चाडपर्व लक्षित अनुगमन— रि लेवलिङ गरेर बिक्री गर्ने किसान मार्टलाई एक लाख जरिवाना
अर्जुन काफ्ले,
स्याङ्जा ।
चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमनलाई तीब्रता दिएको छ । उपभोक्ता संरक्षण एने २०७५ र नियमावली ०७६ को प्रावधान अनुसार बजार अनुगमत गरेको हो । कालोबजारी रोक्ने तथा उपभोक्ता हक संरक्षण गर्ने र ब्यापारिलाई नियमन गर्ने उदेश्यले सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा चापाकोट तथा अर्जुन चौपारीमा अनुगमन गरेको हो ।
पौडेल नेतृत्वको टोलीले यहाँका किराना, औषधी पसल, हार्डवयर, होटल बेकरी अनुगमन गरेको हो । चापाकोटमा छ वटा पसल अनुगमन गर्दा पाँचवटा पसललाई दुई लाख ८५ हजार रुपियाँ जरिवाना गराएको हो । चापाकोटको किसान स्टोर्स(मार्ट) ले मूल्य सूची नराखेको र ब्लुडायमण्ड रक्सीमा रि लेवलिङ गरेर बिक्री बितरण गरेकाले एक लाख जारिवाना गरिएको थियो । मार्टले ८८० रुपियाँको रक्सीलाई केर मेट गरी पुन लेवलिङ गरी दुई सय थप गरी बिक्री गरेको भेटिएको हो ।
यस्तै मूल्यसूची नराखेको र बिल बिजक जारी नगरेकोमा न्यू राधाकृष्ण ट्रेडर्स र सोनी दामाचौर हार्डवयरलाई लाई ६०÷६० हजार रुपियाँ जरिवाना गरेको हो । यस्तै मुल्य सुचि नराखेकोमा खनाल स्टोर्सलाई ५० हजार र पाठक हार्डवयरलाई बिल विजक जारी नगरेकोमा बीस हजार, जरिवाना तिराएको हो । चापाकोट नगरपालिकाले दिएको मूल्यसूची राख्ने लगायतका निर्देशन पालना नगरेको देखिएकाले जरिवना गर्नु परेको पौडेलले बताए ।
यस्तै अर्जुन चौपारीमा १२ वटा पसलहरु अनुगमन गरेको र म्याद गुज्रेका सामानहरु भेटिएपनि अन्य कुरामा प्रभाबकारी रहेको भेटिएको हो । मुल्य र उत्पादन मिति नराखी अर्जुनचौपारीमा बिक्रीमा राखिएको पनिरको उत्पादक तिनदोबाटो दुग्ध उत्पादक डेरी प्रालि गल्याङ नगरपालिका ८ लाई कानुनी दायरमा ल्याउने पौडेले बताए ।
उपभोक्ता मञ्च, प्रसासन, प्रहरी, पालिका प्रतिनिधी र पत्रकारको सहभागिता रहेको अनुगमनमा मूल्यसूची नराखेको, म्याद गुज्रेका सामान बिक्री वितरण, बिल विजक जारी नभएको भेटिएको थियो । अनुगमनमा बिष्कुट, घिउ, लिची जुस, पीठो, बियर, सुजी, बदाम लगायतका सामग्री जफत गरी नष्ट गरिएको थियो । अनुगमन निरन्तर चलिरहने र नियमबिपरीत चलाइका पसल कुनैलाई नछाडिने पौडेलले बताए ।
उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले चाड पर्वमा ब्यापारीले कालोबजारी गर्ने बताउदै सजग रहन आग्रह गरे । उनले उपभोग्य बस्तु खरिद गर्दा उत्पादन मिति र समाप्त मिति हेर्नुपर्नेमा जोड दिए । अनुगनम टोली आएको थाहा पाएपछि नियम नमान्ने ब्यापारीहरु पसल बन्द गरेर भागेका थिए ।
प्रतिक्रिया