भीरकोटमा मौलिक तीजगित प्रतियोगिता
भीरकोट ।
परम्परागत संस्कृतिको संरक्षण गर्न स्याङ्जाको भीरकोट नगरपालिकाले तीज गीत प्रतियोगिताको आयोजना गरेको छ । बुधबारदेखि वडागत रुपमा सुरु भएको तिजगित प्रतियोगिता २ वटा वडामा सम्पन्न भैसकेको छ । वडा नं ६ र वडा नं. ४ को प्रतियोगिता सम्पन्न भैसकेको तथा अन्य वडाहरुमा निरन्तर रुपमा कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । वडाबाट सुरु भएको प्रतियोगिता असोज १ गते नगरस्तरीय प्रतियोगिता गरी सम्पन्न हुनेछ । नगरपालिकाले निर्धारण गरेको समय तालिका अनुसार २२ गते वडा नं ५मा, २३ गते वडा नं ७मा, २४ गते वडा नं ३मा, २५ गते वडा नं २मा, २६ गते वडा नं ९मा , २७ गते वडा नं १मा, २९ गते वडा नं ८मा वडा स्तरीय मौलिक तीज गीत प्रतियोगिता हुदैंछ । असोज १ गतेको नगरस्तरीय तीज गीत प्रतियोगिता बयरघारी बजारको तमु समाज भवनमा हुने पालिकाले जनाएको छ ।
यो वर्षको पहिलो तीज प्रतियोगिता वडा नं ६ को सुन्दरचौर पार्कमा सम्पन्न भएको छ । बुधबार भएको वडास्तरीय प्रतियोगितामा जनजागरण आमा समूह सिमलचौर प्रथम भएको छ । यसैगरी जनजागृति आमा समूह गोदिखोलाले दोस्रो, मनकामना आमा समुह फोक्सिङले तेस्रो, लालीगुराँस आमा समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा १० वटा आमा समूहहरुको सहभागिता रहेको थियो । निर्णायकको भूमिकामा गायक देबि प्रसाद अर्याल, भाग्योदय माध्यमिक विद्यालयका शिक्षक पूण्य प्रसाद अर्याल र बालोदय माध्यमिक विद्यालयका शिक्षिका सिमा एसके रहेका थिए । मौलिक संस्कृतिको संरक्षण सँगसँगै सुन्दरचौर पार्कको समेत प्रचारप्रसार गर्ने उद्देश्यले सुन्दरचौर पार्कमै तीज गीत प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री (रामकाजी) ले बताए ।
वडा नं ६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री (रामकाजी) को अध्यक्षतामा भएको तीज गीत प्रतियोगितामा गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, नगर उपप्रमुख भगवती रेग्मी अर्याल, नेपाली काँग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी (लक्ष्मण), राष्ट्रिय प्रजातन्त्र पार्टी भीरकोटका अध्यक्ष हर्क बहादुर रोका लगायतका सामाजिक तथा राजनितिक व्यक्तित्व, जनप्रतिनिधिहरु, आमा समूहहरु र आम सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । आमा समुहहरुले पालिकाको विकास, स्वास्थ्य, शिक्षाको क्षेत्रमा भएको प्रगति, समस्या र देशको समसामयिक परिस्थितिलाई मौलिक लयमा प्रस्तुत गरेका थिए । नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जनताले गीत मार्फत व्यक्त गरेका खुशी र दुःखलाई सम्बोधन गर्दै जनचाहना अनुसार नै काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैगरि यो वर्षको दाश्रो तीज प्रतियोगिता वडा नं ४ को छाङ्छाङ्दी मन्दिरमा सम्पन्न भएको छ । बिहीबार भएको वडास्तरीय प्रतियोगितामा सहनशील आमा समूह झारुङखोला प्रथम भएको छ । यसैगरी विश्वकर्मा आमा समूह छाङ्छाङ्दी दोस्रो, उपकार आमा समुह गैह्राथोक तेस्रो र कालीकाकोट आमा समूह दभुङले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा ८ वटा आमा समूहहरुको सहभागिता रहेको थियो । निर्णायकको भूमिकामा शिक्षक इन्दिरा केसी, मिरा काफ्ले र शोभाकान्त पौडेले रहेका थिए । मौलिक संस्कृतिको संरक्षण सँगसँगै धार्मिक एवं पर्यटकीय क्षेत्र छायाँक्षेत्र मन्दिरको समेत प्रचारप्रसार गर्ने उद्देश्यले मन्दिरमै तीज गीत प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष रत्नप्रकाश श्रेष्ठले बताए ।
वडास्तरीय कार्यक्रममा प्रथम हुने समूहले १५ हजार, दाश्रोले १० हजार, तेश्रोले ५ हजार र सान्त्वना हुनेले २ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । वडाबाट छनौट भै नगरस्तरीय प्रतियोगितामा भने प्रथम हुने समूहले २५ हजार, दाश्रोले १५ हजार, तेश्रोले १० हजार तथा सान्त्वना हुने समूहले ५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । साथै नगरस्तरीय प्रतियोगितामा सहभागि हुने हरेक समूहलाई यातायात खर्चवापत २ हजार समेत प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया