राष्ट्रिय वाणिज्य बैंकको शाखा उद्घाटन

वालिङ ।
राष्ट्रिय बाणिज्य बैंक वालिङ शाखाको आज उद्घाटन भएको छ । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले शाखाको आज उद्घाटन गरेका छन् । कार्यक्रममा मन्त्री गुरुङ्ले विसं २०२२ माघ १० गते स्थापना भएर नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकले जनताको विश्वास जितेर जनउत्तरदायी र पारदर्शी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्दै देशको अर्थतन्त्र विकासका लागि बैंकले उपयोगी कदम चाल्दै जानुपर्ने बताए ।
गुरुङ्ले मुलुक बनाउन सबैदल एकै ठाउमा उभिनुपर्ने समेत बताएका छन् । स्याङ्जाको वालिङमा राष्ट्रिय बाणिज्य बैंकको २८२ औं शाखाको समुद्घाटन् गर्दै कानुन मन्त्री गुरुङ्ले विरोध गरेर भन्दा पनि सबै मिलेर अगाडी बढ्न सकेमा मुलुकको विकास हुने बताएका हुन । विरोध मात्रै गरेर मुलुकको विकास नहुने भन्दै गुरुङ्ले मुलुकको विकासका लागि नेपालका सबै राजनीतिकदल एकै ठाउमा उभिनुपर्ने बताए ।
‘कर्म र विश्वासले मुलुकको हित गर्छ’ मन्त्री गुरुङ्ले भने, ‘नेता र कर्मचारीमा कर्म र विश्वास हुनु जरुरी छ ।’ देश बनाउन गफ गर्ने होइन काम गर्ने हो भन्दै गुरुङ्ले अव भाषण बन्द गरेर मुलुक बनाउन अगाडी बढ्नुपर्ने बताए । देशको विकासमा बैंकहरुको महत्वपुर्ण भुमिका रहने हुँदा साना उद्योगी व्यवसायीको हित हुनेगरी बैंकले लगानी गर्न मन्त्री गुरुङ्ले आग्रह गरे । बाणिज्य बैंक सरकारी बैंक भएकाले सरकारले बोकेका आर्थिक उत्तरदायीत्व अनुसार काम गर्न मन्त्री गुरुङ्ले सुझाए ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद भोजराज अर्यालले बैंकहरु अझै दुरदराजका जनतामा पुग्न नसकेको टिप्पणी गरे । जबसम्म दुरदराजमा रहेका जनताको पहुँचमा बैंक पुग्न सक्दैन तव सम्म मुलुकले आर्थिक उन्नती गर्न नसक्ने अर्यालको भनाई थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बाणिज्य बैंक अव किसानको बैंक हुने विश्वास दिलाए ।
कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख कृष्ण खाँण, नेपाली काँग्रेसका नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ लगायतले बैंक जनताको सेवक बन्न सुझाव दिएका छन् । वालिङमा राष्ट्रिय बाणिज्य बैंकको शाखा खुलेसगै कर्मशियल बैंकको संख्या १६ पुगेको छ ।
प्रतिक्रिया