तिजलाई तडकभडक होइन रचनात्मकरुपले मनाऔं ः उपसभापति तिवारी
वालिङ ।
नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज पर्व पछिल्लो समय तडकभड्क रुपले मनाउन थालिएको प्रति नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति तथा सांसद कल्पना तिवारीले चासो व्यक्त गरेकी छन् । स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्वर २ ले आयोजना गरेको हरितालिका तिजको अवसरमा दर खाने तथा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उपसभापति तिवारीले महिलाहरुको तडकभडकले तिज भड्किलो र महङ्गो हुन थालेप्रति चासो व्यक्त गरेकी हुन् । तडकभडकले महिलाहरुमा समावेसीता हराउने भएकाले तिजलाई रचनात्मक रुपले मनाउन सबै दिदिबहिनीलाई तिवारीले आग्रह गरिन् ।
तिज महिला दिदिबहिनीले कथा व्यथा पोख्ने एउटा चाड भएको स्मरण गर्दै तिवारीले यस्ता समस्यालाई अव राज्यका विभिन्न तह र तप्काबाट समाधान गर्नुपर्ने बताइन् । महिलाहरुका कथा व्यथा धेरै छन् गण्डकी प्रदेश सांसद समेत रहेकी तिवारीले भनिन्,‘महिलाका सबै समस्या नीति, नियम र ऐन बनाएर समाधान गर्नुपर्छ ।’ संविधानले महिलालाई धेरै अधिकार दिएको छ यसको सदुपयोग गर्नुपर्छ उनले भनिन् । ‘मैले महिलाका समस्या बुझेकी छु र थहाह पाएकी छु’ उनले भनिन्,‘महिलाहरुले पनि क्षमता अभिबृद्धि गर्दै आफुलाई सक्षम बनाउने तर्फ लाग्नुपर्छ ।’ अवसर पाउदा छाड्नु हुदैन अवसरको सदुपयोग गर्नुपर्छ उनले भनिन् ।
जिवनका हरेक भोगाई आफुले पनि भोगेको बताउदै सांसद तिवारीले ग्रामिण क्षेत्रका महिलाहरुको भोगाई, कथा, व्यथा सुन्न म यो कार्यक्रममा सहभागी हुन आएको बताइन् । ‘म तपाईहरुको सेवक हुँ, सेवा गर्नेछु’ उनले भनिन्,‘महिलाको अधिकारमा मेरो कुनै राजनीतिक रङ्ग देखाउने छैन ।’ सबै महिलाहरुको सहयोगले कानुन बनाउने ठाउँमा पठाउनुभएको महशुष गरेको छु उनले भनिन् । सबै दिदिबहिनीले तिजलाई सन्देश दिनेगरी र संस्कृति बच्नेगरी मनाउन उनले आग्रह गरिन् ।
कार्यक्रममा नेपाली काँग्रेस बिरुवा गाउँपालिका सभापति डोलराज पोख्रेलले धर्म र संस्कृति बचाउने चाडलाई मर्यादित ढंगले मनाउन आग्रह गरे । नेकपा माओवादीका नेता थमन गुरुङ, वडा अध्यक्ष नोमबहादुर गुरुङ लगायतका बक्ताहरुले तिजको शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया