बयरघारीको ब्रह्माकुमारीेले मनायो श्रीकृष्ण जन्माष्टमी

राजनप्रसाद पौडेल,
भीरकोट ।
प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा हरेक वर्ष यही दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । जिल्लाको भीरकोट नगरपालिका वडा नं. २ मा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले श्रीकृष्ण जन्माष्टमी पर्व तथा स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ । स्नेह मिलन कार्यक्रमको उद्घाटन गर्दै भीरकोट – २ का वडा अध्यक्ष श्यामकाजी अधिकारीले हरेक चाडपर्वको आध्यात्मिक रहस्य हुने भन्दै कृष्णजन्माष्टमी पनि समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने पर्व रहेको बताए ।

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी बयरघारीको ओमशान्ति भवनमा मनाइएको हो । कार्यक्रममा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष उत्सव समेत गरिएको थियो । यो कार्यक्रममा सबैको सक्रिय सहभागिताले विषेश रौनक देखिन्थ्यो । कार्यक्रममा प्रवचन मन्तव्य दिदै श्रीकृष्ण जन्माष्टमी पर्वको महत्वमाथी विभिन्न अतिथि बक्ताहरुले प्रकाश पारेका थिए ।

जन्माष्टमी बिशेष कार्यक्रममा बोल्दै नेपाली कांग्रेस भीरकोट नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण ), भीरकोट उद्योग बाणिज्य संघका अध्यक्ष जगदीश कोइराला, भीरकोट – ८ का वडा अध्यक्ष नन्दलाल खनाल, शिक्षा प्रेमी शेषकान्त खनाल, भीरकोट उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नुवादत्त अर्याल लगायतका वक्ताहरुले श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्म गरेको धार्मिक मान्यतालाई व्याख्या गरेका थिए । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बयरघारीकी संचालीका राजयोगीनी तपस्वी ब्रह्माकुमारी सुभास दिदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई ब्रह्माकुमार खेम थापाले स्वागत गरेका थिए । कार्यक्रमको संचालन ब्रह्माकुमारी विष्णु काफ्लेले गरेकी थिइन् । कार्यक्रममा राधा र कृष्णको भेषमा सजिएका कलाकारहरुले राधाकृष्णको भजनमा कुशल नृत्य प्रस्तुत गरेका थिए । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले श्रीकृष्णले यस धर्तीमा जन्म लिएको धार्मिक मान्यता रहिआएको छ ।

प्रतिक्रिया