उत्पादनका आधारमा अनुदानको ब्यवस्था गर्नेछौं — मन्त्री जिसी
स्याङ्जा ।
स्याङ्जा स्थित कृषि र पशुका क्षेत्रमा कार्यरत ५ वटा कार्यालयले संयुक्तरुपमा मंगलार आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक कार्यक्रम सार्वजनिकरण गरेको छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु रोग विज्ञ केन्द्र, कृषि विकास स्रोत केन्द्र, मत्स्य विकास केन्द्र र कृषि सामाग्री लिमिटेड स्याङ्जाले आ आफना कार्यक्रम सार्वजनिकरण गरेका हुन् । जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश कृषि तथा भूमिब्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले किसानलाई उत्पादनका आधारमा अनुदान दिने ब्यवस्था गरिने बताए ।
मन्त्री जिसीले स्याङ्जा कृषि र पशुका लागि अत्यन्त उर्वर क्षेत्र रहेकाले यहाँका किसानलाई थप प्रोत्साहितगरी ब्यवसायिकरणमा जोड दिनेगरी बिबिध योजनाहरु संचालन गरिने बताए । स्वाईन फलुबाट मरेका बंगुर र भण्डारण केन्द्रमा राखिएका सुन्तला कुहिएपछि मर्कामा परेका किसानलाई ध्यान दिदै राहत उपलब्ध गराउने जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सांसदहरु भोजराज अर्याल, महेश भट्टराई, सुधिरकुमार पौडेल र कल्पना तिवारी, गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराई, आँधीखोला गाउपालिका अध्यक्ष विश्वनाथ पौडेल, विरुवा गाउपालिका अध्यक्ष सूर्यबहादुर कुवर, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, गण्डकी प्रदेशका कृषि महानिर्देशक बासुदेव रेग्मी लगायतले किसान र कृषिका बारेमा आ आफना धारणा सहित किसानलाई आवश्यकता अनुरुपका तालिम तथा प्रशिक्षण दिनु पर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पशु प्राबिधिक अधिकृत पुरुषोत्तम कोइरालाले गरेका थिए ।
कार्यक्रममा कृषि ज्ञान केन्दका प्रमुख बिनोद हमाल, भेटेरिनरी अस्पताल तथा पशु रोग विज्ञ केन्दका निमित्त प्रमुख गोपाल गिरी, कृषि विकास स्रोत केन्दका प्रमुख सुदीप रेग्मी, मत्स्य विकास केन्द्रका प्रमुख रविनसन अधिकारी र कृषि सामाग्री लिमिटेड स्याङ्जाका प्रमुख विश्वेश्वर गिरीले आ आफना बार्षिक योजना तथा कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरे ।
सोही कार्यक्रममा किसानहरु मुक्तिप्रसाद अधिकारी, भिमप्रसाद लुइटेल, रुमलाल कडेल, युवराज केसी लगायतले किसानले भोग्नु परेको समस्याका बारेमा जानकारी गराउदै वास्तविक किसानलाई राज्यले पहिचान गर्न नसकेको गुनासो सुनाए ।
प्रतिक्रिया