प्राधिकरणले सुल्झायो ट्रान्सफर्मरको समस्या

भीरकोट ।
नेपाल विद्युत प्राधिकरण स्याङ्जाले भीरकोट नगरपालिकाको वडा नं. ३ सामदीखोला गाउँमा रहेको ट्रान्सफर्मर र विद्युत लोडको समस्या सुल्झाएको छ । असार २७ गते जलेको ट्रान्सफर्मर करिब डेढ महिना सम्म नफेरेको प्राधिकरणले स्थानीय तथा राष्ट्रिय संचार माध्यममा समाचार प्रकाशित भएपछि समस्या समाधानमा तत्परता देखाएको हो । नागरिकको उक्त समस्यालाई भाद्र ४ गते नेपाल पब्लिक आवाजमा प्राधिकरणको लापरबाहीले स्थानीयलाई सास्ती शिर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचार प्रकाशित भएको ४ दिनमै प्राधिकरणले उक्त समस्या समाधान गरेको हो ।
गत असार २७ गते जलेको ट्रान्सफर्मरको समाधान नहुँदा गाउँलेहरुलाई कुटानी पिसानीमा समस्या भएको थियो । असार २७ गते जलेको ट्रान्सफर्मर निरीक्षणका लागि ३१ गते आएको विद्युत प्राधिकरणका कर्मचारीहरुले बत्ती बल्ने गरि मर्मत गरेको भएपनि ट्रान्सफर्मर जडान नगरिदिँदा स्थानीयहरुले सास्ती बेहोर्नु परेको थियो । ट्रान्सफर्मर जडानका लागि स्थानीयहरुले पटकपटक विद्युत प्राधिकरण स्याङ्जामा सम्पर्क गरेका थिए । बयरघारीदेखी गाउँसम्म ढुवानीको व्यवस्था गर्न पनि तयार थिए तर लामो समयसम्म प्राधिकरणले समस्या समाधानमा चासो दिएको थिएन । समाचार प्रकाशित भएपछि वडा कार्यालय नजिकै रहेको ट्रान्सफर्मर चार्ज गरी समस्याको समाधान गरिएको स्थानीय समाजसेवी विजय काफ्लेले बताए ।
गाउँ ट्रान्सफर्मरविहिन हुँदा कुटानी पिसानीका लागि २ सय देखि ३ सय ४० रुपैयाँ भाडा तिरेर डाँडाकोट र बयरघारी जानुपर्ने बाध्यता थियो । कुटानी पिसानीको समस्या समाधान भएको छ तर प्राधिकरणले जलेको ठाउँमा नयाँ ट्रान्सफर्मर भने अझै सम्म राखेको छैन । पुरानो ट्रान्सफर्मरले काम चलाएको हुदाँ कतिसम्म टिक्छ भन्नेमा सेवाग्राही सशंकित छन् । वडा नं ३ का वडा अध्यक्ष केशरबहादुर खड्काले प्राधिकरणले वडा कार्यालय नजिकै रहेको ट्रान्सफर्मर प्रयोग गरी गाउँको बिजुली र कुटानीपिसानीको समस्या समाधान गरेको बताए ।
विद्युत प्राधिकरण स्याङ्जाका प्रमुख प्रताप बरालसँग सम्पर्क गर्दा सडकको अवस्थाका कारण प्राधिकरणको सवारी साधन गाउँ पुग्न नसक्ने भएकाले ढिलाई हुन गएको बताए । वडा नं ३ मा बुटबल पावर कम्पनी लिमिटेड, नेपाल विद्युत प्राधिकरण र सामुदायिक बचत तथा ऋण सहकारी, बिरुवाद्वारा बितरित सामुदायिक बिजुली गरि ३ थरी बिजुली प्रयोगमा छन् । तर प्राधिकरण र विपिसिको लापरबाहीले गर्दा स्थानीयलाई विद्युतीय उपकरण प्रयोगमा समस्या छ । बिपिसिको बिजुली प्रयोग गरिरहेका स्थानीयहरुले राइसकुकरमा भात पकाउन समस्या भएको बताउछन् । बत्ती बाल्दा भात पाक्न घण्टौ लाग्छ तर यसको समाधान गर्न सेवा प्रदायक र स्थानीय तहले कुनै पहल नगरेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया