वालिङ नगरपालिकाले भन्यो—सरकारी कर्मचारीे राजनीतिक कार्यमा संलग्न नहुँनु
मणी प्रसाद अर्याल,
वालिङ ।
वालिङ नगरपालिकाले शिक्षक तथा निजामति कर्मचारीलाई कुनै किसिमको राजनीतिक कार्यक्रममा संलग्न नहुँन निर्देशन गरेको छ । नगरपालिकाका प्रमुख कृष्ण खाँणले एक सूचना जारी गर्दै नगरभित्रका शिक्षक तथा कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।
शिक्षा ऐन २०२८ को दफा १६ को उपदफा (ङ) को ५ (छ) तथा वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ संसोधन सहितको दफा १८ को उपदफा १ को (च) मा विद्यालय तहमा कार्यरत शिक्षक तथा कर्मचारी, निजामती सेवा ऐनको दफा ४४ मा निजामति कर्मचारीले कुनै राजनितिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था स्पष्ट रुपमा रहेको भन्दै यस्तो निर्देशन गरिएको छ ।
साथै वालिङ नगरकार्यपालिकाको यही भदौ २६ गते बसेको बैठकले विद्यालयमा कार्यरत शिक्षक कर्मचारी र निजामति कर्मचारीहरु कार्यालय समयमा कुनै पनि राजनितिक कार्यक्रमहरुमा संलग्न नहुने निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मानेर नगर प्रमुख खाँणले सूचना जारी गरेर जानकारी सहित निर्देशन दिएका हुन् । यो निर्णय विपरित कार्य गरेको पाईएमा कानुन बमोजिम कारबाही हुने समेत नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले गरेको निर्णयलाई नगरवासीले स्वागतयोग्य मानेपनि कार्यन्वयनमा भने शंका व्यक्त गरेका छन् । कार्यालय समयमा सबैभन्दा बढी सरकारी शिक्षकहरु राजनीतिक कार्यक्रममा हिड्ने गरेको गुनासो आइरहेको थियो । नगरपालिकाले यो सुचना जारी गरेपछि शिक्षक कर्मचारीको राजनीतिक यात्रा रोकिन्छ कि पुरानै शैलिमा चल्छ त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया