विद्यालयलाई पुस्तकालय हस्तान्तरण

पब्लिक आवाज
भीरकोट ।
आधुनिक र प्रविधिमैत्री शिक्षामा जोड दिन सामुदायिक विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरिएको छ । जिल्लाको भीरकोट नगरपालिका वडा नं. ८ मा रहेको सिरुखर्क जोगिस्थान माविलाई पहार ट्रस्ट नेपालको सहयोगमा निर्मित पुस्तकालय हस्तान्तरण गरिएको हो । एक कार्यक्रमका बिच गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरेकी छन् । पर्वत जिल्लाको सिमानासँग जोडिएको यस विद्यालयले आधुनिक सुविधासम्पन्न पुस्तकालय प्राप्त गर्दा शैक्षिक सुधारका लागि महत्वपूर्ण आधार हुने विश्वास गरिएको छ । खस्किँदो शैक्षिक गुणस्तरमा सुधार ल्याउन पहर ट्रस्टले पुस्तकालय निर्माण गरेको बताइएको छ ।
पुस्तकालय हस्तान्तरण गर्दै सांसद तिवारीले पुस्तकालयमा उपलब्ध भएका पुस्तक तथा सामाग्रीले समग्र यस क्षेत्रको शिक्षा सुधारमा सहयोग पुग्ने बताईन् । पुस्तकालयको भरपूर प्रयोग गर्न अनुरोध गर्दै तिवारीले यहाँको शिक्षाको अवस्थासँगै भावी दिनमा शैक्षिक सुधारको क्षेत्रमा समेत काम गुर्नपर्ने बताईन् । “पछिल्लो समयमा देशको शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा छ”, उनले भनिन्, “धेरै शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई छ । यहाँको शिक्षाको सुधार गर्ने उद्देश्यले स्थानीय तह पनि लागिपरेको छ ।” तिवारीले शिक्षक, अभिभावक तथा विद्यार्थीले बहन गर्नुपर्ने दायित्व तथा कर्तव्यलाई नबिर्सन अनुरोध गरिन् ।
भीरकोटको शैक्षिक सुधारका लागि योजनाबद्धरुपमा कामको थालनी गरिएको नेपाली काँग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी (लक्ष्मण)ले बताए । काँग्रेसको नेतृत्वमा रहेको स्थानीय सरकारले शिक्षाको सुधारको लागि बजेट विनियोजन गर्दै आएको उनले जानकारी दिए । नगरपालिकाको शैक्षिक सुधारका लागि भौतिक संरचनाको विकाससँगै सबै विद्यालयमा पुस्तकालयको विकास गर्दै प्रविधिमूलक शिक्षणमा जोड दिइनुपर्ने अधिकारीको भनाइ छ । विद्यालयमा स्थापना गरिने पुस्तकालयमा पाठ्यपुस्तकसँगै ज्ञानबर्द्धक अन्य पुस्तक संग्रह गर्न अधिकारीको सुझाव छ ।

विद्यालयमा अध्ययन गराउने शिक्षकहरु बिदामा भएको अवस्थामा पनि पठनपठनमा असर नपुगोस् तथा स्वअध्ययन गर्ने बानीको विकास होस भनेर पुस्तकालय स्थापना गरिएको पहार ट्रस्ट नेपालका अध्यक्ष बिजुली बहादुर गुरुङले बताए । पुस्तकालयको प्रयोगले शिक्षण सिकाईलाई निरन्तर अघि बढाउन सहयोग पुग्ने उनको भनाइ छ । पुस्तकालय हस्तान्तरण कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष नन्दलाल खनाल, ने. वि. संघ केन्द्रीय सदस्य हेमप्रकाश गुरुङ, पुस्तकालयका अधिकृत बालाकाशी गुरुङ, कार्यपालिका सदस्य चित्रबहादुर राना, विद्यालयका प्र.अ.तोलाकान्त चापागाईं, शिक्षक चित्र बहादुर गुरुङ र पंकच कुमार यादाव लगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक निलाकण्ठ खनालले गरेका थिए ।

 

प्रतिक्रिया