वालिङका विद्यालयमा प्रअ बन्न खुल्ला प्रतिस्पर्धा हुन्छ ः नगर प्रमुख खाँण
मणि अर्याल,
वालिङ ।
वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले सामुदायिक विद्यालयको प्रधानाध्यापकका लागि खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिएने बताएका छन् । वालिङ नगरस्तरीय प्रअहरुको बैठकमा नगर प्रमुख खाँणले उक्त कुरा बताएका हुन् । सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किदै जान थालेपछि वालिङ नगरपालिकाले प्रधानाध्यापक बन्न खुल्ला प्रतिस्पर्धा गराउने निर्णय भएको उनले प्रअहरुलाई सुनाए । विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन प्रधानाध्यापकलाई खुल्ला प्रतिस्पर्धाबाट चयन गरिने खाँणले बताए । नगरभित्रका आधारभुत ८ र माध्यमिक तहका १६ ओटा गरी २४ ओटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन हुने नगर प्रमुख खाँणले बताए ।
नगर प्रमुख खाँणका अनुसार पहिले चरणमा आधारभुत तह कक्षा १–८ संञ्चालित सवै विद्यालय र माध्यामिक तर्फ ८ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धा गराइने भएको छ । खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको नगर प्रमुख खाँणले बताए । ‘विद्यालयको शैक्षिक गुणस्तर कस्तो बनाउने भन्ने बिषय प्रधानाध्यापकको हातमा रहेको हुन्छ’ नगर प्रमुख खाँणले भने,‘प्रअलाई प्रतिस्पर्धा गराएर चयन गर्दा सुधारिन्छ कि भन्ने विश्वासमा छौं ।’ प्रतिस्पर्धाबाट चुनिएका प्रअलाई अधिकार सहित विद्यालयको जिम्मेवारी समेत दिने छौं नगर प्रमुख खाँणले भने ।
वालिङ नगरपालिकाको कार्यपालिकाको बैठकले नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा प्रअ नियुक्ति गर्दा प्रतिस्पर्धाबाट गराउने निर्णय गरेको थियो । कार्यापालिकाले गरेको निर्णयलाई नगरपालिकाले नगरस्तरीय प्रअको बैठकमा नगर प्रमुख खाँणले जानकारी गराएको बताए । ‘नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयलाई अझै अभिभावहरुको विश्वासिलो बनाउन जरुरी छ’ उनले भने सवै सरकारी कर्मचारी जनप्रतिनिधि र शिक्षक शिक्षिकाहरुले पनि आफ्ना नानिबाबुहरुलाइ सामुदायिक विद्यालयमा पढाउने प्रतिवद्धता समेत गरिएको छ ।’ नगरको शैक्षिक सुधारका लागि सम्वन्धित सरोकारवालाहरु नै नलागे सम्म शिक्षाको गुणस्तर परिवर्तन हुदैन उनले भने ।
वालिङ नगरपालिकाले निर्माण गरेको शिक्षा ऐनमा वालिङ नगरपालिका भित्रका शिक्षकहरुले आधारभुत तहमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक र माध्यामिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर पास गरेको अथवा १० वर्ष स्थायी सेवा र स्नातक गरेको शिक्षक प्रधानाध्यापक हुने कानुनी व्यवस्था रहेका छ । नगरपालिकाले विद्यालय सुधारका लागि प्रअलाई खुल्ला प्रतिस्पर्धा गराउने निर्णयको नगरवासीले खुलेर प्रशंसा गरेका छन् । निर्णय एकातिर काम अर्कोतिर नहोस भन्ने सुझाव उनीहरुको छ । राजनीतिक आडमा भन्दा पनि क्षमताको आधारमा प्रअ नियुक्ति गर्नुपर्नेमा उनीहरुले सुझाएका छन् ।
वालिङ नगरपालिकाले झण्डै ३ बर्ष अगाडी शैक्षिक सुधारमा विद्यालय व्यवस्थापन समितिको पनि उत्तिकै भुमिका रहने भन्दै सबै सामुदायिक विद्यालयमा एकै दिन समिति चयन गर्ने व्यवस्था गरेको थियो । ७१ ओटा सामुदायिक विद्यालयमा एकै दिन समिति चयन गर्ने पालिकाको प्रयास गण्डकी प्रदेशमैै पहिलो भएको बताइएको थियो । प्रअ नियुक्तिको बिषय पनि खुल्ला प्रतिस्पर्धाबाट गराउने निर्णय पनि प्रदेशकै पहिलो भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया