‘पुर्वानुमान नभएको सरुवा प्रणालीले कार्यसम्पादनमा समस्या’
शशिधर घिमिरे,
प्रमुख जिल्ला अधिकारी,
स्याङ्जा ।
गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रुपमा अहिले शशिधर घिमिरे कार्यरत छन् । पुख्र्यौली घर गुल्मी भएको र हाल पनि गुल्मीमै बसोबास गर्दै आएका घिमिरेले निजामती सेवामा झन्डै १८ वर्ष बिताएका छन् । यसअघि अर्घाखांचीको प्रजिअको रुपमा कार्यरत घिमिरे ५ महिना अघि प्रजिअकै रुपमा स्याङ्जा सरुवा भएका हुन् । घिमिरे इमान्दार र स्वच्छ प्रशासकको छवि बनाएका निजामती कर्मचारी हुन् । निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ घिमिरेलाई यसपालिको पब्लिक आवाजको अन्तरवार्तामा निम्त्याएका छौं । संविधानले परिकल्पना गरेको कुरा कार्यान्वयन गर्ने भनेकै कर्मचारी संयन्त्रले भएको प्रजिअ घिमिरेको बुझाइ छ । ‘संविधानले परिकल्पना गरेको कुरा कार्यान्वयन गर्ने भनेको कर्मचारी संयन्त्रले हो । जनप्रतिनिधिहरुले घोषणापत्रमा प्रतिबद्ध गरेको कुरा पनि कर्मचारीले नै कार्यान्वयन गर्ने हो,’ प्रजिअ घिमिरेले पब्लिक आवाजसँग भने, ‘त्यही कारण कर्मचारी संयन्त्रलाई चुस्त–दुरुस्त, छिटो सहज, बलियो सुदृढ बनाउन सबै दल जुनसुकै सरकारले एकखालको वातावरण बनाउन आवश्यक छ जस्तो लाग्छ ।’ स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश ः
१. नमस्कार सिडिओ साब आराम हुनुहुन्छ ? निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित ग¥यो ?
आराम छु । यो अवसरका लागि पब्लिक आवाजलाई धन्यवाद दिन चाहन्छु । निश्चित तहको शैक्षिक योग्यता हासिल गरेपछि जब व्यवसाय ÷ पेशा छनौटको समय आयो, आफ्नो योग्यता क्षमताको प्रदर्शन मार्फत थप आर्थिक लगानी विना प्रवेश गर्न सकिने क्षेत्रका रुपमा मैले निजामती सेवा देखें । स्वच्छ, निष्पक्ष छनोट प्रक्रिया अवलम्वन हुने र विभिन्न खालको पहुँचको प्रभाव नपर्ने भएकोले पनि यसतर्फ लाग्न प्रेरणा मिल्यो । निजामती क्षेत्रमा रहेर काम गर्दा जुन आत्मसन्तुष्टि मिल्छ त्यो अन्त नमिल्न सक्छ भन्ने लाग्यो । आफ्नो वृत्ति विकासका साथ जुनसुकै भुगोल र समुदायसँग बसेर काम गर्ने अवसरले पनि लोभ्यायो, जसले गर्दा निजामती सेवा प्रवेश गरियो ।
२. अहिले निजामती सेवातर्फ नयाँ पुस्ता कत्तिको आकर्षित छन् ?
निजामती सेवामा आकर्षणको विषयलाइ दुई पाटोबाट हेर्नुपर्छ भन्ने मलाई लाग्छ । लोक सेवा आयोगले निजामती सेवाका पदहरुमा विज्ञापन गर्दा हजारौंका संख्यामा आवेदन पर्ने र उच्च प्रतिस्पर्धा भएकोले निजामती सेवामा अझै पनि आकर्षण घटेको भन्ने अवस्था छैन । निजामती सेवा अन्तर्गत संघ, प्रदेश र स्थानीय तह तीनै तहमा आकर्षण छ । अर्को पाटोबाट हेर्ने हो भने प्रतिभावान युवाहरु निजामती सेवाले भित्राउन नसकेको अवस्था छ । मुलुकले प्रतिभा पलायनको चर्को मार बेहोर्नुपरेको अवस्थाले गर्दा निजामती सेवाले मेधावी जनशक्ति प्राप्त गर्ने प्रसंग नै रहेन । मुलुकले ठूलो लगानी गरेर क्षमतावान युवा तयार गर्ने विकसित मुलुकले त्यस्तो जनशक्ति आर्थिक श्रोतसहित छानी छानी लैजाने कहालीलाग्दो अवस्था छ । यसै देशमा सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा केही गर्न सकिन्छ भन्ने आशा संचार हुन नसक्दा युवाहरुको आकर्षण निजामती सेवा हुन सकेको अवस्था छैन ।
३. निजामती सेवामा किन छिटो सरुवा हुन्छ ? यसले कार्य सम्पादनमा कस्तो असर पार्दछ ?
निजामती सेवा ऐन र नियमावलीले भौगोलिक अवस्थाका आधारमा बर्गीकरण गरी कर्मचारीले एउटा जिल्ला वा कार्यालयमा काम गर्नुपर्ने न्यूनत्तम सेवा अवधि तोकेको छ । हिमाली जिल्लामा १ वर्ष दुर्गम पहाडी जिल्लामा डेढ वर्ष र अन्य जिल्लामा २ वर्षको अवधि निर्धारण गरेको छ । तर व्यवहारमा यसको पुर्ण पालना भएको छैन । राजनीतिक अस्थिरता÷दलीय ट्रेड युनियन, कर्मचारी तथा राजनीतिक नेतृत्वको निहित स्वार्थका कारण स्थायी सेवाका रुपमा चिनिने निजामती सेवा अझ बढी अस्थिर बनिरहेको अवस्था छ । छिटोछिटो हुने सरुवाले कार्य सम्पादमा प्रत्यक्षरुपमा प्रभाव पार्ने देखिन्छ । एउटा कर्मचारी कुनै जिल्लामा आएर त्यहाँको भौगोलिक, राजनीतिक, सामाजिक परिवेश बुझ्न, सम्भावना र चुनौतिहरुबारे जानकार हुन निश्चित समय लाग्छ । प्रत्येक व्यक्तिका आनीवानी र कार्यशैली फरक फरक हुन्छन् । व्यक्तिले अर्को व्यक्ति बुझ्न पनि समय लाग्ने भएकोले काम गराईको तिव्रतामा असर पर्दछ, परिवेश बुझ्न पाएको हुँदैन सरुवा भइसक्छ । कार्यालय वा संगठन भित्रकै जनशक्ति बीच टिम स्पिरिट नबन्दा कार्य सम्पादन प्रभावकारी हुँदैन । अझ कार्यालय प्रमुख÷आयोजना प्रमुखहरुको परिवर्तनले कार्य सम्पादनमा झनै बढी असर पर्ने देखिन्छ ।
४. संघियता अघि र संघियता पछि सेवा प्रवाहमा के फरक पाउन सकिन्छ ?
संघियता अघि धेरै सेवाहरु प्राप्तिका लागि जिल्ला र केन्द्रस्तरमा पुग्नुपर्ने बाध्यता थियो भने संघियता पछि धेरै अधिकार र सेवाहरु स्थानीय तहमा पुगेको अवस्था छ । यद्यपी जनचाहना अनुरुप सेवा प्रवाहको अवस्था परिवर्तन भइसकेको भने छैन । स्थानीय तहबाट दिने भनिएका मालपोत, नापी सम्बन्धी विषयहरु हस्तान्तरण भएका छैनन् । हस्तान्तरण भएका सहकारी नियमन, महिला बालबालिका जस्ता सेवाहरु अपेक्षितरुपमा प्रभावकारी भएका छैनन । संघ, प्रदेश र स्थानीय तहबाट प्रदान गरिने तमाम सेवाहरु डिजिटाइजेसन हुने चरणमा छन् र सफ्टवेयर मार्फत सुरक्षित अभिलेख सहित सेवा प्रवाह हुन थालेका छन् । हामी सेवा प्रवाहमा डिजिटाइजेसनको संक्रमणको चरणमा छौं तर अपेक्षितरुपमा सेवाप्राह सरल भने भइनसकेको अवस्था छ । शिक्षा, कृषि, खानेपानी सम्बन्धी सेवाहरु संघ, प्रदेश र स्थानीय तहमा हुँदा झन दोहोरो, तेहोरो र अलमलको अवस्था छ । समग्रमा सेवाहरु नागरिकको नजिक पुगेका भएपनि थप सुधारको गुञ्जायस छँदैछ ।
५. सेवाग्राहीको समस्या समाधानमा आफू कत्तिको सरल भएजस्तो लाग्छ ?
प्रमुख जिल्ला अधिकारी समक्ष आइपुग्ने सबै सेवाग्राहीलाई मैले सकेसम्म सन्तुष्ट पार्ने प्रयास गरिरहेको हुन्छु । मेरो अधिकार र कार्यक्षेत्र भित्र पर्ने विषयमा सेवाग्राहीका समस्या समाधान गर्न सफल नै भएको छु । तर प्रमुख जिल्ला अधिकारीसँग नागरिकको धेरै अपेक्षा पनि छ । समस्याका सबै विषय मेरो क्षेत्राधिकारमा पर्दैनन् । अन्य निकायले आफ्नो जानकारी पुरा नगरी काम विग्रँदा प्रमुख जिल्ला अधिकारी समक्ष आउने भएकोले समन्वयात्मक र सार्वजनिक अधिकारीहरुलाइ जिम्मेवार बनाउने काम पनि त्यत्तिकै छ । त्यसैले सबैको समाधान हुन्छ नै भन्ने छैन । नियम कानून अनुसार नमिल्ने, नसकिने विषयमा तपाईको यो कारणले गर्न सकिंदैन भनी विनम्रतापूर्वक जानकारी गराउँदा सेवाग्राही पनि सन्तुष्ट हुनुहुन्छ ।
६. आफूबाट सम्पादन भएको कार्यबाट सेवाग्राही खुशी भएको पल जसले तपाईंलाई पनि सन्तुष्ट बनाएको कुनै घटना छ कि ?
आफूले गरेका कार्यसम्पादनबाट सेवाग्राही सन्तुष्ट भएर खुशी सहित धन्यवाद दिएका धेरै घटनाहरु छन् । स्याङ्जा जिल्लामै काम गर्दा पनि यस्ता थुप्रै घटना छन् । कुनै विषयमा जरिवाना, दण्ड, सजायँ सहित विषय टुँगिदा पनि खुशी भएका तमाम विषयहरु छन् । विकास निर्माणका काममा भएका विवाद समाधान गर्दा सम्बन्धित सरोकारवालाको खुशीको सीमा रहँदैन ।
७. कामका दौरानमा कस्ता कस्ता दबाब आउँछन् ?
कामका दौरानमा आफू वा आफ्नो पक्षको फाइदाका लागि सम्बन्धित सरोकारवालाले चासो लिनु र भनसुन गर्नु हामीकहाँ सामान्य जस्तै हो । नियम कानून बमोजिम काम गर्ने हो भने दबाबको खासै समस्या हुँदैन । स्याङ्जा जिल्लाको हकमा मैले खास त्यस्तो दबाव महशुस गरेको छैन । कसैले भनसुन गरेको भन्दा सिधै सेवाग्राहीले मेरोमा राखेको समस्यालाई म अझ बढी गम्भिरतापूर्वक हेर्दछु । दबाबका आधारमा काम गर्ने मेरो कार्यशैली छैन ।
८. सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कस्तो खालको संयन्त्र बनाउनु भएको छ ?
जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवालाई सरल र सहज बनाउन कार्यालयमा कार्यरत सबै कर्मचारीहरु निरन्तर लागिरहेका छौं । सम्बन्धित शाखाबाट सम्पादन भएको कार्यप्रति सन्तुष्ट नभएमा सहायक प्रमुख जिल्ला अधिकारी समक्ष र म प्रमुख जिल्ला अधिकारी समक्ष राख्नसक्ने व्यवस्था मिलाएका छौं । नागरिकका समस्या समाधानका लागि हामि हरदम प्रयत्नशिल छौँ । वडा र पालिका तहवाट समाधान हुने बिषयहरु कतिपय राजनीतिक पुर्वाग्रहले गर्दा जिल्लामा आउनुपर्ने अवस्था छ । सेवाग्राहीका लागि मेरो कार्यकक्षमा सहज पहुँच छ । कुनै समस्या भएमा सेवाग्राही सिधै आउनुहुन्छ र मैले सहजीकरण गर्ने गरेको छु ।
९. अव बर्षातको समय छ । बाढी तथा प्राकृतिक घटनाको पूर्वतयारी कसरी गर्नुभएको छ ?
मनसुनको समय शुरु भएको छ । वर्षातको समयमा हुनसक्ने विपद्को पूर्वतयारीका लागि जिल्ला विपद् व्यवस्थापन समिति वैठक बसेर आवश्यक तयारी गरेका छौं । सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय तथा स्थानीय तहहरुले आफ्नो क्षेत्राधिकारमा पर्ने सडक सूचारु राख्न आवश्यक व्यवस्था मिलाउने गरी तयारी गरिएको छ । घटना घटिहालेमा तत्काल खोज र उद्दारका लागि सुरक्षा निकायहरु नेपाल प्रहरी, शसस्त्र प्रहरी वल र नेपाली सेना तयारी अवस्थामा रहेका छन् । सम्बन्धित विषयगत कार्यालयहरुले आ–आफ्ना विषय क्षेत्रमा आवश्यक पूर्वतयारी गर्न निर्णय र निर्देशन समेत भइसकेको छ । विपद् व्यवस्थापन स्थानीय तहको एकल अधिकार क्षेत्रमा पर्दछ । यसर्थ स्थानीय तह र समुदायलाई समेत सचेत र पूर्वतयारीका कार्य गर्न आग्रह गरिएको छ ।
१०. अन्त्यमा पब्लिक आवाज पत्रिकामार्फत आम नागरिकलाई के भन्न चाहनुहुन्छ ?
पब्लिक आवाज पत्रिकामार्फत सम्पूर्ण स्याङ्जावासी नागरिकहरु विशेष गरी जोखिमयुक्त ठाउँको वासिन्दाहरुलाई बर्षातको समयमा सचेत भई रहन आफू बसोबास गरिरहेको स्थानको जोखिम मूल्याङ्कन गर्न अनुरोध गर्दछु । विपद् सम्बन्धी कुनै समस्या परेमा नजिकको सुरक्षा निकायमा जानकारी गराउन हुन अनुरोध गर्दछु । साथै सेवाप्रवाह सम्बन्धी कुनै समस्या भए प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनु भएमा तपाईंका समस्या समाधानमा कानूनको दायरा भित्र रही तत्पर रहनेछु । धन्यवाद ।
प्रतिक्रिया