ट्राफिक कारवाहीको जरिवाना अब बैंकिङ प्रणालीबाट
अमृत अर्याल,
स्याङ्जा ।
सवारी नियम उल्लंघनका कसुरहरुको जरिवानावापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको छ । आगामी भदौ १ गतेदेखि जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवानावापतको राजस्वलाई बैंकिङ प्रणालीमा जोड्ने भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रविण आचार्यका अनुसार यदि कुनै सवारी कारवाहीमा परे उसले बैंकिङ प्रणालीबाट राजस्व जम्मा गरेपछि मात्रै कागजात र सवारी छुट्नेछ । यो प्रक्रिया पूरा गर्न कम्तिमा २४ घण्टा लाग्नेछ ।
प्रहरी प्रधान कार्यालयले ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम (टिभीआरएस) सफ्टवेयर प्रणालीको विकास गरेर देशभर एकीकृत रुपमा कार्यान्वयनमा ल्याउन लागेकाले स्याङ्जा पनि तयारी अवस्थामा बसेको हो । यो सिस्टमका आधारमा कारवाही सुरु हुन्छ, त्यसपछि सवारी नियम उल्लंघनको विवरण, सवारी चालक अनुमतिपत्र नवीकरणको विवरण, कारवाहीमा परेको विवरण देशभरमा हेर्न सकिनेछ । स्याङ्जामा सवारी नियम उल्लंघन कसुर गरेको सवारीले जरिवाना नभराई पोखरा पुगेर त्यहाँ पनि कारवाहीमा परे टिभिआरएस प्रणालीमा त्यो रेकर्ड हेर्न सकिनेछ । त्यसपछि पहिले स्याङ्जा कार्यालयको राजस्व दाखिला गरेर कागजात झिकेपछि मात्रै पोखरामा परेको कारवाहीको राजस्व दाखिला गरेर सवारीसाधन वा कागजात पाइनेछ । सवारी नियम उल्लंघनमा पहिलो पटक भएको भए ५ सय, दोस्रो पटक भए १ हजार र तेस्रो पटक भए १ हजार ५ सय जरिवाना लाग्छ । यस्तो जरिवाना भराउन अहिले ढड्डा पल्टाउनुपर्ने बाध्यता ट्राफिक प्रहरीलाई छ ।
तर टिभिआरएस प्रणाली कार्यान्वयनमा आएपछि भने अनलाइन सिस्टममै कति पटक कारवाही भएको भन्ने हेर्न मिल्नेछ । त्यति मात्रै नभई पटकेका हिसाबले राजस्व दाखिला गरेपछि मात्रै बैकिङ सिस्टमले काम गर्नेछ । सवारी नियम उल्लंघनको कसुर लागेर ट्राफिक प्रहरीको नियन्त्रणमा परेको अवस्थामा सबैभन्दा पहिला बैंकमा गएर भौचर जम्मा गर्ने एउटा विधि रहेको छ ।
अर्को अनलाइन बंैकिङ प्रणालीको सुविधा पनि लिन सकिनेछ । विभिन्न अनलाइन पेमेन्ट मार्फत भुक्तानी गर्न सकिनेछ । जस्तै फोन–पे, खल्ती, ई–सेवा, कनेक्ट आइपिएस जस्ता माध्यमबाट समेत भुक्तानी गर्न सकिनेछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले अहिले राष्ट्रिय वाणिज्य बैंकसंग क्यूआर कोड प्राप्त गर्ने प्रक्रिया अगाडी बढाएको छ । प्रहरी प्रधान कार्यालयले अनलाइन भुक्तानीका लागि राष्ट्रिय वाणिज्य बैंकलाई लिएको छ । तर भौचर भराउनु पर्ने स्थिति आएमा बैंक नै जानु पर्ने हुन्छ । यदि अनलाइन पेमेन्ट गर्नेहरुका लागि भने विभिन्न माध्यम अपनाउन सक्नेछन् ।
प्रतिक्रिया