स्याङ्जाको उत्तरवाहिनी—आनन्दको केन्द्र बन्दै

स्याङ्जा ।
पानी जहिलेपनि उत्तरबाट दक्षिण तर्फ बग्ने गर्दछ । तर स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गा स्थित कालीगण्डकी नदी दक्षिणबाट उत्तरतर्फ बगेको छ । झण्डै ३ किलोमिटर कालीगण्डकी दक्षिणबाट उत्तरतर्फ बगेको ठाउँलाई उत्तरवाहिनी नामकरणगरी यसलाई बृहत धार्मिक केन्द्र बनाउने तयारी थालिएको छ ।


उत्तरतर्फ फर्केको प्रकृति होस वा मानिसले सिजृत गरेको बस्तु होस यसलाई पबित्र मानिने धार्मिक ग्रन्थमा उल्लेख छ । अझै गंगा उत्तरतर्फ बगेको ठाउँ त अझै पबित्र मानिने धार्मिक गुरुहरु बताउदै आएका छन् । पबित्र धार्मिक स्थल मुक्तिनाथबाट शुरु भएको कालीगण्डकी नदी नेपालको मात्रै नभएर एशियाकै शालिकग्राम शिला पाईने एकमात्र नदी हो । यही नदीको झण्डै ३ किलोमिटर दक्षिणबाट उत्तरतर्फ बगेको क्षेत्र झनै पबित्र भएको कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठनका अध्यक्ष चैतन्य कृष्णले बताए ।


कालीगण्डकी कै किनारमा प्राकृतिक चिकित्सालय बनाउने योजना सहित २०७३ सालमा प्रतिष्ठान दर्ता गरी अगाडी बढेको थियो । कामगर्दै जादा चैतन्य कृष्णलाई एकाएक शक्ति आएपछि यो क्षेत्रमा दक्षिणबाट उत्तरतर्फ कालीगण्डकी बगेको थाहा पाए । कालीगण्डकी उत्तरतर्फ बगेको क्षेत्रलाई उत्तरवाहिनी नामकरण गरी अहिले यहाँ बृहत गुरुयोजना तयार गरी धार्मिक र अध्यात्मिक स्थल बनाउने गरी अगाडी बढाइएको छ । स्याङ्जा र पाल्पा जिल्लालाई साथ लिएर बगेको उत्तरवाहिनी क्षेत्रलाई विश्वभरीका धार्मिक पर्यटकहरु भित्राउने लक्ष्यका साथ काम अगाडी बढाइएको गल्याङ नगरपालिका १ का वडा अध्यक्ष मणिप्रसाद बस्यालले बताए ।


अहिले यो ठाउँमा बिद्यालय संचालन गरिएको छ । यहाँ संस्कृत, नेपाली, अंग्रेजी लगायत सबै बिषयको पढाई हुन्छ । पाल्पातर्फको क्षेत्रमा गुरुकुल विश्वविद्यालय र स्याङ्जातर्फको क्षेत्रमा आयुर्वेदीक चिकित्सिालय सगै अध्यात्मिक केन्द्र बनाउने गरी अगाडी बढाइएको छ । दुवै क्षेत्रलाई जोडेर ज्ञान र विज्ञानको रिर्सच सेन्टर पनि बनाउने बताइएको छ । प्रतिष्ठानले बनाएको गुरुयोजना अनुसार यहाँ अर्बौ रकम खर्च हुने अनुमान गरिएको छ । आर्थिक श्रोत र समयले साथ दिएमा यो क्षेत्र ५ देखी १० बर्षभित्र पुरा काम सम्पन्न हुने प्रतिष्ठानले जनाएको छ ।
यो क्षेत्रमा ध्यान, तपस्या, पितृहरुको श्राद्ध र गंगाजलले मात्रै स्नान गर्ने हो भने सबैपाप नष्ट हुने धार्मिक विश्वास रहेको छ ।

विश्वभरीका धार्मिक मानिसहरुको आर्कषणको केन्द्र बनाउदै यहाँबाट बैज्ञानिक ऋषि उत्पादन हुने विश्वास प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले लिएका छन् । भौगोलिक दृष्टिले नदीहरु बग्नेक्रममा केही भागहरु उत्तरतर्फ बगेको पाइएपनि यती लामो दुरीमा उत्तरतर्फ नदीहरु बग्ने फेला पर्न सक्दैनन् । प्रतिष्ठानले सोचेको यहाँ आउने सबै मानिसहरुले आनन्द प्राप्त गर्न सकुन भन्ने उदेश्यले थालनी गरिएको पवित्र स्थलको गुरुयोजनामा नेपालका तिनैतहका सरकारहरुको ध्यान जानु जरुरी छ । जसले स्याङ्जा मात्रै नभएर नेपालकै आर्थिक विकासमा सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया