गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेवा स्याङ्जाबाट शुरु
रमेश गोदार,
स्याङ्जा ।
नेपालको पहिलो लघु बीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले स्याङ्जाको पुतलीबजारमा आफ्नो तेस्रो उपशाखा कार्यालयको शुभारम्भ गरेको छ । एक समारोहका बिच स्याङ्जा शाखाको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले माइक्रो इन्स्योरेन्स कम्पनीले ग्रामीण बस्तीका लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरे । नगर प्रमुख रेग्मीले कम्पनीको तेस्रो शाखाको रुपमा पुतली बजारमा स्थापना गरेकोमा धन्यबाद दिँदै, आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कम्पनीले शुलभ मूल्यको विमा योजना ल्याएकोमा खुशी व्यक्त गर्दै नगरका टोलटोलमा पुगेर आवश्यक जानकारी तथा सुविधा प्रदान गर्न आग्रह गरे ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले लघुबिमा नयाँ अवधारणा भएकाले सरोकारवाला सबैले व्यापक प्रचारप्रसार गरी लक्षित समुदायसम्म पुराउन आवश्यक रहेको बताइन् । उपप्रमुख अर्यालले महिला तथा श्रमिक वर्गलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिँदै नगरपालिकाले पूर्ण सहयोग र सहकार्य गर्ने बताइन् ।
कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नं. २ का अध्यक्ष भीमबहादुर गुरुङ, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, स्याङ्जा चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्री बहादुर गुरूङ्ग, जिल्ला सहकारी संघका उपाध्यक्ष संघ ताम्राकार, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गोविन्द प्रसाद शर्मा, गण्डकी यातायात प्रा.लि.का व्यवस्थापक गणेश थापा, पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओम प्रकाश शर्मा, मुश्लिम संघका प्रदेश अध्यक्ष शाह मोहम्मद मियाँ, समाजसेवी सीता गोदार लगायतले कम्पनीलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्थानीय तहसँग सहकार्य गर्दै न्यून आय भएका सबैलाई बीमामा समावेश गर्ने बताए । भण्डारीले डिजिटल प्रविधिको माध्यमबाट जनस्तरमा लघु जीवन बीमा सेवा प्रदान भइरहेको बताउँदै कम्पनीले भुक्तानी दाबीलाई २४ घण्टामै विमकको परिवार समक्ष हस्तान्तरण भइरहेको बताए । कम्पनीका मार्केटिङ हेड कैलाश देवकोटाले वार्षिक १३१ रूपैयाँमा १ लाख बराबरको बीमा सुरक्षा प्राप्त गर्न सकिने जानकारी दिदै गरिब, सिमान्तकृत र न्यून आय भएका वर्गलाई आर्थिक सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको जानकारी दिए ।
प्रतिक्रिया