स्याङ्जामा देखियो लम्पी स्किन रोग

वालिङ ।
जिल्लामा पहिलोपटक पशुमा देखिने लम्पी स्किन रोग देखिएको छ । भीरकोट नगरपालिकामा ७ लोलुङा स्थित लालप्रसाद कोईरालाले पालेको गाईमा लम्पी स्किन रोग देखिएको हो । देशका बिभिन्न ठाउँमा पशुहरुमा लम्पी स्किन रोग देखिएको खबर आइरहदा स्याङ्जामा अहिले सम्म यो रोग भित्रिएको थिएन । जिल्लाका ११ पालिकाले लम्पी स्किन रोगबाट गाईभैसीलाई सुरक्षित राख्न उच्च सर्तकता अपनाउदै गर्दा मंगलबार भीरकोटमा घरमै पालिराखेको गाईमा यो रोग देखिएको छ । बाहिर चराउन समेत नछाडिएको बधुवा गाईलाई एक्कासी लम्पी स्किन देखिएपछि सतर्क रहन भीरकोट नगरपालिकाले आग्रह गरेको छ । कोइरालाको गोठमा रहेका दुई गाई मध्ये एउटा गाईको शरीरमा गिर्खा र ज्वरो देखिएको वडा अध्यक्ष ताराप्रसाद अर्यालले जानकारी दिए । लक्षण देखिएपछि अहिले प्राविधिकहरुले कोइरालाको घरमै पुगेर आवश्यक औषधी दिने कामसगै लम्पी स्किन देखिएको गाईलाई छुट्टै राखिएको अध्यक्ष अर्यालले बताए ।

लम्पी स्किन पशुहरुमा देखिने महामारी रोग भएकाले यसबाट बच्न गोठको सरसफाई, भ्याक्सिन, झिंगाहरुको टोकाईबाट बचाउनुपर्ने प्राविधिकहरुले बताएका छन् । भीरकोट नगरपालिकाले एक सूचना प्रकाशित गरी सतर्क रहन आग्रह गर्दै यसका लक्षण देखिएमा तुरुन्त नगरपालिकाको पशु शाखामा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।  यो रोग लागेपछि पशुहरुमा १०४ डिग्री ज्वरो आउने, घाँस, कुँडो कम खाने, झोक्राउने, दुहुना पशुले दुध घटाउँदै जाने, छालामा गिर्खा, गाँठा तथा फोकाहरु देखिने, थुतुनो, ओठ, मुख, नाक भित्र घाउ देखिने, ¥याल काड्ने, संक्रमण बढ्दै गएमा थुनेलो समेत हुने, पाठेघरमा असर गरी गर्भ तुहिने, गर्भ नरहने, लिम्फ नोडहरु सुनिने अन्त्यमा पशुहरुको मृत्यु समेत हुन सक्छ ।

यसबाट बच्न गोठ र मलखादको दुरी कम्तीमा ८ देखि १० मिटर टाढा बनाउने, पशु राख्ने गोठ वरपर सरसफाई तथा निसंक्रमण प्रक्रिया नियमित गर्ने, रोग देखा परेको १० किलोमिटर वरपर पशुहरुको किनवेच तथा आवातजावत नगर्ने नगराउने, रोगी र निरोगी पशुहरु छुट्टाछुट्टै राख्ने, झिगा, किर्ना, उपिया, लामछुट्टे, जस्ता किरा नियन्त्रणका लागी उपयुक्त किटनाशक तथा रसायनको प्रयोग गर्नुपर्ने पशु प्राविधिकहरुले जनाएका छन् । यो रोग अन्य ठाउँमा पनि सर्न सक्ने अनुमान गर्दै नगरपालिकाले सचेतना समेत फैलाएको छ । यो रोगबाट बचाउन नगरपालिकाले भ्याक्सिन समेत ल्याईसकेको जनाएको छ । बिहिवार वडाभित्र रहेका सबै पशुहरुमा भ्याक्सिन लगाउने तयारी रहेको वडा अध्यक्ष अर्यालले बताए । भीरकोटका पशुमा यो रोग देखिएपछि अन्य पालिकालेहरुले पनि सुचना जारी गर्दै सर्तकर्ता अपानाउन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया