लायन्स क्लब अफ भीरकोटले गर्याे डेङ्गु सचेतना कार्यक्रम
भीरकोट ।
जिल्लाको भीरकोटमा हालै मात्र संचालनमा आएको लायन्स क्लब अफ भीरकोटले पहिलो सामाजिक कार्यको रूपमा डेङ्गु सचेतना तथा सरसफाइ कार्यक्रम गरेको छ। भीरकोट नगरपालिकाको बयरघारी बजार क्षेत्रलाई लक्षित गरेर डेङ्गु सचेतना तथा सरसफाइ कार्यक्रम गरिएको हो। कार्यक्रममा सिद्धार्थ राजमार्ग वरपरको सरसफाइ, पानी जम्न सक्ने ठाउँको अवलोकन, निरीक्षण गरी स्थानीयलाई सचेत गराउँदै माइकिङ गरी डेङ्गु रोगबाट बच्ने उपायहरूको बारेमा बताइएको थियो।
बयरघारी प्रहरी चोकबाट सुरू भएको सरसफाइ तथा जनचेतना कार्यक्रममा लायन्सका पदाधिकारी , नगर प्रमुख गोविन्द कुमार कर्माचार्य , प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना , स्थानीय जनप्रतिनिधि , नगर स्वास्थ्य शाखाका कर्मचारी, प्रहरी, भीरकोट जेसिजका पदाधिकारी,सन्त निरङ्कारी मण्डलको सहभागिता रहेको रहेको थियो।
डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले घर वरपरको वातावरण सफा राख्ने, पानी जम्न नदिने, झुल प्रयोग गरेर सुत्ने, लामो बाहुला भएका कपडा लगाउने लगायतका विषयमा सचेतना दिइएको थियो। कार्यक्रमका बोल्दै भीरकोटका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले डेङ्गुले ज्यानै लिन सक्ने भएकाले सबै सचेत भएर सरसफाइमा ध्यान दिनुपर्ने बताए । लायन्स क्लब अफ भीरकोटका अध्यक्ष याम प्रसाद अधिकारीले सेवाको भावनाले लायन्स क्लबको गठन गरिएको बताउँदै क्लबले सामाजिक महत्वका कामहरूलाई महत्व दिने बताए । समाजसेवाको भावना लिएर आउने जो कोही जुनसुकै बेला लायन्समा आवद्ध हुन सक्ने अधिकारीको भनाइ छ । सहभागी र सरोकारवालालाई धन्यवाद दिंदै अध्यक्ष अधिकारीले जनस्वास्थ्यप्रती सबै सचेत हुनुपर्ने बताए । सरसफाइ तथा सचेतना कार्यक्रमको संयोजन लायन्स क्लबका प्रथम उपाध्यक्ष ढाकाराम खनालले गरेका थिए भने औपचारिक कार्यक्रमको संचालन सचीव लेखबहादुर केसी (किरण)ले गरेका थिए। स्वास्थ्य सम्वन्धि सहजीकरण स्वास्थ्यकर्मी जगदिश खनाल र श्रीराम अर्यालले गरेका थिए ।
प्रतिक्रिया