपर्ने भन्दै निजी विद्यालय र स्वास्थ्य संस्था मापदण्ड अनुसार चलेका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्ने विचार सहभागीहरुको छ । आँधीखोला उत्खनन्, सरसफाईमा देखिएको समस्या, बजार व्यवस्थापनका बिषयमा पनि सहभागीहरुले प्रश्न राखेका थिए । कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ दिदै नगर प्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहयोग पुगोस भनेर अन्तिम समयमा आएर सार्वजनिक सुनुवाई गरिएको बताए । उनले नगरबासीहरुको सुझाव तथा सल्लाहलाई गायत्री मन्त्रकारुपमा लिने र काम गर्नका लागि मार्गदर्शक हुने विश्वास व्यक्त गरे ।

जनप्रतिनिधि विज्ञ छैनौं भन्दै नगर प्रमुख खाँणले भने,‘सबैलाई साथमा लिएर काम गर्ने छौं ।’ वालिङलाई सिकाईकोरुपमा लिनेगरी काम गर्ने भन्दै अघिल्लो समयका जनप्रतिनिधिले गरेका राम्रा कामलाई निरन्तरता दिएर अगाडि बढ्ने छौं उनले भने । आँधिखोला उत्खनन्को विषयमा उठेका प्रश्नको जवाफमा नगर प्रमुख खाँणले खोला दोहनको विषय देशैभरिको समस्या भएकाले यस बिषयलाई बहसकोरुपमा लैजाने विश्वास दिलाए । सिद्धान्त र राजनीति जीवनका लागि हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कुनै दल वा व्यक्ति भन्दा पनि आम नागरिकको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कृषिमा आमूल परिवर्तन गर्ने योजना अगाडी बढाउने लक्ष्य नगरपालिकाको रहेको आयोजकको भनाई थियो । बाँदरले नगरवासीले लगाएको खेती नष्ट सगै खाइदिएर दुख दिनेगरेको समस्याले हैरानी परेकाले यसलाई नियन्त्रण गर्न छुट्टै खालको योजना अगाडी सार्ने आयोजकले दावी गरेको छ ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले कार्य व्यस्तता र प्राविधिक कारणले पटक पटक सार्वजनिक सुनुवाई गर्न नसकिएको बताए । शैक्षिक सुधारका लागि अनुगमन टोली खटाइएको र टोलीले पेश गरेको प्रतिवेदनका आधारमा शैक्षिक सुधार कार्यक्रम लागु गरिने उनले बताए । अहिलेसम्म वार्षिक बजेटको ५५ प्रतिशत मात्र खर्च भएको र बाँकी काम र खर्च नहुनुमा नागरिकहरु पनि जिम्मेवार रहनुपर्ने बताए । योजना छनोट गर्ने तर समयमा सम्झौता गर्न नगरवासी नआउने हुँदा काम हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । उपप्रमुख कविता तिवारी, निवर्तमान नगर प्रमुख दिलिपप्रताप खाँण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे लगायतले रचनात्मक सुझाव दिएका थिए ।

यो वर्ष नगरपालिकाले गरेका विकास निर्माण सम्बन्धी जानकारीसहित नगरबासीको गुनासा, सुझाव तथा सल्लाह लिने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा सेवा प्रवाहकाबारेमा जानकारी गराएपछि सहभागीहरुलाई समय दिइएको थियो ।

 

प्रतिक्रिया