हिन्दु महासंघ स्याङ्जाको आयोजनामा तनहुँमा महायज्ञ शुरु

स्याङ्जा ।
विश्व हिन्दु महासंघ स्याङ्जाको आयोजनामा तनहुँ जिल्लाको प्राचीन तथा ऐतिहासिक महत्व बोकेको ब्यासभूमिमा बिहीबारदेखि धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ शुरु भएको छ । आध्यात्मिक जागरण र बेदब्यास भूमिलाई चिनाउन तथा आश्रमको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महायज्ञ शुरु भएको हो । महायज्ञको आरम्भमा स्याङ्जा, तनहुँ र आसपासका क्षेत्रबाट करिब १ हजारभन्दा बढी भक्तजनको सहभागतामा विशाल कलशयात्रा निकालिएको थियो ।

पूराण र बेदका रचयिता बेदब्यासको आश्रममै पुगेर महायज्ञ गरिएको विश्व हिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरीहर पाण्डेले जानकारी दिए । ७ दिनसम्म चल्ने महायज्ञस्थलमा दैनिक पाँच हजार भन्दा बढी भक्तजनले कथा श्रवण गर्ने र महायज्ञ अवधिभर चार लाख आउने अनुमान छ । कुनै आर्थिक रकम संकलनका लागि नभै नितान्त ज्ञान श्रवणका लागि महायज्ञको आयोजना गरेको आयोजक संस्थाको भनाइ छ ।

महायज्ञको उद्घाटन गर्दै संस्कृतिविद डा. जगमान गुरुङले बेदब्यास भूमिको सर्वांङगीण विकासार्थ हेतु धार्मिक सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएकोमा खुशी व्यक्त गरे । गुरुङले आध्यात्मिक जागरण र बेदब्यासद्धारा लिखित ग्रन्थहरु प्रकाशन तथा संरक्षणका लागि सहयोग गर्ने बताए । महायज्ञमा विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य तथा भागवत वाचक पं. नेत्रप्रसाद पराजुलीको प्रस्तुुती रहने बताइएको छ । कात्तिक २२ गतेसम्म सञ्चालनमा रहने सप्ताह ज्ञान महायज्ञमा सम्पुुर्णलाई उपस्थितिका लागी आयोजकले अनुरोध समेत गरेका छन् ।

महायज्ञ उद्घाटन समारोहमा बोल्दै दामोदर बाबा, राष्ट्रिय धर्म जागरणका अध्यक्ष शंकर पाण्डे, विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष शंकर खराल, विश्व हिन्दु महासंघ तनहुँका अध्यक्ष पं. कृष्णकान्त काफ्ले, योग अनुयायी ऋषिराम ढुंगाना, विश्व हिन्दु महासंघ स्याङ्जाका उपाध्यक्ष प्रेमप्रसाद पौडेल, सचिव पदम पाण्डे लगायतले व्यास ऋषिको तपोभूमि रहेको तनहुँमा महायज्ञ लगाउनु ब्यासप्रति सम्मान भएको बताए ।

 

प्रतिक्रिया