स्याङ्जाका औषधी पसलमा अनुगमन

स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा सहित जिल्लाका केही पालिकाले औषधी पसल सहित बजार अनुगमन गरेका छन् । नयाँ आर्थिक बर्ष शुरु भएपछि पालिकाभित्र रहेका औषधी पसल सहित अन्य पसलहरु अनुगमन गरिएको हो । जिल्लामा अहिले सम्म ३ ओटा पालिकाले मात्रै औषधी पसलहरु अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । औषधी पसलहरुमा दर्ता, नविकरण र मापदण्ड अनुसारको सेवाका बिषयमा अनुगमन गरिएको बताइएको छ । अनुगमनका क्रममा औषधी पसलहरु र बिरामी चेकजाँच गर्ने क्लिनीकहरु पहिलो फेजमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सबै पालिकामा औषधी पसलहरुको अनुगमन गरी त्यसको अवस्था बारे जानकारी गराउन पत्रचार गरेको थियो । सोही बमोजिम पुतली बजार, चापाकोट नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाले अनुगमन गरेको बताइएको छ । अन्य पालिकाहरु भने अहिले सम्म बेखबर जस्तै बनेका छन् । अहिले सम्म गरिएका औषधी पसलहरु समग्रमा सुधारको अवस्थामा रहेको बताइएको छ । केही—केही पालिकामा भने अस्तव्यस्त रहेको बुझिएको छ । पुतलीबजारमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शोभाखर पोख्रेलको नेतृत्वमा ८ ओटा औषधी पसलहरुमा अनुगमन गरेको छ ।
विगतका बर्षहरुमा पनि अनुगमन गरिएकाले सदरमुकाम स्थित पुतलीबजारमा औषधी व्यवसाय सुधारात्मक रहेको पोख्रेलले बताए । पहिलो पटक सचेत मात्रै गराउने भएकाले केही पसलहरुलाई सोही खालको सुझाव दिएको बताइएको छ । अहिले जरीवाना गर्ने भन्दा पनि पसलहरु सरकारी मापदण्ड अनुसार सञ्चालन छन् या छैनन् भन्नेमा ध्यान थियो उनले भने,‘जति पसल अनुगमन गरियो सबै राम्रै देखियो ।’ अनुगमनको जिम्मेवारी सहित कारवाही गर्ने अधिकार स्थानीय सरकारलाई भएकाले सबै पालिकालाई कडाईका साथ अनुगमन गर्न निर्देशन दिएको उनले बताए ।

पुतलीबजारले स्वास्थ्य ऐन नबनाएकाले केही समस्या देखिएको छ प्रशासकीय पोख्रेलले भने,‘नगरपालिकालाई छिटो स्वास्थ्य निर्देशिका बनाएर अगाडी बढ्न सुझाव दिएका छौं ।’ स्वास्थ्य ऐन नहुँदा मापदण्ड विपरीत रहेका पसलहरुलाइृ कारवाहि वा जरिवाना गर्न कठिनाई भयो उनले भने । समग्रमा औषधी पसल र बिरामी जाच्ने क्लिनीकहरु सुधारात्मक देखिएको उनले बताए । स्वास्थ्य कार्यालय स्याङ्जालाई जिल्लाभरी स्वास्थ्य प्राविधिक खटाएर औषधी पसलहरु अनुगमन गर्न जिल्ला प्रशासनले निर्देशन समेत दिएको जनाएको छ । औषधीका विषयमा विज्ञहरुकै टोलीले अनुगमन गर्दा अझै पादर्शिता हुने भएकाले यसको जिम्म स्वास्थ्य कार्यालयलाई दिएको प्रशासनले जनाएको छ ।

चापाकोट नगरपालिकाले भने औषधी पसलहरु सहित अन्य पसलहरु पनि अनुगमन गरेको जनाएको छ । चापाकोटमा अहिले सम्म झण्डै ६ दर्जन पसलहरु अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले जानकारी दिए । केही पसलहरु निकै अस्तव्यस्त तवरले संचालन गरेको पाएका छौं प्रशासकीय अधिकृत खनालले भने,‘त्यस्ता पसलहरुलाई एक हप्ताको समय दिएका छौं ।’ हामीले दिएको समयमा पसल सुधारात्मक नदेखिएमा कारवाहीको प्रक्रिया अगाडी बढाउने छौं उनले भने । औषधी पसलहरुमा भन्दा खाद्यन्न, होटल, रेष्टुरेन्ट लगायत पसलहरु अझै सुधार गर्नुपर्ने देखिएको खनालको भनाई छ ।

अधिकांश पसलहरु नविकरण र दर्ता नभएकाले तुरुन्तै दर्ता र नविकरण गर्न सुझाव दिएको उनले बताए । चापाकोटका सबै वाडमा पुगेर अनुगमन भइरहेको बताइएको छ । अर्जुनचौपारी गाउँपालिकाले पनि औषधी पसलहरु मात्रै अनुगमन गरेको जनाएको छ । पालिकाको बजारमा रहेका ३ ओटा औषधी पसलहरुमा अनुगमन गरिएको स्वास्थ्य शाखा प्रमुख इश्वरी केसीले बताए । अनुगमन गरिएका पसलहरु दर्ता र समयमै नविकरण गरिएको पाइएको बताए । समग्रमा सबै पसलहरु राम्रो रहेको उनको भनाई छ ।

अरु पालिकाहरुले पनि छिट्टै बजार अनुगमन गर्ने जनाएका छन् । बिशेष गरी भीरकोट, वालिङ र गल्याङ् व्यापारीक केन्द्रका बजारहरु हुन् । गाउँले व्यवसाय बढी हुने भएकाले यी पालिकाहरुले अनुगमनलाई ढिलाई गर्न नहुने स्थानीयहरुले बताएका छन् । तिन पालिकाको अनुगमनले अन्य पालिकालाई पनि अनुगमन गर्न बाध्य बनाउने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया