नेविसंघ जेलभित्रबाट जन्मेको शक्ति हो — सभापति अर्याल

भीरकोट ।
गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्यालले क्रान्तीले मात्र विकास नहुने हुदाँ सिर्जनशिलता पनि चाहिने बताएका छन् । स्याङ्जाको भीरकोटमा नेविसंघ भीरकोट नगर समितिले बिहिबार आयोजना गरेको विजया दशमीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा उनले १९८७ सालको जयतु संस्कृतम् आन्दोलन नै नेपालको पहिलो विद्यार्थी आन्दोलन भएको स्मरण गर्दै नेविसंघ मात्रै लोकतन्त्रको हिमायती विद्यार्थी संगठन भएको दावी गरे । ‘जेलभित्रबाट जन्मेको नेविसंघले नै हरेक परिवर्तनको आन्दोलनको नेतृत्व गरेको छ,’ उनले भने । अहिले नेपालका विद्यार्थी संगठनहरु अलमलमा परेका छन् । अर्यालले मुलुकको शैक्षिक विकासका लागि विद्यार्थी संगठनहरु अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने अवस्था आएको बताए । राजनीतिमा स्वार्थ हावी भएको हुदाँ जनतामा निराशा छाएको बताउदैं सबैले आफ्नो जिम्मेवारीलाई सही ढंगले निभाउन सकेमात्र रुपान्तरण हुने उनले बताए ।
भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले विगतका अनुभवलाई विचार गरेर नयाँ पिंढीलाई कांग्रेसबारे प्रशिक्षण गर्नुपर्ने भएकाले नेविसंघले समय सान्दर्भिक कार्यक्रम आयोजना गरेको बताए । कांग्रेस स्याङ्जाका सचिव तथा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले नेविसंघ बलियो भएमात्र कांग्रेस बलियो हुने बताए । भीरकोटका निवर्तमान नगरप्रमुख छायाराम खनालले काँग्रेसको नर्सरी नेविसंघमा सधै सफल नेतृत्व आवश्यक रहेको उल्लेख गरे । काँग्रेस महाधिवेशन प्रतिनिधि सुनिता उच्चै ठकुरीले भीरकोटमा कांग्रेसको संगठन बलियो बनाउनका लागि एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताइन् ।
कार्यक्रममा नेपाली काँग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी (लक्ष्मण)ले नेविसंघ गाउँ–गाउँमा विद्यार्थीमाझ गएर सबै विद्यार्थीको समर्थन जुटाएर संगठन निर्माण र लोकतन्त्र विरुद्ध आइपर्ने संकटको सामना गर्नको लागि तयार रहनुपर्ने बताए । नेविसंघका जिल्ला सभापति गौरब प्रधानले नेविसंघ सिद्धान्त र बिचारबाट बिमुख नहुने बताए । भीरकोट ३ का वडाध्यक्ष क्या. केशरबहादुर खड्काले आगामी दिनमा पार्टीलाई डोर्याउने जिम्मेवारी नेविसंघको काँधमा आएको बताए ।
नेपाली काँग्रेसका प्रदेश सचिव अमृत अर्यालले प्रशिक्षण प्रदान गरेको कार्यक्रममा नगरका १ सय २० विद्यार्थीको सहभागिता रहेको नेविसंघ भीरकोटका सभापति मुनाल गोदारले बताए । विद्यार्थीहरु सजिना खातुन र नन्दिना अर्यालले संचालन गरेको प्रशक्षिण कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य हेमप्रकाश गुरुङले स्वागत तथा विद्यार्थी कोपिला खनालले धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया